बाइबलीय पात्र इरास्तसको शिलालेख फेला पारियो

बाइबलमा ३ पटक इरास्तसको नाउँ देखा पर्छ (प्रेरित १९:२२; रोमी १६:२३ र २ तिमोथी ४:२०) । प्रेरितको पुस्तकअनुसार पावलले तिमोथीसँगै इरास्तसलाई माकेडोनिया पठाए, “तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्‍तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे” (१९:२२) । रोमीहरूलाई लिखित आफ्नो पत्रमा पावल रोमका विश्वासीहरूलाई इरास्तसको अभिवादन पठाउँछन्, “मेरा मेजमान र सारा मण्‍डलीलाई सत्‍कार गर्ने गायसले अभिवादन पठाएका छन्‌ । तिमीहरूलाई अभिवादन छ । सहरका कोषाध्‍यक्ष इरास्‍तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌” (१६:२३) । आफ्नो तेस्रो सुसमाचारीय यात्रामा पावलले कोरिन्थबाट रोमको मण्डलीलाई यो पत्र लेखेका थिए । इरास्तस कोरिन्थमा थिए भनी पावलले आफ्नो अन्तिम पत्रमा अभिलिखित गरेका छन्, “इरास्‍तस कोरिन्‍थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्‍थामा छोडें” (२ तिमोथी ४:२०) । अधिकांश टिप्पणीकारसाथै बाइबल विद्वान्‌हरूका अनुसार यी तीनवटै सन्दर्भमा उल्लिखित इरास्तस एकै व्यक्ति हुन् ।

माथिका सन्दर्भहरूलाई एकत्रित गर्दा हामी थाहा पाउँछौँ कि इरास्तस पावलका सहकर्मीसाथै येशूका अनुयायी थिए । तिनी कोरिन्थ सहरका कोषाध्यक्ष भएका हुनाले कोरिन्थीहरूको समुदायमा एक महत्त्वपूर्ण पदाधिकारी थिए । तिनी पक्कै पनि प्रभावशाली व्यक्ति भएका हुनुपर्छ ।

ख्रिस्टाब्द १९२९ मा कोरिन्थमा उत्खनन् गर्ने क्रममा पुरातत्त्वविद्हरूले रङ्गशाला नजिकै चतुर्भुजाकारको एउटा ढुङ्गो फेला पारे जसमा लिखित ल्याटिन भाषालाई नेपाली अनुवाद गर्दा यस्तो हुन्छ, “आफ्नो अधिकृतको जिम्मेवारीको फिर्तीमा इरास्तसले आफ्नै खर्चमा यो बाटो बनाए ।” तिनी अधिकृतजस्तो जिम्मेवार ओहोदामा नियुक्त भएकोले त्यसको सट्टामा तिनले आफ्नै खर्चमा बाटो बनाए भनी यसले व्यक्त गर्छ । यहाँ इरास्तसको नाउँ र ओहोदा मात्रै उल्लेख गरिएको छैन तर तिनी समाजसेवी पनि थिए भन्ने तथ्य छर्लङ्ग छ । कोरिन्थमा फेला पारिएको यो शिलालेख ख्रिस्टाब्द ५० तिरको हो । त्यस बेला क्लाउडियस रोमी साम्राज्यका सम्राट् थिए । नयाँ संरचनाको लागि सरकारसँग सधैँ पैसा नहुने भएकोले धनी मानिसहरूले अक्सर परियोजनाहरूका लागि योगदान पुर्‍याउने गर्थे । यसरी रुपियाँ सहयोग गर्ने व्यक्तिको सम्मानस्वरूप शिलालेखमा व्यक्तिका नाउँ, पद, कार्य लेख्ने गरिन्थ्यो र कहिलेकाहीँ त सम्राट्को सन्दर्भ पनि जोडिन्थ्यो ।

बाइबलमा अभिलिखित इरास्तसको पेसा, समय र ठाउँसित यो शिलालेखको वर्णन मेल खान्छ । के शिलालेखमा उल्लिखित इरास्तस र नयाँ करारमा उल्लिखित इरास्तस एकै व्यक्ति हुन् त ? बाइबल विद्वान् जोसेफ फिट्जमेएर निष्कर्ष निकाल्छन् कि कोरिन्थमा फेला पारिएको इरास्मस “निस्सन्देह नयाँ करारमा उल्लिखित व्यक्ति” नै हुन् । साक्षी र तर्कले एकै व्यक्ति हुन् भन्छ । पहिलो शताब्दीमा गरिबसाथै निम्न वर्गीय मानिसहरूले मात्र नभई धनीहरूसाथै उच्च ओहोदाका मानिसहरूले पनि येशूलाई पछ्याउँथे भनेर पनि यस खोजले पुष्टि गर्छ ।

Facebook Comments

Powered by Youth Circle