के जन्मैको दृष्टिविहीन मानिस आमा-बुबाको पापको कारण दृष्टिविहीन जन्मिएको थियो (यूहन्ना ९:१-७) ?

येशू यरूशलेममा जाँदै गर्नुहुँदा उहाँले एक जना जन्मैदेखिको दृष्टिविहीन मानिसलाई देख्नुभयो । तब चेलाहरूले सोधे, “रब्‍बी, कसले पाप गर्‍यो, यसले कि यसका आमा-बुबाले, र यो अन्‍धो जन्‍म्‍यो?” (पद २) । चेलाहरूको प्रश्नबाट तिनीहरूको दृष्टिकोण झल्कन्छ ।

बाइबलीय समयका यहूदी ईश्वरशास्त्रीहरूका अनुसार जन्मैदेखिको अपाङ्गताका लागि दुईवटा कारण थिए: (१) प्रसव-वेदनापूर्वको पाप (यो जन्मअगिको पाप थियो, तर गर्भधारणअगिको भने होइन), (२) बुबा-आमाको पाप । गर्भवती महिलाले गैरयहूदी मन्दिरमा आराधना गर्दा भ्रूणले पनि मूर्तिपूजा गरेको ठहरिन्थ्यो भनी तिनीहरू दाबी गर्थे । बुबा-आमाको पापको नतिजा छोरा-छोरीले भोग्नुपर्थ्यो भनेर पनि तिनीहरू विश्वास गर्थे (प्रस्थान २०:५; भजनसंग्रह १०९:१४; यशैया ६५:६-७) । चेलाहरूले यस दृष्टिविहीन मानिसलाई देख्दा तिनीहरूको निष्कर्ष यी दुईमध्ये एक थियो: कि त्यसका बुबा-आमाले डरलाग्दो पाप गरेका हुनुपर्छ कि भने त्यो गर्भमा छँदा त्यसकी आमा कुनै गैरयहूदी मन्दिरका गएकी हुनुपर्छ ।

तर चेलाहरूको गलत बुझाइलाई येशूले सुधार्नुभयो, “न त यसले पाप गर्‍यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्‍वरको काम यस मानिसको जीवनमा प्रकट होस्‌” (पद ३) । येशूले पापको विश्वव्यापकता (रोमी ३:२३) लाई इन्कार गर्नुभएको होइन, तर उहाँको भनाइको मतलब यही हो कि त्यो मानिसको दृष्टिविहीनता कुनै खास पापको नतिजास्वरूप देखा परेको होइन । परमेश्वरको महिमा होस् भन्नाका लागि त्यो मानिस दृष्टिविहीन भएर जन्मेको थियो ।

Facebook Comments

Powered by Youth Circle