मानव अधिकारको धारणामाथि बाइबलको प्रभाव

१० डिसेम्बर १९४८ ऐतिहासिक दिन थियो किनकि उक्त दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा हस्ताक्षर गरियो । संयुक्त राष्ट्रसङ्घका तत्कालीन ५८ ओटा सदस्य राष्ट्रमध्ये ४८ ओटा मुलुकले यसको पक्षमा मत खसाल्यो, आठवटा अनुपस्थित थियो, दुईवटाले मत दिएन भने कुनै पनि देश यसको विरुद्धमा उठेन । फ्रान्सको राजधानी पेरिसमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले उक्त घोषणा पारित गरेको थियो । मानव अधिकार सम्मानको सुनिश्चित गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको घोषणामुताबिक ५२ वर्षपछि ख्रिस्टाब्द २००० मा नेपालमा पनि राष्ट्रिय मानव अधिकार आयोग स्थापना भयो ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा ३० ओटा धारा रहेका छन् । सबै व्यक्ति जन्मजात स्वतन्त्र छन् अनि अधिकार र महत्त्वमा समान् छन् (धारा १) । कुनै पनि व्यक्तिलाई जाति, वर्ण, लिङ्ग, भाषा, धर्म आदिको आधारमा भेदभाव गरिनुहुँदन (धारा २) । हरेक व्यक्तिमा जीवन र आत्मरक्षाको स्वतन्त्रता भएकोले (धारा ३) दासप्रथा र यातना निषेधित छन् (धारा ४ र ५) । कानुनको दृष्टिमा सबै समान भएकाले अदालतको सुनुवाइपछि मात्र स्थापित कानुनअनुसार व्यक्तिलाई दण्डाज्ञा तोकिन सक्छ (धारा ७-११) । हरेक व्यक्तिलाई बसाइँ सरी कुनै पनि ठाउँमा गएर बस्ने छुट छ (धारा १३) र उसले शरणको लागि अर्को मुलुकलाई अनुरोध गर्न सक्छ (धारा १४) । हरेक व्यक्तिलाई आफ्ना पति वा पत्नीको छनोट गरी परिवारको स्थापना गर्ने अधिकार छ जुन समाजको नैसर्गिक र आधारभूत एकाइ हो (धारा १६) । घोषणापत्रअनुसार हरेकलाई सम्पत्ति राख्ने अधिकार छ (धारा १७) । प्रत्येक व्यक्तिमा विचार, मत र धर्मको स्वतन्त्रता मात्र छैन, तर आफ्नो धर्म वा आस्थालाई बद्लने स्वतन्त्रता पनि छ (धारा १८) । हरेक व्यक्तिमा अभिव्यक्ति स्वतन्त्रता (धारा १९), शान्तिपूर्ण भेला गर्ने छुट (धारा २०) र भोट हाल्ने अधिकार छ (धारा २१) । हरेकलाई सामाजिक सुरक्षाको अधिकार (धारा २२, २५, २८), स्वेच्छापूर्वक काम गर्ने हक (धारा २३) र शिक्षाको अधिकार छ (धारा २६) ।

कुनै पनि व्यक्तिलाई जाति, वर्ण, लिङ्ग, भाषा, धर्म आदिको आधारमा भेदभाव गरिनुहुँदैन भन्ने मानव अधिकारको विश्वव्यापी घोषणाको आधारचाहिँ के हो ? मानव-जाति परमेश्वरको स्वरूपमा सृजित प्राणी हुन् भन्ने धारणा समानताको आधार होइन भने केचाहिँ हो त ? मानिसबारे ख्रीष्टियान धारणामा यसको उत्तर पाइन्छ ।

सृष्टिको कथासँगै बाइबलको थालनी हुन्छ । परमेश्वरले शून्यताबाट विश्वलाई अस्तित्वमा ल्याउनुभयो अनि मानिसलाई सृष्टि गर्नुभयो । सम्पूर्ण प्राणी जगत्‌मा मान्छे अद्वितीय प्राणी मात्र होइन, ऊ सृष्टिको श्रीपेच पनि हो । “फेरि परमेश्‍वरले भन्‍नुभयो, ‘मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌ ।’ यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो । परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो” (उत्पत्ति १:२६-२७) ।

सृष्टि परमेश्वरको महिमाको लागि हो । परमेश्वरले मान्छेलाई सृष्टिमाथि शासन गर्ने अधिकार मात्र दिनुभएको छैन, तर यसको सुरक्षा गर्ने जिम्मेवारी पनि । भजनका लेखक व्यक्त गर्छन्, “आफ्‍नो हातका कामहरूमाथि तपाईंले त्‍यसलाई शासक बनाउनुभएको छ । सबै थोक तपाईंले त्‍यसका पैतालामुनि राखिदिनुभएको छ– सबै भेडाबाख्रा र गाई-गोरु र वनका सबै पशुहरू, आकाशका पक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्‍तुहरू” (भजनसंग्रह ८:६-८) ।

