बाइबलमा उल्लिखित ७ किसिमका बप्तिस्मा

‍बाइबल धर्मशास्त्रमा ७ किसिमका बेग्लाबेग्लै बप्तिस्माको उल्लेख गरिएका छन् जुन यस प्रकार छन् ।

(१) मोशाको बप्तिस्मा

मिश्रको दासत्वबाट छुटकारा पाउँदा इस्राएलीहरूले मोशाको बप्तिस्मा लिए । पावल लेख्छन्, “मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्‍तिस्‍मा पाएका थिए” (१ कोरिन्थी १०:१) ।

(२) यूहन्नाको बप्तिस्मा

मसीहको आगमनको लागि मानिसहरूलाई तयार पार्दा बप्तिस्मा-दिने यूहन्नाले पश्चात्तापको बप्तिस्मा दिन्थे । मर्कूस लेख्छन्, “बप्‍तिस्‍मा-दिने यूहन्‍ना पापमोचनको लागि पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै उजाड-स्‍थानमा देखा परे” (मर्कूस १:४) ।

(३) येशूको बप्तिस्मा

आफू निष्पाप हुनुभए तापनि पापिष्ठ मानव-जातिसित आफैलाई परिचित गराउनुहुँदा येशूले यूहन्नाको हातबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो । मत्ती लेख्छन्, अनि येशू बप्‍तिस्‍मा लिएर तुरुन्‍तै पानीबाट माथि निस्‍कनुभयो, अनि स्‍वर्ग उघ्रियो, र उहाँले परमेश्‍वरका आत्‍मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्‍नुभयो” (मत्ती ३:१६) ।

(४) आगोको बप्तिस्मा

येशूले आगोले बप्तिस्मा दिनुहुनेथियो भनी यूहन्नाले भविष्य गरे । मत्ती लेख्छन्, “मचाहिँ त तिमीहरूलाई पश्‍चात्तापको लागि पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर मपछि आउनुहुने मभन्‍दा अझ शक्तिशाली हुनुहुन्‍छ, जसका जुत्ता बोक्‍ने योग्‍यको म छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ” (मत्ती ३:११) । यो बप्तिस्मा पापको कारण येशूले संसारलाई गर्ने न्यायसित सम्बन्धित छ (यूहन्ना ५:२२) ।

(५) पवित्र आत्माको बप्तिस्मा

यूहन्नाको भविष्यवाणीअनुसार येशूले पवित्र आत्माले पनि बप्तिस्मा दिनुहुनेथियो । “तब यूहन्‍नाले ती सबैलाई जवाफ दिए, ‘म तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर एक जना मभन्‍दा शक्तिशाली आउँदैहुनुहुन्‍छ, जसका जुत्ताको फित्ता खोल्‍ने लायकको म छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ'” (लूका ३:१६) । यो आत्मिक बप्तिस्मा हो जुन विश्वासीलाई दिइन्छ ।

(६) क्रूसको बप्तिस्मा

येशूले भन्नुभयो, “एउटा बप्‍तिस्‍मा छ, जो मैले लिनुपर्नेछ । त्‍यो पूरा नहोउञ्‍जेल म अति व्‍याकुल छु!” (लूका १२:५०) । यो बप्तिस्मा येशूले क्रूसमा भोग्नुहुने दु:खकष्ट थियो ।

(७) विश्वासीहरूको बप्तिस्मा

यो विश्वासीहरूले पानीमा लिने बप्तिस्मा हो । आफ्नो पुनरुत्थानपश्चात् येशूले चेलाहरूलाई आज्ञा दिनुभयो, “यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ” (मत्ती २८:१९) । यसलाई हामी पानीको बप्तिस्मा भनेर पनि बुझ्न सक्छौँ ।

यी ७ ओटा बप्तिस्मामध्ये आज ख्रीष्टियानहरूका लागि दुईवटा बप्तिस्मा (पवित्र आत्माको बप्तिस्मा र विश्वासीहरूको बप्तिस्मा) को व्यक्तिगत महत्त्व रहेको छ । अन्य बप्तिस्माहरू विशेष समयको लागि र विशेष व्यक्तिहरूका लागि थिए । आगोको बप्तिस्माचाहिँ अझै भविष्यतिर उन्मुख छ भन्दा फरक नपर्ला ।

Facebook Comments

Powered by Youth Circle