“विज्ञान र परमेश्वरको सन्दर्भमा आधुनिक विज्ञान मूलत: ख्रीष्टियान वैज्ञानिहरूद्वारा स्थापना गरियो भनी ख्याल गर्नु प्रासङ्गिक हुन्छ । ख्रीष्टियान परमेश्वर अर्थात् बौद्धिक चेतनाद्वारा यो विश्वको सृजना गरियो भन्ने तिनीहरूको विश्वास थियो । तसर्थ विश्वमा बौद्धिक अनुसन्धान गर्न सकिन्छ अर्थात् यो परीक्षणीय छ ।” यो डज साइन्स पोइन्ट टु गड ? (इज देएर साइन्टिफिक एभिडेन्स फर गड ?) (के विज्ञानले परमेश्वरलाई औँल्याउँछ ? (के परमेश्वरको लागि वैज्ञानिक साक्षी छ ?) नामक पुस्तकबाट साभार गरिएको अंश हो ।
जोन एम. किन्सोनद्वारा रचित यो परमेश्वरको अस्तित्वको पक्षमा लिखित कृति हो । पुस्तक पठन यात्रामा यो मेरो ३६ औँ पुस्तक हो । लेखक पहिले नास्तिक थिए, तर अनुसन्धानपश्चात् आस्तिक हुँदै ख्रीष्टियान बने । ३४५ पृष्ठ लामो यो पुस्तकलाई पढेर सिद्ध्याउन मलाई ९ दिन (मे २५-जुन १) लाग्यो । यो २०१५ मा प्रकाशित कृति हो । यो पुस्तकमा लेखकले आधुनिक विज्ञानले हामीलाई परमेश्वरतर्फ डोर्याउँदै छ भनी तर्क गरेका छन् र गहकिला वैज्ञानिक साक्षीहरू पेस गरेका छन् । परमेश्वरको पक्षमा नोबेल पुरस्कार विजेताहरूका भनाइहरू समावेश गर्नुका अतिरिक्त लेखकले इतिहासका मनग्गे ख्रीष्टियान वैज्ञानिकहरूको सङ्क्षिप्त जानकारी पनि उल्लेख गरेका छन् । परमेश्वरको अस्तित्वको पक्षमा विविध वैज्ञानिक साक्षी छन् जसमध्ये लेखकले यस पुस्तकमा चारवटालाई विशेष ध्यान दिएका छन् ।
(१) महाविस्फोट
विज्ञानको इतिहासमा ख्रिस्टाब्द १९२७ सम्झनलायक वर्ष साबित भयो किनकि उक्त सालमा यो विश्व (युनिभर्स) अनन्त नभई यसको थालनी भएको थियो र यो फैलिरहेको छ भन्ने प्रस्तावका साथ वैज्ञानिक जर्ज लेमात्रेले शोधपत्र प्रकाशित गरे । विश्व फैलिरहेको छ भन्ने तिनको प्रस्ताव अमेरिकी खगोलविद् एडविन पावेल हब्बलद्वारा चाँडै नै पुष्टि भयो । तिनको धारणालाई अहिले “महाविस्फोट सिद्धान्त” भनेर चिनिन्छ । वैज्ञानिक लेमात्रे ख्रीष्टियान पादरी थिए ।
बिसौँ शताब्दीका अगिल्ला दसकहरूसम्म पनि यो विश्व अनन्त छ भनी मानिन्थ्यो । वैज्ञानिकहरूले पत्ता लगाएका “नियमहरू” ले विश्व आफै चलिरहेको जस्तो देखिन्थ्यो । लाग्थ्यो, सृष्टिकर्ता वा पालनकर्ताको लागि कुनै ठाउँ थिएन । यो विश्व अनन्त छ अर्थात् यसको आदि पनि छैन र अन्त पनि छैन भनेर वैज्ञानिकहरूले स्वीकार गर्दै आएका थिए । यस्तै दृश्यमा जर्ज लेमात्रेको ‘महाविस्फोट सिद्धान्त’ प्रतिपादित भएको थियो । झन्डै १४ अरब वर्षअगि यो सारा विश्व अस्तित्वमा आएको थियो भनी आज प्राय: सबै वैज्ञानिकहरू विश्वास गर्छन् । सम्पूर्ण पदार्थ, शक्ति, अन्तरिक्षसाथै समय सृष्टिमा अस्तित्वमा आए । यी सबै थोक आफै अस्तित्वमा आउन नसक्ने भएकाले यो विश्वको सुरुआतको पछाडि एउटा कारण हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ ।
