ख्रीष्टियान परमेश्वर महान् हुनुहुँदोरहेछ भनी टुनामुना गर्नेहरूद्वारा स्वीकार

जोन गिब्सन पाटोन ख्रिस्टाब्द १८२४ मा स्कटल्यान्डमा जन्मेका परमेश्वरका सेवक थिए जो प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा पर्ने न्यु हेब्रिडेस भन्ने टापुमा मिसनरी भएर गए । तिनले त्यस टापुका स्थानीयहरूको बिचमा शिक्षा र ख्रीष्टियान सन्देशलाई पुर्‍याएका थिए । पाटोनको जीवनका थुप्रै सङ्घर्ष र रोचक प्रसङ्गहरूमध्ये यहाँ एउटा उल्लिखित छ ।

पाटोन त्यस्तो ठाउँमा मिसनरी बनेर गएका थिए जहाँका मानिसहरूले कहिल्यै सुसमाचार सुन्ने मौका पाएका थिएनन् । त्यहाँका स्थानीय बासिन्दाहरू तिनीप्रति मैत्रीपूर्ण थिएनन् । एक पटकको कुरो हो । टुनामुना गर्ने त्यहाँका तीन जना मानिसले अर्को आइतबारसम्ममा तिनीहरूको टुनामुनाद्वारा पाटोनलाई मार्ने सार्वजनिक घोषणा गरे । तिनीहरूले आफूसँग मृत्युसम्म ल्याउने शक्ति भएको दाबी गरे । तिनीहरूको मन्त्रलाई कार्यान्वयन गर्न तिनीहरूलाई यस्तो खानाको आवश्यक पर्थ्यो जसलाई पाटोनले आंशिक रूपमा खाएको हुनुपर्थ्यो भनी तिनीहरूले बताए । पाटोनले तीनवटा रसिलो फललाई अलि–अलि टोकी बाँकी भाग ती झाँक्रीहरूलाई दिए जसले तिनको मृत्युको षड्यन्त्र गर्दै थिए ।

आइतबार आयो । मिसनरी मुस्कुराउँदै गाउँमा प्रवेश गरे । ती व्यक्ति पाटोन हुन सक्दैनन् भनी मानिसहरू एक-अर्कालाई हेर्दै छक्क परे किनकि तिनी मर्नेथिए भन्ने कुरामा गाउँलेहरू विश्वस्त थिए । मिसनरीलाई मार्न टुनामुनासम्बन्धी आफ्ना सबै विधिलाई तिनीहरूले प्रयोग गरेका थिए भनी ती झाँक्रीहरूले स्वीकार गरे । तर तिनी मरेनन् । ती टुनामुना गर्नेहरू किन असफल भए भनी तिनीहरूलाई सोध्दा तिनीहरूले जवाफ फर्काए, “मिसनरी हामीजस्तै पवित्र मानिस हुन् । तर तिनको परमेश्वर हाम्रो परमेश्वरभन्दा महान्‌तर हुनुहुन्छ ।” त्यस क्षणदेखि तिनको प्रभाव बढ्यो र छिट्टै नै केही गाउँलेहरूले प्रभु येशूमाथि विश्वास गरे ।

Facebook Comments

Powered by Youth Circle