चार जना मानिसको हत्याको आरोप लागेका ब्रायन निकोलसको तीव्र खोजी हुँदै थियो । मार्च २००५ मा निकोलसले अस्ले स्मिथ नाउँ गरेकी स्त्रीलाई ७ घण्टासम्म उनकै अपार्टमेन्टमा बन्दी बनाए । त्यस बेला स्मिथले रिक वारेनद्वारा लिखित द पर्पोज ड्रिभन लाइफको ३२ अध्यायलाई पढिन् । उक्त वचनले निकोलसको निर्णयमा काम गर्यो । परिणाम स्वरूप तिनले स्त्रीलाई मुक्त गरिदिए । स्मिथको कैद र छुटकाराको खबरपश्चात् पुस्तकको बिक्री ह्वात्तै बढेको थियो ।
अमेरिकाका पास्टरसाथै लेखक रिक वारेनद्वारा लिखित एउटा पुस्तकको नाउँ होः द पर्पोज ड्रिभन लाइफ (उद्देश्य प्रेरित जीवन) । अमेरिकाको मिचिगनस्थित अन्तर्राष्ट्रिय ख्रीष्टियान प्रकाशन जोन्डरभनले यसलाई छापेको थियो । ख्रिस्टाब्द २०२० सम्म आइपुग्दा यो कृति ५ करोड प्रति बिक्री भइसकेको छ । न्युयोर्क टाइम्सको बेस्टसेलरसूचीमा ९० हप्तासम्म यस पुस्तकले आफ्नो स्थान जोगाइराखेको थियो ।
४० ओटा छोटा–छोटा अध्याय भएको यो आराधनायुक्त पुस्तक हो । दिनमा एउटा अध्याय पढ्ने हिसाबले प्रबन्ध गरिएको यस कृति पढ्न थाल्नुभएपछि तपाईंले चालिस दिनको आत्मिक यात्रामा पाइला चाल्नुहुने छ । पुस्तकका ४० ओटा अध्यायलाई ६ ओटा मुख्य भागमा विभाजित गरिएका छन् जसका शीर्षकहरू निम्नलिखित छन्ः
- म पृथ्वीमा केको लागि अस्तित्वमा छु ?
- पहिलो उद्देश्यः परमेश्वरको खुसीको लागि तपाईंको योजना बनाइएको थियो (आराधना)
- दोस्रो उद्देश्यः परमेश्वरको परिवारको लागि तपाईंको रचना गरिएको थियो (सङ्गति)
- तेस्रो उद्देश्यः ख्रीष्टजस्तै हुनको लागि तपाईंको सृष्टि गरिएको थियो (चेलापन)
- चौथो उद्देश्यः परमेश्वरको सेवा गर्नको लागि तपाईंलाई आकार दिइएको थियो (सेवाकार्य)
- पाँचौँ उद्देश्यः मिसनको लागि तपाईंलाई बनाइएको थियो (मिसन)
यस कृतिलाई नेपाली लगायत ८५ ओटाभन्दा बेसी भाषामा अनुवाद गरिएको छ ।