पुरानो करारको इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एउटा जातिको नाउँ हो— हित्ती । कैयौँ वर्षसम्म बाइबलभन्दा बाहिर यस जातिको बारेमा पुरातत्त्वविद्साथै इतिहासकारहरूलाई केही थाहा थिएन । त्यसैले बाइबलका आलोचकहरूले भन्ने गर्थे कि बाइबलमा हित्ती जातिको उल्लेख बाइबल मिथ्या हो भन्ने प्रमाण हो । बाइबलभन्दा बाहिर अन्य ऐतिहासिक दस्ताबेजहरूमा पनि उल्लेख नभएको र पुरातत्त्वविद्याले पनि यस जातिको बारेमा केही पत्ता नलगाएकोले यो जाति कहिल्यै अस्तित्वमा थिएन भनी बाइबलका आलोचकहरूले तर्क गर्दै आएका थिए । तर ख्रिस्टाब्द १८७६ बाट कैयौँ पुरातात्त्विक खोजहरू प्रकाशमा आएका छन् जसले यस जातिको ऐतिहासिकतालाई पुष्टि मात्र गरेका छैनन्, तर पन्ध्रौँ र सोर्हौँ शताब्दी ख्रिस्टपूर्वमा यो एउटा शक्तिशाली जाति पनि रहेछ भनी प्रमाणित गरेका छन् ।
बाइबलमा हित्ती जातिको बारेमा झन्डै पचास पटक उल्लेख गरिएको छ । बाइबलीय विवरणअनुसार हित्तीहरू हेतका सन्तान थिए (उत्पत्ति १०:१५) । हेत कनानका छोरा थिए जसका पिता हाम थिए जो नोआका तीन जना छोरामध्ये एक हुन् । हित्तीहरूले सिरिया र टर्कीको पूर्वी क्षेत्रमा शासन गरेका थिए । तिनीहरूले सिमानाको लागि मिश्रसाथै बेबिलोनसित लडाइँ गरे । विश्वासका पिता अब्राहाम यस जातिसित परिचित थिए । आफ्नी पत्नी साराको लागि तिनले यस जातिबाट जग्गा किने भनी बाइबलले बताउँछ (उत्पत्ति २३ अध्याय) । हित्ती उरियाह बाइबलमा उल्लिखित एक परिचित नाउँ हो जो दाऊदका एक जना सिपाही थिए (२ शमूएल ११:३) । विभाजित इस्राएल राज्यको शासन अवधिमासाथै निर्वासनबाट यहूदीहरूको फिर्ती हुँदासम्म यस जातिको उल्लेख भएको पाइन्छ (एज्रा ९:१) । वरिपरिको संस्कृतिमा मिसिन गई तिनीहरूले आफ्नो छुट्टै पहिचान गुमाए भनी अनुमान गरिएको छ ।
ए. एच. सेइसले टर्कीमा केही शिलालेखहरू फेला पारे र तिनले आफ्नो खोजसाथै हित्ती जातिको बारेमा द हित्ताइजः द स्टोरी अफ अ फरगटन एम्पाएर नामक पुस्तक लेखे । दस वर्षपछि टर्कीको बोघाज–कुई भन्ने ठाउँमा माटाका पात्रहरू फेला पारिए । जर्मन पुरातत्त्वविद्साथै इतिहासकार ह्युगो विंकलरले ती पात्रहरूको अनुसन्धान गरी ख्रिस्टाब्द १९०६ मा तिनी आफै त्यस ठाउँमा प्रस्थान गरे, थप अध्ययनको लागि । तिनको दलले हजारौँ त्यस्ता माटाका पात्रहरू फेला पारे । बोघाज–कुई हित्ती जातिको राजधानी सहर नै भएको पुष्टि भयो जसलाई सुरुमा हतुसा भनेर चिनिँदोरहेछ । विंकलरको दलले ठुलठुला मन्दिरहरू, बडेमाका चिहानहरूसाथै मजबुत कील्लाहरू पनि पत्ता लगाए ।
यसरी बाइबलका आलोचकहरूद्वारा एक पटक काल्पनिक ठानिएको जातिलाई पुरातात्त्विक खोजले ऐतिहासिक प्रमाणित गरिदिएको छ । यसले एकातिर बाइबलको विशुद्ध ऐतिहासिकतालाई पुष्टि गरिदिएको छ भने अर्कोतिर यसका आलोचकहरूको मुख बन्द गरिदिएको छ ।