मानव सभ्यता निर्माणमा ख्रीष्टियान शिक्षाको भूमिका

सभ्यता निर्माणमा ख्रिस्टियमतको भूमिका पाश्चात्य समाजको इतिहास र रचनासित गाँसिएको छ । आफ्नो लामो इतिहासभरि मण्डली शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरूमा मात्र मुख्य स्रोत बनेको छैन, तर कला, संस्कृति र दर्शनशास्त्रको लागि पनि प्रेरणा बनेको छ । यसका अतिरिक्त, राजनीति र धर्ममा पनि मण्डली प्रभावशाली नायक बनेको छ । मण्डलीले विविध क्षेत्रहरूमा पाप र धर्मबिचको भिन्नता कायम राखेको छ । संसारका विभिन्न मुलुकहरूमा इस्टर र ख्रिस्टमसमा सार्वजनिक बिदा दिइन्छ । ग्रेगोरी पात्रोलाई विश्वव्यापी रूपमा सरकारी पात्रोको रूपमा प्रयोग गरिएको छ र यो पात्रो येशूको जन्मसित जोडिएको छ ।

मण्डलीको सांस्कृतिक प्रभाव व्यापक छ । रोमी साम्राज्यको पतनपश्चात् मण्डली विद्वान्‌हरूले नै पश्चिमी युरोपमा साहित्यको रक्षा गर्ने काम गरे । मध्यकालीन युरोपमा रोमी साम्राज्यलाई विस्थापित गरी मण्डली एकीकृत शक्तिको रूपमा उदाएको थियो । त्यस बेलाका विशाल मण्डली भवनहरू पाश्चात्य सभ्यताद्वारा रचित सर्वाधिक सुन्दर कलाहरूमा पर्छन् । युरोपका अधिकांश विश्वविद्यालयहरू पनि मण्डलीद्वारा नै स्थापना गरिए । विश्वविद्यालय र मण्डलीका स्कुलहरू मठाश्रमद्वारा प्रवर्द्धित सिकाइको रुचिमा निरन्तरता थिए भनी धेरै इतिहासकाहरूले व्यक्त गरेका छन् । मध्यकालीन ख्रीष्टियान परिवेशमा मण्डलीका स्कुलहरूबाट नै विश्वविद्यालको थालनी भएको थियो भनी साधारणतया मानिएको छ । मिखाएलएङ्गेलो, लिओनार्दो दा भिन्सी र राफेलजस्ता ख्रीष्टियान कलाकारहरूका रचना सर्वाधिक प्रतिष्ठित रचनाहरूको सूचीमा पर्छन् । त्यसै गरी, पाचेलबेल, भिभाल्डी, सेबास्टिएन बाक, हन्डेल, मोजार्टजस्ता विश्वप्रसिद्ध रचनाकारहरूद्वारा निर्मित सङ्गीतले पाश्चात्य जगत्‌को आत्मालाई तृप्त पारेको थियो ।

बाइबल र ख्रीष्टियान ईश्वरशास्त्रले पाश्चात्य दार्शनिकसाथै राजनीतिक अभियन्ताहरूलाई पनि औधी प्रभाव पारेका छन् । येशूका शिक्षाहरू (जस्तैः असल सामरीको दृष्टान्त) आधुनिक मानव अधिकारवाद र सरकारद्वारा उपलब्ध हुने कल्याणका लागि महत्त्वपूर्ण स्रोतहरूमा पर्छन् । यौन, विवाह र पारिवारिक जीवनबारे मण्डलीले लामो समयदेखि सिकाउँदै आएको शिक्षा अझै पनि प्रभावशाली बनेकै छ । नरबलि, दासप्रथा, शिशु-हत्यासाथै बहुविवाहजस्ता कुप्रथाहरूमा पूर्ण विराम लगाउन ख्रिस्टियमतले उल्लेखनीय भूमिका खेलेको छ । वैवाहिक विश्वासहिनता, पारपाचुके, हाडनाताबिचको यौनसम्बन्ध, बहुविवाह, शिशुहत्यासाथै गर्भपतनको निन्दा गरी ख्रिस्टियमतले स्त्रीहरूको अवस्थालाई माथि उठाएको थियो । शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरूमा पाश्चात्य इतिहासमा मण्डलीको हिस्सा बनी योगदान पुर्‍याएका स्त्रीहरू तारिफका योग्य पात्र हुन् ।

मानवीय उन्नतिमा ख्रीष्टियानहरूले असङ्ख्य योगदान पुर्‍याएका छन् र त्यो योगदान इतिहासमा मात्र सीमित नभई वर्तमानमा पनि  जारी छ । विज्ञान, प्रविधि, चिकित्सा, कला, साहित्य, सङ्गीत, राजनीति, दर्शनशास्त्र, नीतिशास्त्रसाथै व्यवसायजस्ता मनग्गे क्षेत्रहरूमा ख्रीष्टियान योगदान उल्लेखनीय रहेको छ । नोबेल पुरस्कारको १०० वर्षको इतिहास (ख्रिस्टाब्द १९०१-२०००) मा झन्डै ६६% नोबेल पुरस्कारका प्रापक ख्रीष्टियानहरू नै थिए । सिरियाली र अरबी भाषामा ग्रिक दार्शनिकका कृतिहरूलाई अनुवाद गरी पूर्वीय जगत्‌का ख्रीष्टियानहरूले अरबी इस्लामिक सभ्यतामा पनि योगदान पुर्‍याएका छन् । तसर्थ, आज मानव-जाति सभ्यताको जुन उचाइमा आइपुगेको छ, त्यसको लागि संसार ख्रीष्टियान शिक्षाप्रति सधैँ ऋणी बनेको छ ।[i]

 

[i] https://en.wikipedia.org/wiki/Role_of_Christianity_in_civilization बाट अनूदित ।

Facebook Comments

Powered by Youth Circle