अनौठो तरिकाले बाइबलको सन्देश बाँड्ने अफ्रिकाको मानिसको कथा

एक पटक अफ्रिकामा मिसनरी भएर गएका परमेश्वरका दासले त्यहाँको स्थानीयलाई एउटा बाइबल दिए । ती मानिस यति खुसी भए कि तिनले बाइबललाई अङ्गालो हाले र परमेश्वरको वचनको निम्ति मिसनरीप्रति आभार व्यक्त गरे ।

केही दिन बितेपछि मिसनरीले ती मानिसलाई फेरि देखे । छक्क पार्ने कुरो के थियो भने मिसनरीले दिएका बाइबलभित्रका पानाहरू एकपछि अर्को गर्दै च्यातिएका थिए । कैयौँ पानाहरू गायब थिए । मिसनरीले ती स्थानीयलाई सोधे, “के भाको ? तपाईंले आफ्नो बाइबललाई के गर्नुभएको ? मैले तपाईंलाई बाइबल दिँदा तपाईंले यसलाई ठुलै सम्पत्ति ठान्नुभएको जस्तो लागेको थियो मलाई ।”

ती मानिसले जवाफ दिए, “वास्तवमा यो साँच्चै नै अनमोल सम्पत्ति हो । मैले प्राप्त गरेको यो नै सबैभन्दा उत्तम उपहार हो । यो यति अनमोल छ कि म मेरो गाउँमा फर्कंदा मैले होसियारीपूर्वक एउटा पाना च्यातेँ अनि मेरी आमालाई दिएँ । त्यसपछि मैले अर्को पाना च्यातेँ अनि त्यो मेरा बुबालाई दिएँ । मैले अर्को पाना च्यातेँ अनि त्यो मेरी पत्नीलाई दिएँ । अन्त्यमा मेरो गाउँमा बस्ने हरेक व्यक्तिलाई मैले परमेश्वरको वचनको पाना दिएँ ।”

ती स्थानीयको चालाले हामीलाई हाँसो उठाउन सक्ला । तर यो एउटा गजबको गवाही थियो । तिनको लागि परमेश्वरको वचनको सन्देश यति अनमोल थियो कि तिनले आफूले चिनेको हरेक व्यक्तिलाई त्यो बाँड्न चाहन्थे ।

Facebook Comments

Powered by Youth Circle