अब्राहाम लिङ्कनले जवाफ दिए, “हामी परमेश्वरको पक्षमा होऔँ भनेर बिन्ती चढाऔँ”

अमेरिकाका सोर्‍हौँ राष्ट्रपतिको नाउँ हो, अब्राहाम लिङ्कन । तिनले ख्रिस्‍टाब्द १८६१-१८६५ सम्म राष्‍ट्रपतिको पदमा रहेर देशको सेवा गरे । तिनले राज्यको एकता कायम राख्न उल्लेखनीय भूमिका खेले; दास प्रथालाई उन्मूलन गरे; सङ्घीय राज्यलाई मजबुत पारे र अर्थतन्त्रलाई आधुनिकीकरण गरे ।

१८०९ मा अमेरिकामा जन्मेका लिङ्कन एउटा धार्मिक परिवारमा हुर्केका थिए । तिनलाई बाइबलको विषयमा राम्रो ज्ञान थियो । तिनले येशू ख्रीष्टमाथि विश्वास गर्थे र आफ्ना भाषणहरूमा बारम्बार परमेश्वरको उल्लेख गर्थे र बाइबल धर्मशास्त्रबाट उद्धृत गर्थे । तिनी बाइबलका प्रशंसक थिए । तिनी आफ्नो विश्वासबारे निजी थिए र तिनले अरूहरूको विश्वासलाई आदर गर्थे । तिनी आफ्नी पत्नी र छोराछोरीसँगै मण्डलीमा उपस्थित हुन्थे । तिनले बाइबल धर्मशास्त्रको सत्यतालाई कहिल्यै इन्कार गरेनन् र सर्वशक्तिमान् परमेश्वरमाथि तिनको विश्वास थियो ।

१८६० मा लिङ्कन अमेरिकाको सोर्‍हौँ राष्‍ट्रपतिको रूपमा निर्वाचित भए । तिनी नै रिपब्लिकन पार्टीबाट प्रथम राष्ट्रपति बने । तिनले ख्रीष्‍टियानहरूको पवित्र-शास्‍त्र बाइबलको विषयमा शानदार अभिव्यक्‍ति दिएका छन्, “बाइबल परमेश्वरले मानिसलाई दिनुभएको सर्वोत्तम उपहार हो भनी म विश्वास गर्दछु । यस पुस्तकद्वारा संसारका मुक्तिदाताले हामीलाई सम्पूर्ण असल कुरा दिनुभएको छ ।”

अमेरिकी गृहयुद्धको बेलामा लिङ्कनले बिहान खाजा खाने समयमा केही ख्रीष्टियान अगुवाहरूसित भेट गरे । एक जना सेवकले भने, “महामहिम राष्ट्रपति, परमेश्वर हाम्रो पक्षमा हुनुभएको होस् भनी हामी प्रार्थना चढाऔँ ।” लिङ्कनले ज्यादै सठिक र बुद्धिमानी जवाफ दिए, “त्यसो होइन सेवकज्यू, हामी परमेश्वरको पक्षमा होऔँ भनेर बिन्ती चढाऔँ ।”

Facebook Comments

Powered by Youth Circle