पावलका अनुसार येशू पाप बनाइनुभयो, “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो” (२ कोरिन्थी ५:२१) । यस पदमा ‘पाप नचिन्नुहुने’ व्यक्ति येशू हुनुहुन्छ जो हाम्रो खातिर पाप बनाइनुभयो । धर्मशास्त्रको प्रस्ट शिक्षाअनुसार येशू पापरहित हुनुहुन्छ । त्यसो हो भने कसरी पाप बनाइनुभएको हुन सक्छ ?
येशू निष्पाप हुनुहुन्छ भनी बाइबल धर्मशास्त्रमा प्रस्ट रूपमा सिकाइएको छ । येशूका सबैभन्दा नजिकका चेला यूहन्ना येशूको बारेमा लेख्छन्, “पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ । र उहाँमा कुनै पाप छैन” (१ यूहन्ना ३:५) । येशूका अर्का नजिकका चेला पत्रुसले पनि उही तथ्य व्यक्त गरेका छन्, “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन” (१ पत्रुस २:२२) । येशू हामीजस्तै “सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो” (हिब्रू ४:१५) । पावलले पनि येशू ‘पाप नचिन्नुहुने’ व्यक्ति हुनुहुन्थ्यो भनी उही खण्ड (२ कोरिन्थी ५:२१) मा व्यक्त गरेका छन् ।
परमेश्वरले येशूलाई “हाम्रा खातिर पाप बनाउनुभयो” भनी व्यक्त गर्दा पावलको मनमा सायद तीनवटा कुरा थियो । पहिलो, येशूले क्रूसमा सम्पूर्ण मानव-जातिको पापको दोष बोक्नुहुँदा उहाँमाथि परमेश्वरको क्रोध परेको थियो । येशू पापरहित हुनुभए तापनि परमेश्वरले उहाँलाई पापीजस्तै व्यवहार गर्नुभयो । दोस्रो, येशू ख्रीष्ट सिद्ध र अन्तिम पापबलि (लेवी ४:२४; ५:१२) बन्नुभयो । तेस्रो, परमेश्वरको न्यायमा येशू पापको केन्द्र बन्नुभयो ।
यसरी येशूले व्यक्तिगत रूपमा कुनै पाप नगर्नुभए तापनि उहाँ हाम्रा खातिर पाप बनाइनुभयो ।