के भविष्यमा मान्छेले मान्छेको जस्तै बुद्धि भएको यन्त्र बनाउन सक्ने छ ?

ख्रिस्टाब्द १९५३ मा रसायनशास्त्रीद्वय स्टान्ली मिलर र हारोल्ड उरेले एउटा परीक्षण गरे । उक्त परीक्षण पृथ्वीमा जीवको उत्पत्तिसित सम्बन्धित थियो । तिनीहरूले हाइड्रोजन, मिथेन, एमिनो एसिडजस्ता रसायनहरूलाई एउटा भाँडोमा मिश्रण गरी त्यसमा विद्युतीय झट्का दिए । पृथ्वीको सुरुको वातावरणमा यी रसायनहरू विद्यमान थिए भन्ने बुझाइ थियो । तिनीहरूले केही एमिनो एसिडहरू निकाल्न सके । यी एसिडहरूलाई जीवका अपरिहार्य तत्त्वहरू मानिन्छन् । तिनीहरूको कामलाई जीवको उत्पत्तिको समस्याको समाधानको रूपमा वैज्ञानिक जगत्‌मा नै प्रशंसा गरियो । तर समय बित्दै गएपछि तिनीहरूको परीक्षण कति अपुरो रहेछ भन्ने थाहा भयो र जीवबारे थप जानकारीसँगै यसको उत्पत्तिको रहस्य झनै जटिल बन्दै गएको छ । यस ग्रहमा जीव कहाँबाट आयो ? वैज्ञानिक अध्ययनमा यो अझै रहस्यको गर्भमा नै छ । यसको समाधान भइसकेको छैन भलै कतिपय सिद्धान्तहरू अगाडि नसारिएका भने होइनन् । जीवको उत्पत्तिबारे वैज्ञानिक अध्ययन जारी छ र रहने छ ।

माथिको प्रसङ्ग २०८४: आर्टिफिसिएल इन्टेलिजेन्स एन्ड द फ्युचर अफ ह्युमानिटी नामक पुस्तकबाट उद्धृत अंश हो । पुस्तक पठन यात्रामा यो मेरो ४५ औँ पुस्तक हो । २३४ पृष्ठको यस पुस्तकलाई पढेर सिद्ध्यान मलाई आठ दिन (अगस्ट २३-३०) लाग्यो । यही सालको गत जुन महिनामा मात्र यसलाई प्रकाशित गरिएकोले यो नितान्त नयाँ पुस्तक हो ।

जोन सी. लेनोक्स यस कृतिका लेखक हुन् । ७७ वर्षीय लेनोक्स विज्ञानका दार्शनिकसाथै ख्रीष्टियान रक्षाशास्त्री हुन् । तिनी अक्सफोर्ड विश्वविद्यालयमा गणितका प्राध्यापक हुन् । तिनका केही कृतिहरू मैले पहिले पनि पढिसकेकोले तिनको कलमको शक्तिदेखि म निकै प्रभावित छु ।

लेनोक्सद्वारा लिखित यस पुस्तकमा जम्माजम्मी १३ ओटा अध्याय छन् । पुस्तकको उपशीर्षकबाटै बुझ्न सकिन्छ कि यो किताब मूलत: कृत्रिम बौद्धिकता र मानिसको भविष्यसित सम्बन्धित छ । के भविष्यमा मान्छेले मान्छेको जस्तै बुद्धि भएको उपकरण बनाउन सक्छ ? के मानव-जातिले कृत्रिम जीवको सृजना गर्न सक्ने छ ? मानव-जातिले अकल्पनीय रूपमा प्रगति गरी विस्मयकारी उपकरणहरूको निर्माण गरिसकेको भए तापनि यन्त्रको बौद्धिकता र मान्छेको बौद्धिकताको बिचमा आधारभूत भिन्नता छ । प्राध्यापक क्रुकका अनुसार “वास्तविक मानिसको जस्तै बौद्धिकताको सृजना गर्नबाट हामी अझै पनि धेरै-धेरै टाढा छौँ ।”

लेखक लेनोक्सले उल्लेख गरेका छन् कि बाइबल उत्पत्तिको पुस्तकसँगै सुरु हुन्छ जसले लेखकलाई परमेश्वर, विश्वसाथै मानव जीवनबारे अर्थ दिन्छ । ग्यालिलियो, केप्लरसाथै न्युटनको समयमा आधुनिक विज्ञानको आरम्भ हुँदा बाइबलको पहिलो पदले मुख्य भूमिका खेलेको थियो जहाँ लेखिएको छ, “आदिमा परमेश्वरले आकाश-मण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।” यस पदअनुसार परमेश्वर कारक हुनुहुन्छ भने यो विश्व असर हो । उहाँ असृजित हुनुहुन्छ भने यो विश्व सृजित हो । परमेश्वर अभौतिक हुनुहुन्छ भने यो विश्व भौतिक हो ।

बाइबलीय विवरणअनुसार मानिसका विविध विशेषताहरू छन् । ऊ भौतिक (शरीर) र अभौतिक तत्त्व (आत्मा वा/र प्राण) मिलेर बनेको छ । उसमा सौन्दर्यको चेतना मात्र छैन तर ऊ उत्सुक पनि छ । उसमा यस्तो बौद्धिकता छ जुन अन्य कुनै प्राणीसित तुलना गर्न सकिँदैन न त कुनै यन्त्रसित । अन्य प्राणीहरूको विपरीत मान्छेमा भाषा सिक्न सक्ने अद्भुत क्षमता हुन्छ ।

के चिहान मान्छेको अन्तिम गन्तव्य हो ? के मृत्युपश्चात् मान्छेले आफ्नो अस्तित्व गुमाउँछ ? कृत्रिम बौद्धिकताबारे अध्ययन गरिरहेका केही अध्ययनकर्ताहरू दाबी गर्छन् कि मृत्यु एउटा प्राविधिक त्रुटि हो र वैज्ञानिकहरूले भविष्यमा यसको समाधान निकाल्ने छन् र मान्छे अमरणशील हुने छ । मृत्यु मान्छेको अन्तिम गन्तव्य नभई अमरत्व धारण गर्ने माध्यम हो भनी बाइबलले बताउँछ । मानिसको अमरत्वबारे बाइबलीय शिक्षा र कृत्रिम बौद्धिकताका ज्ञाताहरूको धारणा उस्तै-उस्तै भए तापनि तिनीहरूका अनुसार प्रविधिले मानिसलाई त्यहाँ पुर्‍याउने जब कि बाइबलअनुसार परमेश्वरले हामीलाई त्यहाँ पुर्‍याउनुहुने छ ।

येशूलाई मृतकहरूबाट पुनरुत्थान गराई शारीरिक मृत्यु अपराजित छैन भनी परमेश्वरले देखाइसक्नुभएको छ । “उहाँले मृत्‍युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्‍याउनुभयो” (२ तिमोथी १:१०) । पुनरुत्थानको घटनाक्रममा ख्रीष्टको पुनरुत्थान प्रथम फल हो र उहाँको पुनरागमनमा उहाँका आफ्नाहरूले उहाँको नमुना पछ्याउँदै अमरत्व धारण गर्ने छन्, “परमेश्‍वरले आफ्‍नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ” (१ कोरिन्थी ६:१४) ।

Facebook Comments

Powered by Youth Circle