मानिसमा भएको परमेश्वरको स्वरूप के हो (उत्पत्ति १:२६-२७) ? (भाग १)

मिति १७ डिसेम्बर १९०३ को थियो । अमेरिकाको उत्तर क्यारोललिनाको किटी हक नामक सहरको चार माइल दक्षिणचाहिँ स्थान थियो । भाइ ओर्भिल राइटले बिहान १०:३५ मा पहिलो उडान भरे । १२ सेकेन्डमा तिनी जमिनको सतहबाट १२० फिट उचाइमा पुगे । त्यसपछि करिब १० फिटको उचाइमा रही दाजु विल्बर राइटले ५३ मिनेटमा झन्डै १७५ फिटको दुरी पार गरे । भाइले दोस्रो पटक उडान भरे । करिब १० फिटको उचाइमा रही तिनले ६१ मिनेटमा २०० फिट दुरीको यात्रा गरे । निस्सन्देह, मानव इतिहासमा यो एउटा ऐतिहासिक दिन थियो । उक्त दिन राइट दाजुभाइले पहिलो सफल विमानको आविष्कार गरेका थिए । हावाभन्दा गरुङ्गो वस्तुलाई यिनीहरूले पहिलो पटक आकाशमा उडाएका थिए जसलाई यिनीहरूले नियन्त्रण गर्न सक्थे ।

संसारमा भएका सबै प्राणीमध्ये किन मानव-जातिले विमानको आविष्कार गर्न सके ? अन्य प्राणीहरूले किन सकेनन् र अझै सक्दैनन् ? किन मानव-जातिले मात्रै नयाँ-नयाँ वस्तुको आविष्कार गर्न सक्छन् ? यसको जवाफ दिन्छ उत्पत्ति १:२६-२७ ले जहाँ लेखिएको छ, “फेरि परमेश्‍वरले भन्‍नुभयो, ‘मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌ ।’ यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो । परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो ।” यस खण्डमा उल्लिखित शब्दहरू ‘स्वरूप’ र ‘प्रतिरूप’ ले उही कुरोलाई जनाउँछन् । जोड दिनका लागि ती शब्दहरू दोहोर्‍याएर लेखिएका हुन् ।

परमेश्वरले मानव-जातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो भनी बाइबलले सिकाउँछ । अन्य कुनै पनि प्राणीलाई परमेश्वरको स्वरूपमा सृष्टि गरियो भनी बाइबलका कहीँ पनि लेखिएको छैन । ‘परमेश्वरको स्वरूप’ मानिसमा मात्र छ । तर वास्तवमा मानिसमा भएको परमेश्वरको स्वरूपचाहिँ के हो ?

परमेश्वर अभौतिक अस्तित्व हुनुभएकोले उहाँ अदृश्य हुनुहुन्छ (यूहन्ना ४:२४; कलस्सी १:१५) । तसर्थ मानिसमा भएको परमेश्वरको स्वरूपले मानिसको भौतिक संरचनासित कुनै सरोकार राख्दैन भनी निष्कर्ष निकाल्नु तर्कसङ्गत नै हुन्छ । मानिसमा भएको परमेश्वरको स्वरूपमा यस्ता कुराहरू पर्नुपर्छ जुन अन्य कुनै पनि प्राणीमा हुनुहुँदैन । मेरो बुझाइमा मानिसमा भएको परमेश्वरको स्वरूपमा निम्न लिखित तत्त्वहरू पर्छन् ।

(१) सृजनात्मकता

केवल मान्छे सृजनात्मक छ । उसले मात्र नयाँ-नयाँ वस्तुको सृजना गर्न सक्छ र आविष्कार गर्न सक्छ । संसारको अन्य कुनै पनि प्राणीमा यो क्षमता हुँदैन ।

