“येशूले तिनलाई भन्नुभयो, ‘स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन'” (मत्ती ८:२०) । येशूले आफैलाई बारम्बार ‘मानिसको पुत्र’ को रूपमा उल्लेख गर्नुभयो । येशू परमेश्वरको पुत्र हुनुहुन्छ भने किन उहाँले आफूलाई बारम्बार मानिसको पुत्र भन्नुभयो ?
चारवटा सुसमाचारमा यो नाम झन्डै ८२ पटक देखा पर्छ । भिडले उहाँका वचनहरू उद्धृत गर्दा (यूहन्ना १२:३४) र स्तिफनस (प्रेरित ७:५६) ले बाहेक नयाँ करारमा अरू कसैको मुखमा यो नाम पाईंदैन, केवल येशूले आफ्नो लागि यो नाम प्रयोग गर्नुभयो । उहाँले यस नामलाई तीनवटा पृथक् तरिकाले प्रयोग गर्नुभएको छ: (क) पृथ्वीमा आफ्नो सेवाकार्यको सम्बन्धमा (जस्तैः मत्ती ८:२०), (ख) वेदनाको बारेमा भविष्यवाणी गर्नुहुँदा (जस्तैः मत्ती १२:४०) र (ग) आफ्नो दोस्रो आगमनको सम्बन्धमा (जस्तैः मत्ती १३:४१) ।
आफूलाई ‘मानिसको पुत्र’ को रूपमा उल्लेख गर्नुहुँदा येशूले आफ्नो ईश्वरत्वलाई इन्कार गरी मानवतालाई व्यक्त गर्नुभएको होइन । यसको विपरीत यस नाउँले उहाँको ईश्वरत्वलाई जोड दिन्छ । बाइबलअनुसार केवल परमेश्वरले पापको क्षमा दिन सक्नुहुन्छ, “केवल एक, अर्थात् परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ ?” (मर्कूस २:७) । मानिसको पुत्रको रूपमा येशूसित पाप क्षमा दिने शक्ति थियो, “मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान” (मर्कूस २:१०) ।
दानिएल ७:१३–१४ अनुसार ‘मानिसको पुत्र’ मसीहको एउटा नाम हो जससँग अधिकार, महिमा र सार्वभौम शक्ति छ । दानिएलको विवरणअनुसार उहाँलाई नै सबै मानिसले आराधना चढाए र उहाँको प्रभुत्व अनन्त छ । येशूले यस नामद्वारा आफूलाई अनन्त न्यायकर्ताको रूपमा उभ्याउँदै हुनुहुन्थ्यो ।
तसर्थ ‘मानिसको पुत्र’ हुँ भन्ने दाबी परमेश्वर हुँ भन्ने दाबीसँग बराबर छ ।