के यिप्ताले परमप्रभुलाई होमबलिस्वरूप आफ्नी छोरी चढाए (न्यायकर्ता ११:३०-३९) ?

यिप्ता इस्राएलका न्यायकर्ता थिए । अम्मोनीहरूको विरुद्धमा युद्धमा जानुअगि तिनले यसो भनी भाकल गरे, “यदि तपाईंले अम्‍मोनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुभयो भने, जब म अम्‍मोनीहरूबाट कुशलसित फर्कुंला तब मलाई भेट्‌नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ । म त्‍यसलाई होमबलि गरी चढाउनेछु” (न्यायकर्ता ११:३०-३१) । युद्धमा विजय हासिल गरेर घर फर्कंदा तिनकी एक मात्र छोरी “तिनलाई बाहिर भेट गर्न खैँजडी बजाउँदै र नाच्‍दै” (पद ३४) आइन् । पद ३९ अनुसार यिप्ताले आफ्नो भाकल पूरा गरे । के साँच्चै यिप्ताले आफ्नी छोरी होमबलिस्वरूप परमप्रभुलाई चढाए त ?

यिप्ताको भाकलबारे बाइबल विद्वान्‌हरूका बिचमा मूलत: दुईवटा व्याख्या पाइन्छन् ।

पहिलो व्याख्याअनुसार यिप्ताले आफ्नी छोरीलाई होमबलिस्वरूप परमप्रभुलाई चढाए अर्थात् तिनले मानव बलि गरे ।

तिनले त्यसै गरेका थिए भने पनि परमप्रभुले तिनको बलि अनुमोदन गर्नभयो भनेर बुझिनुहुँदैन । परमेश्वरले तिनलाई यसो गर्न आज्ञा दिनुभएको थिएन । मानव बलि पहिले नै पूर्णत: निषेध गरिएको थियो (लेवी १८:२१) । तिनले मानव बलि गरेका थिए भने हामीले निकाल्न सक्ने निष्कर्ष यही हो कि यो तिनको हतारको भाकल मात्र थिएन, तर मूर्खतापूर्ण कार्य पनि थियो । तिनको मनसाय असल भए तापनि तिनको कदमचाहिँ परमेश्वरको इच्छाको विरुद्धमा थियो किनकि परमेश्वरले मानव बलि निषेध गर्नुहुन्छ ।

दोस्रो व्याख्याअनुसार यिप्ताले आफ्नी छोरीलाई पवित्र वासस्थानको सेवाको निम्ति अर्पण गरे । यसको पक्षमा निम्न लिखित तर्कहरू अगाडि सारिएका छन् ।

  • मानव बलि निषेधाज्ञाबारे यिप्ता सचेत थिए ।

परमेश्वरले इस्राएलीहरूलाई मानव बलि नगर्न कडा आज्ञा दिनुभएको थियो, “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्‌, जुन परमप्रभु घृणा गर्नुहुन्‍छ । उनीहरू आफ्‍ना छोराछोरीहरूलाई पनि आफ्‍ना देवताहरूका लागि आगोमा होमिदिन्‍छन्‌” (व्यवस्था १२:३१) । मानव बलि परमप्रभुको दृष्टिमा घृणित कार्य थियो (लेवी १८:२१; २०:२-५; व्यवस्था १८:१०) ।

  • यिप्ताले मानव बलि गरे भनी खण्डले बताउँदैन ।

यिप्ताले होमबलिस्वरूप आफ्नी छोरी मारे भनी व्यक्त गरिएको छैन । त्यो त पद ३१ बाट निकालिएको निष्कर्ष हो जहाँ लेखिएको छ, “बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ । म त्‍यसलाई होमबलि गरी चढाउनेछु ।” यिप्ताले आफ्नी छोरीलाई जिउँदो बलिको रूपमा अर्पण गरेका हुन सक्छन् (रोमी १२:१) । यसको अर्थ हुन्छ कि बाँकी जीवनभरि कन्या भएर उनले परमप्रभुको मन्दिरमा सेवा गरिन् जुन ठुलो बलिदान थियो ।

  • यिप्ताकी छोरीले आफ्नो कुमारीत्वमाथि शोक गरिन् ।

यिप्ताकी छोरीले आफ्नो आसन्न मृत्युको लागि नभई सधैँ कुमारी भएर जीवन बिताउनुपर्ने अवस्थामाथि शोक गरिन् । पद ३८ मा लेखिएको छ, “तिनले यिनलाई दुई महिनाको निम्‍ति बिदा गरे । तिनी आफ्‍ना सहेलीहरूसित गइन्‌, र डाँडाहरूमा आफ्‍नो कुमारीत्‍वको निम्‍ति रोइन्‌ ।”

  • दुष्ट राजाहरूको आगमन नभएसम्म इस्राएलको इतिहासमा मानव बलिको कुनै अभिलेख छैन ।

यिप्ताको समयभन्दा सैयौँ वर्षपछि मात्र इस्राएलको इतिहासमा मानव बलि अभ्यास गरिएको देखिन्छ । आठौँ शताब्दी ख्रिस्टपूर्वमा इस्राएलका दुष्ट राजा आहाजले आफ्नै छोरोलाई मोलोख देवताको निम्ति होम गरे, “इस्राएलका राजाहरूका चालमा तिनी हिँडे । इस्राएलको सामुबाट जुन जातिहरूलाई परमप्रभुले निकाल्‍नुभएको थियो, तिनीहरूकै घिनलाग्‍दा चालमा हिँड़ेर तिनले आफ्‍नो छोरालाई पनि आगोमा होम गरे” (२ राजा १६:३) । केही वर्ष बित्न नपाउँदै अर्का पतित राजा मनश्शेले पनि हिन्नोमको बेँसीमा आफ्नै छोरोलाई बलि दिए, “तिनले आफ्‍नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए । तिनले परमप्रभुको दृष्‍टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए” (२ राजा २१:६) ।

  • विश्वासका नायकहरूको सूचीमा यिप्ताको नाउँ समावेश छ ।

हिब्रू ११ अध्यायलाई ‘विश्वासको अध्याय’ भनेर चिनिन्छ जहाँ विश्वासका नायकहरूको सूची पाइन्छ । अब्राहाम, योसेफ, मोशालगायत विविध व्यक्तिहरूको सूचीमा यिप्ताको नाउँ पनि समावेश छ, “अरू बढी म के भनूँ ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्‍ताको बारेमा, र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन” (हिब्रू ११:३२) ।

Facebook Comments

Powered by Youth Circle