लुइसको जीवनमा यशैया ५३ अध्याय येशूकहाँ आउने माध्यम बन्यो

तिनको नाउँ हो, लुइस लपिदेस । तिनी यहूदी थिए । तिनले येशूलाई क्रूसमा टाँगेका तस्बिरहरू देखेका थिए । तर तिनको बुझाइमा येशू गैरयहूदीहरूका परमेश्वर हुनुहुन्थ्यो र यहूदी जातिसित उहाँको कुनै सम्बन्ध थिएन । पहिलो पटक नयाँ करार हात पार्दा तिनले इमान्दारीपूर्वक सोचेका थिए कि यो केवल तिनीहरूको जातिको विरुद्धमा लेखिएको निर्देशिका थियो ।

लुइसको धर्मशास्त्रको नाउँ हो, तानाक । यो ख्रीष्टियान बाइबलको पुरानो करार हो । तिनले पुरानो करारलाई दैनिक पढ्ने गर्थे । एक पटक तिनी यशैया ५३ अध्यायमा आएर रोकिए । यहाँ मसीहको तस्बिरलाई चित्रण गरिएको छ जसले इस्राएल जातिको मात्र नभएर सारा संसारको पाप उठाइ लैजानु हुनेथियो । मानवीय चोलामा येशूले यस पृथ्वीमा आफ्नो पाउ राख्नुभन्दा सात सय वर्षअगि यशैयाको पुस्तक लेखिएको थियो ।

यशैया ५३ अध्यायको वर्णन नासरतका येशूसित मेल खान्छ भनी लुइसले बुझिहाले । तिनले बाल्यकालमा देखेका तस्बिरहरूले येशूले भोग्नुभएको दुःखकष्टको चित्रण गर्थे भनी तिनले बुझे । पुरानो करारमा मसीहको बारेमा भनिएका भविष्यवाणीहरू एकपछि अर्को गर्दै नासरतका येशूको जीवनमा पूरा भएका पाए तिनले ।

लुइसले निर्णय लिनुपर्ने समय आयो । एक रात तिनी यसो भन्दै चिच्च्याए, “हे परमेश्वर, म यो सङ्घर्षको अन्त्यमा आइपुगेको छु । येशू नै मसीह हुनुहुन्छ भनी मैले निश्चित रूपमा जान्नुपर्छ । इस्राएलको परमेश्वरको रूपमा मैले यसमा विश्वास गरेको तपाईं चाहनुहुन्छ भनी मैले जान्नु आवश्यक छ ।” तिनले जे कुरोको खोजी गरिरहेका थिए परमेश्वरले त्यस विषयमा तिनलाई निश्चयता प्रदान गर्नुभयो । तिनले येशू ख्रीष्टबाट पापको क्षमा पाए र त्यस क्षणदेखि उहाँलाई पछ्याउन लागे । पछि तिनले यहूदीबाट ख्रीष्टको अनुयायी बनेकी दबोरा नाउँ गरेकी स्त्रीसित बिहे गरे । परमेश्वरको राज्य बिस्तारमा दुवै जना सक्रिया रूपमा लागिरहे । लुइसले धेरै वर्षसम्म पास्टर बनी सेवा पुर्‍याएका छन् ।

Facebook Comments

Powered by Youth Circle