तेस्रो शताब्दीको उत्तरार्द्धसम्ममा आफ्रा र उनको परिवारले ख्रीष्टियान विश्वासलाई अङ्गालिसकेका थिएनन् । उनको परिवार साइप्रसबाट अग्सवर्ग लाग्यो । आफ्राकी आमा हिलारियाले छोरीलाई भेनस देवीको सेवाको निम्ति अर्पण गरिन् । सुरुमा आफ्रा वेश्यावृत्तिमा संलग्न भइन् । त्यस बेला ख्रीष्टियानहरूमाथि सतावट उग्र थियो । त्यसैको चपेटामा परेर स्पेनका बिशप नर्किसस शरणस्थान खोज्दै अग्सवर्गमा पुगे अनि आफ्रा र उनको परिवारले बिशपलाई बस्ने ठाउँ मिलाइदिए । बिशपको शिक्षाबाट प्रभावित भई आफ्रा र उनको परिवारले ख्रीष्टियान विश्वासलाई अङ्गाले ।[i] नयाँ जन्म पाइसकेपछि आफ्राले आफ्नो जीवन त्यागिएका बालबालिकाहरूलाई हुर्काउनमा समर्पित गरिन् । उनले बन्दी, चोर, लुटेरा, भगुवा दाससाथै बदमासहरूका बच्चाबच्चीहरूलाई हुर्काउने सेवाकार्यको थालनी गरिन् ।[ii]
शिशु-त्याग ग्रिक-रोमी संसारको प्रचलित कुरीति थियो । ख्रीष्टियानहरू रोम र यसका वरिपरिका इलाकाहरूमा आइपुग्दा तिनीहरूले यही कुरीतिसित जम्काभेट गर्नुपरेको थियो जसले मानवीय जीवनको मूल्य कति सस्तो रहेछ भनी देखाउँथ्यो । ग्रिक-रोमी संसारमा अवाञ्छित शिशुहरूलाई सिधै मारिँदैनथ्यो भने पनि तिनीहरूलाई अक्सर त्यागिन्थ्यो ।
रोमी सम्राट्हरूका जीवनीकार सुटोनियस (ख्रिस्टाब्द करिब ६९-१४०) का अनुसार शोकको साङ्केतिक विधिस्वरूप शिशुहरू त्यागिन्थे ।[iii] रोमी र ग्रिकहरूले मात्र नभई अन्य विविध संस्कृतिहरूमा पनि यसको अभ्यास गरिएको पाइन्छ । शिशुहरूलाई पहाड, उजाड-स्थान, मण्डलीको वरिपरि अनि अन्य सार्वजनिक स्थानहरूमा छाडिन्थ्यो ।[iv]
आदि ख्रीष्टियानहरूले शिशु-त्यागको कुरीतिको विरोध गर्नुका साथै यसको भर्त्सना गरे । रोमीहरूले चराचुरुङ्गीसाथै अन्य प्राणीहरूको चाहिँ रक्षा गर्थे तर आफ्नै छोराछोरीलाई चाहिँ त्याग्ने गरेकाले मिश्रमा अति नै प्रभावशाली अलेक्ज्यान्ड्रियाका ईश्वरशास्त्री क्लेमेन्टले दोस्रो शताब्दीको उत्तरार्द्धतिर तिनीहरूको भर्त्सना गरे ।[v] त्यसै गरी अफ्रिकी मण्डलीका पिता तर्तुलियनले पनि यस्तो अभ्यासको घोर निन्दा गरे ।[vi] सम्राट् कन्स्टेन्टाइन महान्का एक छोरालाई पढाउने मण्डली पिता लेक्टानियसले यसो भन्दै शिशु-त्यागको विरोध गरे, “हत्या गर्नुजस्तै त्याग्नु पनि दुष्ट कार्य हो ।”[vii] छैटौँ शताब्दीको मण्डलीको नियमले आफ्ना छोराछोरी त्याग गर्ने बुबाआमालाई ‘हत्याराहरू’ भनेको थियो ।[viii] ख्रीष्टियानहरूले शिशु-त्यागको विरोध मात्र गर्दैनथ्ये, तर अक्सर त्यसरी त्यागिएका बच्चाहरूलाई घरमा लगी धर्मपुत्रको रूपमा पाल्थे ।
शताब्दीऔँसम्म ख्रीष्टियानहरूले उग्र सतावटको सामना गर्नुपरे तापनि मानवीय जीवनको मूल्यको बढवा गर्न तिनीहरू थाकेनन् । तिनीहरूको सतत प्रयासले अन्ततः नतिजा हात लागेरै छाड्यो । ख्रिस्टाब्द ३७४ मा सम्राट् भ्यालेन्टिनियनले शिशु-हत्यालाई अवैध ठहराउँदा तिनले शिशु-त्यागलाई पनि दण्डको सजाय तोके ।[ix] पाँचौँ शताब्दीका सम्राट्हरू होनोरिअस र थियोडोसिअस द्वितीयले नियम बनाएका थिए कि फेला पारिएको बच्चाको सम्बन्धमा मण्डलीमा सूचना जारी गरिनुपर्छ र कसैले बच्चाको दाबी नगरेको खण्डमा फेला पार्ने व्यक्तिले बच्चा राख्न सक्थ्यो ।[x]
ख्रीष्टियान दृष्टिकोणको नतिजास्वरूप युरोपभरि शिशु-त्याग अभ्यासको विरुद्धमा कानुन बनेको थियो । यस्तो कानुनले समाजमा मानवीय जीवनको मूल्यलाई बढाएको थियो । त्यागिएका र अनाथहरूका निम्ति अनाथालय खोली ख्रीष्टियानहरूले हुर्काएका उदाहरणहरू इतिहासमा मात्र नभएर वर्तमानमा पनि छरपष्ट छन् ।
सन्दर्भ स्रोतहरूः
[i] https://en.wikipedia.org/wiki/Saint_Afra
[ii] Alvin J. Schmidt, How Christianity Changed the World [Kindle Version]. Retrieved from Amazon.com
[iii] Ibid.
[iv] https://en.wikipedia.org/wiki/Child_abandonment#History
[v] Quoted by Schmidt, How Christianity Changed the World.
[vi] Ibid.
[vii] Divine Institutes 1.6
[viii] Patri Graceo-Latina 88:1933.
[ix] Code of Justinian 8.52.2.
[x] Quoted by Schmidt, How Christianity Changed the World.