चुरोटको लागि लगिएको बाइबलद्वारा परिवर्तित झगडालु जँड्याहा प्रचारक बने

अफ्रिका महादेशको दक्षिणमा अवस्थित एउटा भूपरिवेष्टित मुलुकको नाउँ हो, जिम्बाब्वे । गेलर्ड काम्बारामी जिम्बाब्वे बाइबल सोसाइटीका महासचिव थिए । बाइबलको नयाँ करारलाई बाँड्दै जाने क्रममा तिनी एउटा दुर्गम गाउँमा पुगे । एक जना झगडालु जँड्याहा गाउँलेलाई तिनले नयाँ करारको एउटा प्रति दिन खोज्दा उसले लिन इन्कार गर्‍यो । बाइबलले मानिसलाई दूषित पार्छ भन्ने उसको बुझाइ रहेको थियो । त्यसैले उसले नलिने जिद्दी गरिरह्यो । नयाँ करारका पानाहरूलाई चुरोटको लागि प्रयोग गर्न अनुमति दिएको खण्डमा मात्रै त्यो मानिसले लिने सहमति जनायो । काम्बारामीले भने, “ठिकै छ । तर मेरो एउटा सर्त छ— तपाईंले बाइबलका यी पानाहरूलाई चुरोटको लागि प्रयोग गर्नुअगि प्रत्येक पेजलाई पढ्नुपर्छ ।” ऊ राजी भयो अनि दुवै जना आआफ्नो बाटो लागे ।

पन्ध्र वर्षपछि काम्बारामी फेरि त्यस गाउँमा पुगे, यस पटक कुनै सम्मेलनको लागि । बाइबलले मानिसहरूको जीवनमा कसरी परिवर्तन ल्याउँछ भन्ने विषयमा बोले तिनले । वर्षौं पहिले तिनको हातबाट नयाँ करार प्राप्त गर्ने त्यो झगडालु गाउँले पनि स्रोताको रूपमा उक्त कार्यक्रममा आएको रहेछ । कार्यक्रम सकिनुअगि ऊ उठ्यो र उसले भन्यो, “म काम्बारामीलाई केही कुरो भन्न चाहन्छु । कृपया, केही समय दिनुहोस् ।”

ऊ यस पटक भद्र भलाद्मी देखिएको थियो, सुट पेइन्टमा । उसले येशूलाई ग्रहण गरिसकेको थियो । उसले भन्यो, “उहाँले मलाई बिर्सनुभएको छ । मैले पहिलो पटक उहाँलाई भेट्दा म जँड्याहा थिएँ । तर उहाँले दिनुभएको बाइबलको कारणले मैले मुक्ति पाएको छु । मैले मत्तीको सुसमाचारलाई चुरोटको लागि प्रयोग गरेँ, मर्कूसको सुसमाचारलाई चुरोटको लागि प्रयोग गरेँ अनि लूकाको सुसमाचारलाई चुरोटको लागि प्रयोग गरेँ, तर जब म यूहन्ना ३:१६ मा आइपुगेँ त्यसपछि म परिवर्तन भएँ । त्यसपछि मेरो जीवनमा परिवर्तन आयो ।” उक्त खण्डमा लेखिएको छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।” पछि ऊ प्रचारक बन्यो जसले येशूको सन्देश बाँड्न आफ्नो समयको लगानी गर्‍यो ।

यसरी बाइबलको वचनले एउटा झगडिया पियक्कडलाई प्रचारकको रूपमा परिवर्तन गरिदियो ।

Facebook Comments

Powered by Youth Circle