व्यक्तिको सुरक्षाको निम्ति जन्मिएको मानव अधिकारको विचार ख्रीष्टियान धारणाबाट व्युत्पन्न भएको हो भन्ने तथ्यमा कसैले वादविवाद नगर्ला । ख्रिस्टाब्द १९४८ मा व्यक्त घोषणाले स्पष्ट रूपमा ख्रीष्टियान स्रोतलाई प्रदर्शन गर्छ । दासप्रथा र यातनाको उन्मूलन, कानुनको दृष्टिमा समानताको सिद्धान्त, विश्राम र मनोरञ्जनको अधिकारजस्ता अवधारणा ख्रीष्टियान परम्पराबाट आएका हुन्, कुनै देशको सरकारले संयोगवश: सृजना गरेको होइन । मानव अधिकारको अवधारणा ख्रीष्टियान सिद्धान्तमा आधारित भएकोले सुरुमा केही मुस्लिम राष्ट्रहरूले हस्ताक्षर गर्न इन्कार गरेका थिए । अत्यधिक धेरै मुसलमानहरूको जनसङ्ख्या भएको धर्म निरपेक्ष मुलुक टर्कीले १९४८ मा नै घोषणापत्रमा हस्ताक्षर गरे तापनि मुसलमानहरूको ‘सारिआ व्यवस्था’ सित जुध्छ भन्दै साउदी अरबचाहिँ अनुपस्थित भएको थियो । अर्कोतिर घोषणापत्रमा हस्ताक्षर नगर्ने साउदीको अडानसित पाकिस्तान असहमत मात्र भएन, तर उसले साउदीको आलोचनासमेत गर्‍यो । मानव अधिकारको अवधारणा ख्रीष्टियान थियो भनी दार्शनिक कार्ल मार्क्सले पनि बुझेका थिए, त्यसैले ख्रिस्टियमतको उपज भएकोले तिनले यसलाई इन्कार गरे ।

ख्रिस्टियमत र खास गरी बाइबलमा हामी मानव अधिकारको विश्वव्यापी घोषणाको स्रोत पाउँछौँ । सारा मानव-जाति परमेश्वरको स्वरूपमा सृजित प्राणी हुन् भन्ने सत्यतामा अडेर दासप्रथाको उन्मूलनको वकालत गरियो । सम्पूर्ण स्त्री जाति परमेश्वरको प्रतिरूप भएकाले समान भुक्तानी र मताधिकारको लागि युद्ध छेडियो । सम्पूर्ण बालबालिका परमेश्वरका प्रतिरूप भएकाले बालश्रमको विरुद्धमा लडाइँ लडियो ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र मानव इतिहासमा एउटा कुसेढुङ्गो थियो । लेबनानी दार्शनिकसाथै कुटनीतिज्ञ चार्ल्स मलिकले यसलाई “महत्त्वको दृष्टिकोणबाट अग्रस्थानमा पर्ने अन्तर्राष्ट्रिय दस्ताबेज” भने । त्यस्तै एलिनोर रुजरभेल्ट मानव अधिकार आयोगकी प्रमुख बन्ने प्रथम नारी हुन् जसको भनाइअनुसार यसलाई “जुनसुकै ठाउँमा भएका सम्पूर्ण मानिसहरूको अन्तर्राष्ट्रिय म्याग्ना कार्टा [अर्थात् स्वतन्त्रताको महान्-परिपत्र] भन्न सकिन्छ”

बाइबलअनुसार मान्छे बेग्लै छ । यस ग्रहका अन्य सबै प्राणीभन्दा ऊ फरक छ किनकि ऊ परमेश्वरको स्वरूप हो । यही कारणले गर्दा मान्छे मूल्यवान् छ, महत्त्वपूर्ण छ । सरकारले मानव अधिकारको पहिचान गरे पनि नगरे पनि मान्छे मूल्यवान् छ । हामीसित यो अधिकार हुनुको कारण हामी योग्य भएकाले होइन, न हामीले यो कमाएका कारणले गर्दा हो । हामी सेतो वा कालो, पुरुष वा स्त्री, क्षेत्री वा विक, नेपाली वा अमेरिकी भएकाले हामीसित मानव अधिकार भएको होइन । हामी परमेश्वरको स्वरूपमा सृष्टि गरिएकाले हामीसित यो अधिकार भएको हो । तसर्थ हरेक व्यक्ति अन्तर्निहित रूपमा मूल्यवान् छ ।

 

लेखक परिचय: कमल अधिकारी बाइबल शिक्षक, लेखक तथा अनुवादक हुन् । ९ ओटा पुस्तकका लेखक तिनले ७७ ओटा पुस्तक-पुस्तिका अनुवाद गर्नुका अतिरिक्त १७५ ओटाभन्दा बढी पुस्तक-पुस्तिका सम्पादन गरिसकेका छन् । ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने तिनी आफूलाई रक्षाशास्त्री भन्न रुचाउँछन् ।

Facebook Comments

Powered by Youth Circle