शिशु-हत्याको रोक ख्रीष्टियान शिक्षाको अर्को सकारात्मक नतिजा

प्रतिष्ठित इतिहासकार विलियम ई. एच. लेकीले व्यक्त गरेका छन्, “शिशु-हत्या प्राचीन सभ्यताको एउटा गहनतम दाग थियो ।”[i] तिनले त्यसोभन्दा बढाइचढाइँ गरेका थिएनन् । अर्का लेखक फ्रेडरिक फरारले पनि बताएका छन् कि ख्रिस्टियमतका प्रारम्भिक वर्षहरूमा ग्रिकसाथै रोमीहरूका बिचमा शिशु-हत्या कुख्यात रूपमा विश्वव्यापी थियो ।[ii]

जानाजानी शिशुको ज्यान लिने कार्यलाई शिशु-हत्या भनिन्छ । ग्रिक-रोमी संस्कृतिमा मात्र नभएर संसारका अन्य मनग्गे संस्कृतिहरूमा पनि शिशु-हत्या सामान्य कुरो थियो भनी ऐतिहासिक खोजले प्रकट गरेको छ । हरेक महादेशमा यसको अभ्यास गरिन्थ्यो । रोममा एउटा रोमी नागरिकलाई मार्नु हत्या मानिन्थ्यो तर आफ्नै छोराछोरी मार्ने कामको भने तारिफ गरिन्थ्यो । यसका अतिरिक्त पिताको छोराछोरीमाथि पूर्ण अधिकार हुन्थ्यो । उसले तिनीहरूलाई दासदासी बनाएर बेच्न सक्ने मात्र होइन, तर मार्न पनि सक्थ्यो ।[iii]

हाम्रा दुवै छिमेकी मुलुक भारत र चीन अनि जापान र ब्राजिलका जङ्गलसाथै एस्किमोस जातिहरूका बिचमा शिशु-हत्या सामान्य अभ्यास थियो । अफ्रिकाका प्रायः भूभागहरूमा मात्र यसको अभ्यास गरिएको थिएन, तर उत्तर र दक्षिण अमेरिकाका आदिवासीहरूका बिचमा पनि यो परिचित थियो । असभ्य जातिहरूका बिचमा मात्र नभएर सभ्य भन्नेहरूका बिचमा पनि शिशु-हत्या विद्यमान थियो ।[iv]

विविध कारणले गर्दा शिशुहरूको हत्या गरिन्थ्यो । शारीरिक अपाङ्गता भएकाहरू यसको सिकार हुने गर्थे । केहीलाई पानी डुबाएर मारिन्थ्यो त केहीलाई निर्दयतापूर्वक । दार्शनिक सिसेरो (१०६-४३ ख्रिस्टपूर्व) ले शारीरिक अपाङ्गता भएका शिशुहरूको हत्यालाई अनुमोदन गरेको पाइन्छ ।[v] अर्का दार्शनिक सेनेका (करिब ख्रिस्टपूर्व ४-ख्रिस्टाब्द ६५) को नैतिक दर्शनशास्त्र आफ्नो समयको संस्कृतिको भन्दा उच्चतर भए तापनि तिनले भनेका थिए, “जन्मेको समयमा कमजोर र अस्वाभाविक भएका शिशुहरूलाई हामीले डुबाएर मार्थ्यौं”[vi] खास गरी छोरीहरू शिशु-हत्याको सिकार हुने गर्थे । प्राचीन ग्रिसमा धनी परिवारमा पनि एकभन्दा बढी छोरीलाई हुर्काउनु दुर्लभ अभ्यास थियो ।[vii]

अफ्रिकी मुलुक नाइजेरियामा जुम्ल्याहा बच्चा मार्ने चलन थियो । त्यहाँका स्थानीहरूको विश्वासअनुसार आमाले जुम्ल्याहा बच्चा जन्माएकी खण्डमा एउटा शैतान हुनेथियो । त्यसैले दुवै बच्चालाई माटोको भाँडोमा राखी मरुन् भनी जङ्गलमा छाडिन्थ्यो । नाइजेरियामा येशूको सुसमाचार लिएर गएकी मिसनरी मेरी स्लेसरको प्रयासमा यस्तो कुप्रथामा पूर्ण विराम लागेको थियो ।[viii]

प्राचीन ख्रीष्टियानहरूका लागि शिशु-हत्या अमान्य थियो । शिशुहरू परमेश्वरका सृष्टि थिए । यसका अतिरिक्ति बालकहरूप्रति ख्रीष्टको उच्च दृष्टिकोणबारे तिनीहरू सचेत थिए, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक । किनभने स्‍वर्गको राज्‍य यस्‍तैहरूको हो” (मत्ती १९:१४) ।

आदि ख्रीष्टियान साहित्यले शिशु-हत्याको बारम्बार निन्दा गरेको छ । पहिलो शताब्दीमा लिखित प्रेरितहरूको शिक्षा अर्थात् डिडाकेले ख्रीष्टियानहरूलाई शिशु-हत्या नगर्न आज्ञा दिएको छ ।[ix] तर्तुलियन, अथेनागोरस, म्युनिसियस फेलिक्स,  जस्टिन मार्टरसाथै लेक्टानियसजस्ता ख्रीष्टियान रक्षाशास्त्रीहरूले शिशु-हत्यालाई दुष्ट काम भनेका छन् । ख्रिस्टाब्द ३१८ मा ख्रीष्टियान सम्राट् कन्स्टेन्टाइन महान्‌ले शिशु-हत्यालाई अपराध ठाने र ३७४ मा अर्का सम्राट् भ्यालेन्टाइन प्रथमले सबै बालबालिकालाई हुर्काउनुपर्छ भनी उर्दी जारी गरे । कन्स्टेनटिनोपलको परिषद्ले शिशु-हत्यालाई मानव हत्या भनी घोषणा गरेको थियो ।[x]

किन ख्रीष्टियाहरू शिशु-हत्याको विरुद्धमा खडा रहे ? किनकि तिनीहरूले “हत्या नगर्नू” भन्ने परमेश्वरको आज्ञा (प्रस्थान २०:१३) लाई आदर गर्न चाहेका थिए । शिशु-हत्याको रोक ख्रीष्टियान शिक्षाको अर्को एउटा नतिजा हो ।

 

सन्दर्भ स्रोतहरूः

[i]     William E. H. Lecky, History of European Morals: From Augustus to Charlemagne (New York: Vanguard Press, 1927), 2:24.

[ii]     Frederic Farrar, The Early Days of Christianity (New York: A. L. Burt Publishers, 1882), 71.

[iii]     D. James Kennedy and Jerry Newcombe, What If Jesus Had Never Been Born? [Kindle Version]. Retrieved from Amazon.com

[iv]     https://en.wikipedia.org/wiki/Infanticide

[v]     De Legibus 3.8

[vi]     De Ira 1.15

[vii]    Alvin J. Schmidt, How Christianity Changed the World [Kindle Version]. Retrieved from Amazon.com

[viii]    https://en.wikipedia.org/wiki/Mary_Slessor#Among_the_Okoyong_and_Efik

[ix]     Schmidt, How Christianity Changed the World [Kindle Version].

[x]     https://en.wikipedia.org/wiki/Infanticide#Christianity

Facebook Comments

Powered by Youth Circle