आजभन्दा ३० वर्षअगि अर्थात् ख्रिस्टाब्द १९९० मा पहिलो शताब्दीको एउटा महत्त्वपूर्ण पुरातात्त्विक खोज पत्ता लाग्यो । संसारको एउटा प्राचीनतम सहर यरूशलेमको दक्षिणमा पर्ने पिस फोरेस्ट नामक जङ्गलमा एउटा अस्थिबाकस फेला पारियो जसलाई कैयाफा अस्थिबाकस नाउँ दिइएको छ । चुन–ढुङ्गाले बनेको उक्त अस्थिबाकसमा आरमेइक भाषामा प्रस्ट रूपमा “कैयाफाका पुत्र योसेफ” भनेर लेखिएको छ । बाइबलका विद्वान्हरूको भनाइअनुसार तिनी नै नयाँ करारमा उल्लिखित प्रधान पुजारी कैयाफा हुन् ।
उत्खननकर्ता जिभी ग्रिनहटद्वारा पत्ता लगाइएको उक्त बाकसलाई हाल यरूशलेमस्थित इजराएल सङ्ग्राहलयमा राखिएको छ । यसको उचाइ ३७ सेन्टिमिटर र लमाइ ७५ सेन्टिमिटर रहेको छ । अति नै सजावट गरिएको यो अस्थिबाकसभित्र झन्डै ६० वर्ष उमेरको मान्छेका हड्डीहरू फेला पारिएका छन् ।
इस्राएलमा संयोगवशः फेला पारिएका थुप्रै पुरातात्त्विक खोजहरूमध्ये कैयाफा अस्थिबाकस पनि एउटा हो । मृतकको दफन गरेको एक वर्षपश्चात् देह सडेर नष्ट भएपछि मृतकका आफन्तहरूले मृतकका हड्डीहरू यस्तो अस्थिबाकसमा जम्मा गरेर राख्ने गर्थे ।
नयाँ करारको विवरणअनुसार येशू ख्रीष्टको क्रुसारोहणको समयमा संलग्न भएकाहरूमध्ये कैयाफा एक महत्त्वपूर्ण अधिकारी थिए । मत्ती, लूका र यूहन्नाको सुसमाचारहरूमुताबिक तिनी औपचारिक प्रधान पुजारी थिए जसले येशूको गिरफ्तारी र जाँच पडतालहरूमा भाग लिए । तिनी प्रधान पुजारी भएकाले शक्तिको हिसाबले दोस्रो तहमा थिए । पहिलो तहमा बडा हाकिम हुन्थ्यो । यहूदी प्रधान पुजारीसित मृत्युदण्ड दिने अधिकार नभएकोले कैयाफाले रोमी बडा हाकिम पन्तियस पिलातससित मिलेर येशूलाई मृत्युदण्डको आज्ञा सुनाए भनी बाइबलले बताउँछ । कैयाफाको बारेमा बाइबलका यी खण्डहरूमा पढ्न पाइन्छ (मत्ती २६:३,५७; लूका ३:२; यूहन्ना ११:४९; १८:१३–१४,२४,२८; प्रेरित ४:६) ।
इतिहासअनुसार ख्रिस्टाब्द १८ मा कैयाफा प्रधान पुजारी पदमा नियुक्त गरिएका थिए र तिनी ख्रिस्टाब्द ३६ सम्म उक्त पदमा रहे । येशू ख्रीष्ट क्रूसमा टाँगिनुहुँदा तिनी नै औपचारिक प्रधान पुजारी थिए ।
नयाँ करारको अध्ययनमा यो एउटा उल्लेखनीय पुरातात्त्विक खोज हो जसले नयाँ करारको ऐतिहासिक विश्वसनीयतामा एउटा मजबुत साक्षीलाई उदाङ्गो पारेको छ ।