उन्नाइसौँ शताब्दीको उत्तरार्द्धमा अमेरिकामा जन्मेका समुएल ब्रेन्जल साल्भेसन आर्मी नामक ख्रीष्टियान संस्थामा कमिस्नर (संस्थाको द्वितीय उच्चतम पद) थिए । एउटा जागृति सभामा किशोर अवस्थामा नै प्रभु येशूलाई अङ्गालेका ब्रेन्जल पवित्रताको अभियानमा निकै परिचित लेखक, शिक्षकसाथै प्रचारक हुन् । तिनका प्रसिद्ध कृतिहरूमध्ये हेल्प्स टु होलिनेस (अर्थात् पवित्रताका सहायताहरू) एक हो जसलाई नेपाली भाषामा पनि अनुवाद गरिएको छ । यो किताब जन्मनुको पछाडि एउटा रोचक कथा छ ।
ब्रेन्जल हिँड्दै गर्दा केही मानिसहरूले तिनको टाउकोमा एउटा इँट प्रहार गरे । तिनीहरूको आशय खराब नभए तापनि ब्रेन्जल झन्डै मरेका थिए । तिनलाई निको हुन अठार महिना लाग्यो । त्यही चोटग्रस्त अवस्थामा तिनले एउटा पुस्तक लेखे जसको नाउँ हो— पवित्रताका सहायताहरू । यसका हजारौँ प्रति छापिएका छन् ।
ब्रेन्जल निको भएपछि तिनले फेरि प्रचार गर्न थाले । तिनको त्यस पुस्तकप्रति मानिसहरूले प्रायः आभार व्यक्त गर्थे । तर तिनले यसरी जवाफ दिन्थे, “त्यो सानो इँट नभइदिएको भए यो सानो पुस्तक जन्मिदैनथ्यो ।” तिनकी पत्नीले त्यस इँटलाई जोगाइराखिन् जसमा उत्पत्ति ५०:२० का वचनहरू खोपिएका थिए, “तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरै जना मानिसहरू बाँचिरहून् ।”