के बाइबलले तीनवटा स्वर्गको उल्लेख गर्छ (२ कोरिन्थी १२:१) ?

पावलले चिनेका एक जना मानिस (तिनी आफै ?) तेस्रो स्वर्गसम्म उचालिए भनी तिनले बताएका छन् (२ कोरिन्थी १२:१) । तिनले ‘तेस्रो स्वर्ग’ भनी उल्लेख गरेकाले तिनको भनाइबाट प्रस्ट हुन्छ कि पहिलो र दोस्रो स्वर्ग पनि अस्तित्वमा छन् ।

आज हामीले विश्व अर्थात् युनिभर्सलाई जुन दृष्टिकोणबाट बुझ्दछौँ प्राचीन समयका मानिसहरूले त्यसरी बुझ्दैनथ्ये । तिनीहरूले त्यसरी नै लेखे जसरी तिनीहरूले बुझे । स्वर्गको बारेमा उल्लेख गर्ने पदहरूलाई एकत्रित गरी अध्ययन गर्दा हामी यही निष्कर्षमा पुग्छौँ कि बाइबलले तीनवटा बेग्लाबेग्लै स्वर्गको चर्चा गरेको छ ।

१. पहिलो स्वर्ग— पृथ्वीको वायुमण्डल

पहिलो स्वर्गमा पृथ्वीको वरिपरिको वायुमण्डल पर्दछ । प्राविधिक भाषामा यसलाई न्यूनमण्डल (अर्थात् ट्रोपोस्फेएर) भनिन्छ । यो पृथ्वीको वायुमण्डलको सबैभन्दा तल्लो भाग हो । यो पृथ्वीको सतहदेखि झन्डै बिस माइल माथिसम्म फैलिएको छ । यो त्यही स्थान हो जहाँ हामी सास फेर्छौं; हामीले वृष्टि पाउँछौँ अनि चराचुरुङ्गीहरू रमाउँछन् । यस स्वर्गको बारेमा चर्चा गर्ने तलका यी केही पदहरू हुन्ः

  • परमप्रभुले आकाश [अङ्ग्रेजीमा ह्याभेन्स अर्थात् स्वर्ग], आफ्नो प्रशस्तताको भण्डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष् दिनुहुनेछ । तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ (व्यवस्था २८:१२) ।
  • तिनले फेरि प्रार्थना गरे, र आकाश [अङ्ग्रेजीमा ह्याभेन अर्थात् स्वर्ग] बाट वर्षा भयो, र भूमिले उब्जनी दियो (याकूब ५:१८) ।

२. दोस्रो स्वर्ग— अन्तरिक्ष

यो पृथ्वीको वायुमण्डलभन्दा बाहिरको स्थान हो जसलाई अन्तरिक्ष भनिन्छ । यहीँ नै सूर्य, चन्द्रमासाथै ताराहरू छन् ।

  • तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन् । उहाँले आकाश [अङ्ग्रेजीमा ह्याभेन्स अर्थात् स्वर्ग] मा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ (भजनसंग्रह १९:४) ।
  • आकाश [अङ्ग्रेजीमा ह्याभेन अर्थात् स्वर्ग] का ताराहरू र तिनका तारापुञ्जले आफ्नो चमक दिनेछैनन् । सूर्य पनि उदय हुँदाहुँदै अँध्यारो हुनेछ, र चन्द्रमाले ज्योति दिनेछैन (यशैया १३:१०) ।

३. तेस्रो स्वर्ग— परमेश्वरको वासस्थान

यो त्यो ठाउँ हो जहाँ परमेश्वर बास गर्नुहुन्छ । परमेश्वर सर्वव्यापी हुनुभएकोले उहाँ कुनै एउटा निश्चित भूगोलमा सीमित नहुनुभए तापनि उहाँ स्वर्गमा बास गर्नुहुन्छ भनी धर्मशास्त्रले बताउँछ ।

  • यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् (मत्ती ५:१६) ।
  • अब हामीले भन्न चाहेको कुराचाहिँ यही होः हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् परमेश्वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ (हिब्रू ८:१) ।

माथिका यी खण्डहरूबाट हामी बुझ्छौँ कि बाइबल धर्मशास्त्रमा तीनवटा बेग्लाबेग्लै किसिमका स्वर्गको उल्लेख गरिएको छ यद्यपि नेपाली पवित्र बाइबलमा पहिलो र दोस्रो किसिमको स्वर्गलाई उल्लेख गर्न “आकाश” भनी अनुवाद गरिएको छ । पृथ्वीको वरिपरिको वायुमण्डल पहिलो स्वर्ग हो जहाँबाट हामी वृष्टि पाउँछौँ । त्यसभन्दा माथिको भाग दोस्रो स्वर्ग अर्थात् अन्तरिक्ष हो जहाँ सूर्यलगायतका आकाशीय पिण्डहरू छन् । तेस्रो स्वर्ग परमेश्वरको वासस्थान हो ।

Facebook Comments

Powered by Youth Circle