विख्यात ईश्वरशास्त्री अगस्टिनले सामान्य ठिटोको क्रियाकलापबाट पाठ सिके

ख्रिस्टाब्द ३५४ मा उत्तर अफ्रिका (हाल अल्जेरिया) मा जन्मेका अगस्टिन ईश्वरशास्त्री, दार्शनिक, रक्षाशास्त्रीसाथै लेखक थिए । पाश्चात्य ख्रिस्टियमत र पाश्चात्य दर्शनशास्त्रको विकासमा तिनका रचनाहरूले उल्लेखनीय भूमिका निभाएका छन् । पाश्चात्य ख्रिस्टियमतमा तिनलाई अति नै महत्त्वपूर्ण मण्डली पिताको रूपमा आदर गरिन्छ । १०० भन्दा बेसी कृतिका लेखक अगस्टिन हिप्पोका बिशप थिए ।

बाइबलमा भएका कठिन शिक्षाहरूमध्ये एक हो, त्रिएकताको सिद्धान्त । यो एउटा रहस्यपूर्ण शिक्षा हो जसलाई कहिल्यै पूर्ण रूपमा समाधान गर्न सकिँदैन ।

तरै पनि त्रिएकताको रहस्यलाई बुझ्न प्रयासमा एक बिहान अगस्टिन भूमध्यसागरको तटमा हिँड्दै थिए । तिनले एक जना जवान ठिटोलाई देखे जसले बाल्टिनमा पानी भरी त्यसलाई आफूले बालुवामा बनाएको खाडलभित्र खन्याउँदै थियो । उक्त दृश्यले दार्शनिक अगस्टिनको ध्यान खिँच्यो । तिनी रोकिए । खन्याइएको पानीलाई केही सेकेन्डभित्रमा नै बालुवाले सोस्यो । तर ठिटो थाकेन । उसले अझै बाल्टिनमा पानी भर्दै खाडलमा खन्याउने काम गरिरह्यो ।

दार्शनिकले उसलाई सोध्यो, “तिमीले के गर्न खोज्दै छौ ?”

उसको जरुरी काममा हस्तक्षेप भएको महुसस गरी झर्को मान्दै केटोले जवाफ दियो, “म समुद्रलाई यस खाडलभित्र राख्ने कोसिस गर्दै छु ।”

आफूले त्यही केटोले जस्तै व्यवहार गरेका महसुस गरे अगस्टिनले । तिनले परमेश्वरको त्रिएक स्वभावको महासागरलाई आफ्नो सानो दिमागभित्र घुसाउन खोज्दै थिए र तिनले त्यो केटोले जस्तै कुनै सफलता पाउन सकिरहेका थिएनन् ।

पछि अगस्टिनले भने, “यदि तपाईंले त्रिएकतालाई इन्कार गर्नुभयो भने तपाईंले आफ्नो आत्मा गुमाउनुहुने छ । यदि तपाईंले यसलाई व्याख्या गर्न खोज्नुभयो भने तपाईंले आफ्नो दिमाग गुमाउनुहुने छ ।”

Facebook Comments

Powered by Youth Circle