(२) विश्वको व्यवस्थितपना
यो विश्व अस्तित्वमा मात्र छैन, तर विस्मयकारी ढङ्गमा व्यवस्थित पनि छ । एउटा उदाहरण हेरौँ । पृथ्वीदेखि सूर्य ९ करोड ३० लाख माइल टाढा छ । यदि पृथ्वी शुक्र ग्रहजत्तिकै नजिकै भइदिएको भए हामीले सूर्यको तापलाई सहन सक्दैनथ्यौँ । अर्कोतिर, यदि यो मंगल ग्रहजत्तिकै टाढा भइदिएको भए प्रत्येक रात हामीले हिउँको वर्षा सहनुपर्थ्यो । यसको अर्थ हुन्छ कि तपाईं र मेरो जीवनको लागि पृथ्वी र सूर्यबिचको दूरी एकदमै ठिक छ । व्यवस्थित वस्तु आफै अस्तित्वमा आउन नसक्ने भएकोले त्यसको पछाडि बुद्धिमान रचनाकार हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ ।
(३) जीवको सुरुआत
करिब चार अरब वर्षअगि जीव यस पृथ्वीमा देखा परेको थियो भनी प्राय: सबै वैज्ञानिकको विश्वास रहेको छ । जीव कि आफै अस्तित्वमा आएको हुनुपर्छ कि भने कसैको गुरु योजनामुताबिक देखा परेको हुनुपर्छ । वैज्ञानिक दृष्टिकोणबाट जीव आफै अस्तित्वमा आउन सक्ने सम्भावना न्युन छ । परमेश्वरको अस्तित्वविना जीवको आरम्भलाई व्याख्या गर्न सकिँदैन ।
अजैविक पदार्थबाट जीवको उदय हुँदैन भनी जीव विज्ञानले प्रमाणित गरिसकेको छ । प्रथम जीवको उदयको विषयमा जीवशास्त्रसित कुनै वैज्ञानिक व्याख्या छैन । तसर्थ अलौकिक व्याख्याको अपेक्षा गर्नु न्यायसङ्गत नै हुन्छ । हालसम्म उपलब्ध साक्षीको आधारमा अलौकिक कार्यद्वारा यस धरतीमा प्रथम जीवको उत्पत्ति भएको थियो भन्ने अवधारणा नै सबैभन्दा जायज निष्कर्ष हो ।
(४) डीएनए
जीवित कोषभित्र अथाह जानकारी भण्डारण भएको छ भनी हालैका खोजहरूले प्रकट गरेका छन् । यो जानकारी डीएनएभित्र पाइन्छ । ख्रिस्टाब्द १९५३ मा वैज्ञानिकद्वय फ्रान्सिस क्रिक र जेम्स वाटसनले डीएनए पत्ता लगाएसँगै जीवबारे हाम्रो बुझाइमा आमूल परिवर्तन आयो ।
यो सम्पूर्ण विश्व कहाँबाट आयो ? यो विश्व किन व्यवस्थित छ ? जीव कसरी अस्तित्वमा आयो ? डीएनएमा भण्डारण गरिएको जानकारी कहाँबाट आयो ? यी सबैको जवाफ पाइन्छ, परमेश्वरको अस्तित्वमा । उहाँको अस्तित्वलाई इन्कार गर्नेहरूले यी प्रश्नहरूको तर्कसङ्गतसाथै वैज्ञानिक जवाफ दिन सक्दैनन् । उहाँको अस्तित्वको स्वीकारमा यी सबै प्रश्नको जवाफ पाइन्छ । के विज्ञानले परमेश्वरतर्फ डोर्याउँछ ? जवाफ हुन्छ— डोर्याउँछ ।