अन्य प्राणीहरूले आफू बसेको संसारलाई बद्लन सक्दैनन् । निश्चय नै तिनीहरूमा पनि नैसर्गिक प्रवृत्ति हुन्छ, तर नयाँ कुरो गर्न सक्ने क्षमता भने हुँदैन । चराहरूले हरेक वर्ष गुँड बनाउँछन्, तर हरेक वर्ष त्यसको संरचना उही किसिमको हुन्छ । अझै कसरी राम्रो बनाउन सकिन्छ भनी तिनीहरूले कहिल्यै सोच्दैनन्, न त तिनीहरूले आफ्ना सिपको विकास गर्छन् । तिनीहरूको जीवनमा उही पुरानै कुरोको पुनरावृत्ति हुन्छ ।

अर्कोतिर परमेश्वर हामीले कल्पना गर्नै नसकिने गरी सृजनात्मक हुनुहुन्छ । शून्यताबाट सम्पूर्ण विश्व अस्तित्वमा आएको थियो भनी विज्ञान र बाइबल दुवैले प्रस्ट पार्छन् । उहाँ असीमित रूपमा शक्तिशाली र बुद्धिमान् हुनुहुन्छ । उहाँले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुहुँदा नयाँ कुरो सृजना गर्न सक्ने खुबी हालिदिनुभयो । मानिसमा भएको यही क्षमताको कारण उसले संसारमा चमत्कार नै गरेको छ । जल, थल र नभमा उसले नियन्त्रण जमाएको छ । विमानको रचना गरी मानिस संसारको चारैतिर सवार भएको मात्रै छैन, तर इन्टरनेटको माध्यमद्वारा उसले यो विशाल संसारलाई एउटा सानो गाउँमा परिणत गरिदिएको छ ।

पन्ध्रौँ शताब्दीको मध्यतिर छापाखानाको आविष्कार गरी जोहानेस गुटेनबर्गले आधुनिक सभ्यताको जग बसाल्ने काम गरे । १७१२ मा थोमस न्युकोमेनद्वारा बाफबाट चल्ने इन्जिनको निर्माण भएसँगै औद्योगिक क्षेत्रमा क्रान्ति आयो । १७९६ मा एडवार्ड जेन्नरद्वारा खोपको सृजना भएपछि लाखौँ मानिस अकालमै मर्नुपरेको छैन । १८०० मा इटालीका आविष्कारक अलेसान्ड्रो भोल्टाद्वारा प्रथम विद्युतीय ब्याट्रीको सृजना अर्को एउटा उल्लेखनीय उत्पादन थियो । १८२२ मा चार्ल्स ब्याबेजद्वारा आविष्कृत प्रथम विद्युतीय कम्प्युटर निश्चय नै मानव-जातिको एउटा महान्‌तम उपलब्धि हो । १८३४ मा जेकब पर्किन्सले रेफ्रिजेरेटर, १८३० को दसकमा समुएल मोर्सले टेलिग्राफ, १८८० मा थोमस अल्बा एडिसले विद्युतीय चिमको आविष्कार गरे । आज हामीले जानेको इन्टरनेटलाई विकास गर्ने वैज्ञानिक थिए, टिम बर्नर्स ली । तिनले १९८९ मा यो अद्‌भुत उपहार मानव-जातिलाई सुम्पेका थिए । मानव-जातिले सृजना गरेका आविष्कारका यी केही मात्र उदाहरणहरू हुन् ।

ललितपुरको जावालाखेलस्थित सदर चिडियाखानाका चराचुरुङ्गीहरू एक-आपसमा मिली तिनीहरूले टेलिभिजनको आविष्कार गरे भन्ने खबर तपाईंले कहिल्यै सुन्न पाउनुहुने छैन, न त चितवनस्थित चितवन राष्ट्रिय निकुञ्जका बाघ-भालुहरू मिलेर तिनीहरूले फेसबुकको रचना गरे भन्ने खबर सुन्न पाइन्छ । किन तिनीहरूले नयाँ-नयाँ वस्तुको आविष्कार गर्न सक्दैनन् ? किनकि तिनीहरू परमेश्वरको स्वरूपमा सृजिएका छैनन् । किन मानिसले नयाँ-नयाँ वस्तुको आविष्कार गर्न सक्छ ? किनकि मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएकोले उसित सृजनात्मकता छ ।

क्रमशः …

 

 

Facebook Comments

Powered by Youth Circle