ख्रिस्टाब्द १८८० मा जेकब स्पाफोर्ड नाउँ गरेका जवान ठिटोले यरूशलेमको पूर्वपट्टि पर्ने सिलवान गाउँमा एउटा शिलालेख फेला पारे जसलाई सिलोआमको शिलालेख भनिन्छ । सिलोआम तलाउमा पानी लैजाने सुरुङ पार गर्ने क्रममा तिनले अकस्मात् उक्त शिलालेख पत्ता लगाएका थिए ।
यहूदाका राजा हिजकियाले आठौँ शताब्दी ख्रिस्टपूर्वमा सिलोआम तलाउको निर्माण गरेका थिए । गीहोन नदीको माथिल्लो मूललाई थुनेर १,७७७ फिट लामो चट्टानको सुरुङमार्फत राजाले यस तलाउमा पानी ल्याएका थिए । अश्शूरीहरूको सम्भाव्य आक्रमणबारे राजा हिजकिया दूरदर्शी थिए । त्यसैले आक्रमणको बेलामा यरूशलेममा पानीको हाहाकार नहोस् भन्ने हेतुले राजाले सुरुङ खनेर पानी ल्याएका थिए ।
यहूदाका तेर्हौँ राजा हिजकियाद्वारा निर्मित सिलोआमको सुरुङको पूर्णताबारे बयान गरिएको यस शिलालेखलाई ७०० ख्रिस्टपूर्वको मिति दिइएको छ । यसको अर्थ हुन्छ कि यो आजभन्दा लगभग २,७०० वर्ष पुरानो शिलालेख हो । प्राचीन हिब्रू भाषामा लेखिएको यस खोजमा जम्माजम्मी ६ ओटा हरफ छन् । १.३२ मिटर चौडाइ र ०.२१ मिटर उचाइ भएको यस शिलालेखलाई हाल टर्कीको इस्तानबुल आर्खियोलोजी म्युजियम्समा राखिएको छ ।
बाइबलीय पुरातत्त्वविद्याको अध्ययनमा सिलोआमको शिलालेख महत्त्वपूर्ण छ । २ राजा २०:२० ले बताउँछ, “हिजकियाको राजकालका अरू घटनाहरू र तिनका सबै उपलब्धिहरू, र तिनले कसरी पोखरी र सुरुङ बनाएर सहरमा पानी ल्याए के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?” नयाँ करारमा सिलोआमको तलाउको उल्लेख येशूको आश्चर्यकर्मसित जोडिएर आएको छ, “यी कुरा भनेर उहाँले भूइँमा थुक्नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो । अनि उहाँले त्यसलाई भन्नुभयो, ‘जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल ।’ त्यसले गएर पखाल्यो, र देख्ने भएर फक्र्यो” (यूहन्ना ९:६–७) ।
आठौँ शताब्दी ख्रिस्टपूर्वका राजा हिजकियाले सुरुङ खनेर यरूशलेममा पानी ल्याएका थिए भन्ने बाइबलीय विवरणसित यो खोज सोर्है आना मेल खान्छ । बाइबलको ऐतिहासिकताको पुष्टि गर्ने यो अर्को महत्त्वपूर्ण खोज हो ।