मत्ती २३ अध्यायमा येशूले शास्त्री र फरिसीहरूको विरुद्धमा सातवटा ‘धिक्कार’ का वचन बोल्नुभएको छ किनकि तिनीहरू पाखण्डी थिए । पदहरू २३-२४ मा येशूको चौथो धिक्कार पाइन्छ जसमा उहाँले भन्नुभयो, “अन्धा अगुवा हो, तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्दछौ” (पद २४) । फरिसीहरूले भुसुना चाली ऊँटलाई निल्दथे भन्नुको अर्थ के हो ?
लेवी ११ अध्यायमा शुद्ध र अशुद्ध प्राणीहरूको सूची दिइएको छ । चार खुट्टे पखेटा भएका सबै किरा तिनीहरूका निम्ति अशुद्ध थिए, “चार खुट्टे पखेटा भएका सबै तिमीहरूका निम्ति घृणित हुनेछन्” (लेवी ११:२३) । यहूदीहरूले यस्ता आज्ञाहरूलाई कडाइका साथ पालन गर्थे । पानीमा भुसुनाजस्ता ससाना किरा हुन सक्ने भएकोले धार्मिक यहूदीहरू यति होसियार हुन्थे कि तिनीहरूले पानी पिउनुभन्दा पहिले कपडाले छान्ने गर्थे । झुक्केर पनि अशुद्ध प्राणी तिनीहरूको मुखभित्र नपरोस् भन्ने तिनीहरूको चाहना हुन्थ्यो ।
येशूले यही प्रसङ्गलाई आफ्नो उखानमा उल्लेख गरी ऊँटसित जोड्नुभएको छ । फरिसीहरू भुसुना चाल्नुजस्ता कम महत्त्वका कुराहरू गरेर व्यवस्था उल्लङ्घन नगर्न निकै सतर्क हुन्थे जब कि न्याय, दया र विश्वासजस्ता ठुला पापहरू (ऊँटलाई निल्नु) लाई भने तिनीहरूले बेवास्ता गर्दै थिए । त्यसैले येशूले तिनीहरूको पाखण्डीपनको भर्त्सना गर्नुभयो ।