येशूले गोप्य रूपमा प्रार्थना गर्न आज्ञा दिनुभयो, “तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ” (मत्ती ६:६) । के हाम्रो प्रार्थना गुप्तमा नै हुनुपर्छ ? के ख्रीष्टियानहरूले सार्वजनिक रूपमा प्रार्थना चढाउन सक्दैनन् र ?
बाइबलमा सार्वजनिक रूपमा प्रार्थना गरिएका नमुनाहरू पाइन्छन् । राजा सोलोमनले सारा जाति र आफ्नै लागि सार्वजनिक रूपमा प्रार्थना गरे, “तब जम्मै इस्राएलका समुदायको सामुन्ने परमप्रभुका वेदीको अगि उभिएर सोलोमनले आफ्ना हात स्वर्गतिर उचाले, र भने” (१ राजा ८:२२-२३) । इस्राएलीहरू बेबिलोनी निर्वासनबाट फर्केपछि एज्राले जोडदार प्रार्थना चढाए, “जब एज्रा परमप्रभुका भवनको अगि लम्पसार पर्दै, प्रार्थना गर्दै, पश्चात्ताप गर्दै र रुँदैथिए, तब इस्राएलको एउटा ठूलो भीड- पुरुष, स्त्री र केटाकेटीहरू— तिनको चारैतिर भेला भए । तिनीहरू पनि धुरुधुरु रोए” (एज्रा १०:१) । नयाँ करारमा पावलले पनि सार्वजनिक प्रार्थनाको लागि बिन्ती गरेका छन्, “यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून् भन्ने म चाहन्छु” (१ तिमोथी २:८) । एकातिर परमेश्वरका जनहरूले सार्वनजिक रूपमा प्रार्थना चढाएका छन् र अर्कोतिर हामीलाई पनि सार्वजनिक रूपमा प्रार्थना चढाउन आज्ञा गरिएको छ भने हामीले ‘ढोका थुनेर गुप्तमा’ प्रार्थना गर्नुपर्छ भन्नुहुँदा येशूको भनाइको मतलब के हो ?
प्रार्थना ख्रीष्टियान जीवनको एउटा महत्त्वपूर्ण पक्ष हो । सार्वजनिक रूपमा प्रार्थना चढाउँदा येशूको समयका धार्मिक अगुवाहरूको मनसाय गलत थियो । प्रार्थनालाई व्यक्ति र परमेश्वरकोबिचको विषय बनाउनको साटो फरिसीहरूले मानिसहरूले देखुन् भनेर प्रार्थना गर्थे । तिनीहरू आफ्ना कथित् धार्मिकता प्रदर्शन गर्न चाहन्थे । तिनीहरूका प्रार्थना परमेश्वरतिर लक्षित नभई मानिसहरूतिर लक्षित हुन्थ्यो ।
येशूले सार्वजनिक प्रार्थनाको निन्दा गर्नुभएको होइन, तर देखावटी प्रार्थनाको । उचित सार्वनजिक स्थानहरूमा प्रार्थना गर्नुमा कुनै भुल छैन । येशूले यहाँ प्रार्थनाको स्थानभन्दा पनि प्रार्थनाको मनसायबारे सिकाउँदै हुनुहुन्छ । हाम्रो प्रार्थना मानिसहरूले देखुन् भन्ने नभई परमेश्वरले सुनुन् भन्ने हुनुपर्छ ।