मिश्रका राष्ट्रप्रमुख फारोले हिब्रू सूँडेनीहरूलाई हिब्रू स्त्रीबाट जन्मेको छोरोलाई मार्ने र छोरीलाई चाहिँ जिउँदो राख्ने आज्ञा दिएका थिए । तथापि छोरोलाई पनि जिउँदै राखी सुँडेनीहरू फारोप्रति अनाज्ञाकारी मात्र भएनन्, तर तिनीहरूले झुट पनि बोले । तरै पनि परमेश्वरले सुँडेनीहरूलाई आशिष् दिनुभयो, “अनि परमेश्वरले सुँडेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्यामा झन् बढ्दैगए । सुँडेनीहरूले परमेश्वरको डर मानेका हुनाले उहाँले तिनीहरूलाई सन्तान दिनुभयो” (प्रस्थान १:२०-२१) । झुट र अनाज्ञाकारिताको बाबजुद पनि कसरी परमेश्वरले सुँडेनीहरूलाई आशिष् दिन सक्नुभयो ?
बाइबलले झुटलाई निषेध गरे तापनि कतिपय परिस्थितिमा यसको निन्दा गरिएको छैन । ती हिब्रू सुँडेनीहरू द्विविधामा परेका थिए— फारोको आज्ञा मानेर नाबालकहरूको हत्या गर्ने कि परमेश्वरको आज्ञा पालन गरी तिनीहरूको ज्ञान जोगाउने । ज्यान लिनुपर्ने फारोको आज्ञा मानवीय थियो भने ज्यान बचाउनुपर्ने आज्ञा ईश्वरीय थियो । फारोले हत्या गर्ने आज्ञा दिएका थिए भने परमेश्वरले हत्या नगर्न आज्ञा दिनुभएको छ । यस्तो परिस्थितिमा ती सँडेनीहरूले ईश्वरीय आज्ञा मान्ने छनोट गरे । निर्दोषहरूको जीवन बचाउनु उच्चतर कर्तव्य थियो । सरकारले हामीलाई निर्दोषहरूको हत्या गर्न आदेश दिँदा हामी त्यो मान्न सक्दैनौँ ।
ती सुँडेनीहरूले मानिस (फारो) को आज्ञा उल्लङ्घन गरी परमेश्वरको आज्ञा मात्र पालन गरेनन्, तिनीहरूले परमेश्वरको डर पनि मान्थे (प्रस्थान १:२१) । परमेश्वरप्रति तिनीहरूको भयको कारण आज्ञा उल्लङ्घन गरेर भए तापनि तिनीहरू ज्यान जोगाउन लागे । तसर्थ परमेश्वरले तिनीहरूको कदमको अनुमोदन गरी तिनीहरूलाई आशिष् दिनुभयो ।