जुलियन कोप्काको जन्म दक्षिण अमेरिकाको पश्चिममा अवस्थित पेरु नामक देशमा भएको थियो । २४ डिसेम्बर १९७१ मा आफ्नी आमासँगै उनी पितासित ख्रीष्टमस मनाउने उद्देश्यले पिताले काम गरेका सहर पुकाल्पाका लागि प्रस्थान गरे । त्यति बेला उनी १७ वर्षकी थिइन् । चालक दलका ६ जना सदस्यसहित जम्माजम्मी ९२ जना सवार विमान १०,००० फिट उचाइमा दुर्घटनामा पर्यो । सबै जना मरे तर जुलियन भने अचम्म तरिकाले बाँचिन् । उनी ११ दिनसम्म जङ्गलमा एकलै रहिन् । पृथ्वीको धरातलमा खसेपछि जुलियनले केही चकलेटहरू फेला पारिन् जुन उनको एक मात्र खाना थियो । आमा र अन्य यात्रुहरूलाई खोज्ने क्रममा उनले एउटा खोल्सा देखिन् । उनी मानव बस्ती खोज्दै अगाडि बढिन् । किराहरूको टोकाइको कारण उनी सुत्न सकिनन् । नौ दिनपश्चात् उनले एउटा डुङ्गा देखिन् । पछि केही मानिसहरूको सहायतामा उनलाई अस्पताल पुर्याइयो र उनी बाँच्न सफल भइन् । उनको आश्चर्यपूर्ण बचावटलाई कथावस्तु बनाई विभिन्न फिल्महरू देखापरिसकेका छन् । जुलियन एक मानवीय प्राणी थिइन् र आफूसित भएको बौद्धिकताको कारण विमानबाट खसेपछि उनले समस्याको समाधान खोजिन् । त्यस्तो जटिल परिस्थितिमा कसरी बाँच्ने होला भनेर उनले आफ्नो दिमाग लगाइन् । त्यसैले उनले मानव बस्ती खोज्न सकेकी हुन् र बाँच्न सफल भएकी हुन् ।
यो हिजोकै आलेखको निरन्तरता हो । शीर्षक रहेको थियो— मानिसमा भएको परमेश्वरको स्वरूप के हो ? (भाग १) । मानिसमा भएको परमेश्वरको स्वरूपमा विभिन्न तत्त्वहरू पर्छन् जसमध्ये एक हो, सृजनात्मकता । यो भनेको नयाँ-नयाँ वस्तुको सृजना गर्न सक्ने वा आविष्कार गर्न सक्ने क्षमता हो । केवल मानिसमा यो खुबी छ अन्य कुनै प्राणीमा होइन भनेर हामीले हिजो हेरिसक्यौँ । मानिसमा भएको परमेश्वरको स्वरूपमा पर्ने अर्को तत्त्व हो— बौद्धिकता ।
(२) बौद्धिकता
बौद्धिकता भनेको बुझ्न सक्ने वा तर्क गर्न सक्ने क्षमता हो । बौद्धिकताद्वारा नै मानिसले सिक्न सक्छ; अवधारणा बनाउन सक्छ; बुझ्न सक्छ; तर्कको प्रयोग गर्न सक्छ । यति मात्र नभएर उसले योजना बनाउँछ; समस्याको समाधान गर्छ; निर्णय गर्छ; जानकारीलाई कायम राख्छ र सञ्चारको लागि भाषाको प्रयोग गर्छ ।
भजनका लेखकले लेखे, “समझै नभएको घोडा अथवा खच्चरजस्ता तिमी नहोऊ, जसलाई रोक्न लगाम र डोकरि चाहिन्छन्, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्” (भजनसंग्रह ३२:९) । मानिसमा भएको बौद्धिकता अन्य कुनै पनि प्राणीमा पाइँदैन । हामी कहाँबाट आयौँ ? हामी किन यहाँ छौँ ? हामी कहाँ जाँदै छौँ ? यी प्रश्नहरूबारे केवल मानिसले मनन गर्छ । मानिस एक विचारक हो जसलाई निर्देशन दिन सकिन्छ र ऊ ज्ञानमा बढ्छ ।
मानिसमा भएको बौद्धिक क्षमताको कारणले गर्दा उसले गणितीय प्रश्नहरूको समाधान निकाल्न सक्छ । २ मा २ जोड्यो भने ४ हुन्छ भनेर मात्र उसलाई थाहा छैन, तर अरू सबै उत्तर गलत हुन्छन् भन्नेबारे पनि ऊ सचेत छ ।
किन हामी बौद्धिक छौँ ? किन अन्य प्राणीहरू बौद्धिक छैनन् ? यसको जवाफ दिन्छ उत्पत्ति १:२६-२७ ले जहाँ स्पष्ट रूपमा बताइएको छ कि हामी परमेश्वरको स्वरूपमा सृष्टि गरिएका छौँ ।
क्रमशः …