सृष्टिकर्ताको विज्ञान र बुद्धि

आफ्नो पुस्तकको पहिलो अध्यायमा ख्रीष्टियान रक्षाशास्त्रका सहयोगी प्राध्यापक लेखिका मेलिसा क्यारिन ट्राभिसले व्यक्त गरेकी छन्, “ईश्वरवादको लागि आधुनिक विज्ञानसित सम्बन्धित एउटै निकै सामान्य अवरोध हो— ‘परमेश्वरको अस्तित्वको लागि साक्षीको एउटा टुक्रा पनि छैन ।’ यो कुरो साँचो हो कि वैज्ञानिक रूपमा हामी परमेश्वरको अस्तित्वलाई न प्रमाणित गर्न सक्छौँ, न त अप्रमाणित । तसर्थ विज्ञानले परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्छ कि गर्दैन भनेर प्रश्न गर्नुभन्दा बरु उहाँको अस्तित्वले उपलब्ध साक्षीलाई बढी अर्थ दिन्छ वा दिँदैन भनेर सोध्नुचाहिँ सही प्रश्न हुन्छ ।”

पुस्तकको नाउँ हो— साइन्स एन्ड द माइन्ड अफ द मेकर: ह्वाट द कन्भर्सेसन बिटविन फेथ एन्ड साइन्स रिभिल्स अबाउट गड । २२४ पृष्ठको यो पुस्तक ख्रिस्टाब्द २०१८ मा प्रकाशित भएको थियो । ११ अध्यायमा विभाजित यो पुस्तकले वैज्ञानिक दृष्टिकोणबाट सृष्टिकर्ताको पक्षमा वकालत गर्छ ।

यो वर्ष मैले पढेर सिद्ध्याएको यो पाँचौँ पुस्तक हो । मलाई यो पुस्तक सक्न १२ दिन (मार्च १-१२) लाग्यो ।

लेखिकाले तीनवटा तरिकाले सृष्टिकर्ताको पक्षमा तर्क गरेकी छन्: आधुनिक वैज्ञानिक साक्षीको प्रयोग, हाम्रो विश्वसाथै सौर्यमण्डलका मनग्गे विशेषताहरूको व्याख्या अनि तर्कसङ्गत चेतनाको आवश्यकता ।

विश्वमा उपलब्ध साक्षीहरूले सृष्टिकर्ता अर्थात् परमेश्वरलाई अङ्कित गर्छन् भनी लेखिकाले तर्क गरेकी छन् । विश्वको सुव्यवस्थित रचनाको लागि सर्वोत्कृष्ट व्याख्या के हो ? रचनाकार । प्राकृतिक विज्ञानमा गरिएका खोजहरूले विश्वको पछाडि चेतनाको अस्तित्व छ भन्ने निष्कर्षको समर्थन गर्छन् । विश्वको उत्पत्तिसाथै संरचनाको सबैभन्दा तर्कसङ्गत व्याख्या भनेको सृष्टिकर्ताको अस्तित्व हो जसले हामीलाई उहाँकै सृष्टिमा रचना गर्नुभयो ।

हामी आफ्ना सृष्टिकर्ताको स्वरूप र प्रतिरूपमा सृष्टि गरिएका प्राणी हौँ । उहाँले हामीलाई बुद्धि मात्र दिनुभएको छैन, तर तर्क गर्ने क्षमता पनि । हाम्रो सृष्टिविना प्रकृति अधुरो रहनेथियो । उहाँले हामीलाई दिनुभएको क्षमताद्वारा अब हामी उहाँलाई मात्र जान्न सक्दैनौँ तर प्रकृतिलाई पनि । प्रकृतिको अध्ययनद्वारा हामी परमेश्वरको बुद्धि र बन्दोवस्तलाई जान्न सक्छौँ ।

विश्वमा भएका सम्पूर्ण वस्तु अर्थात् पदार्थ, अन्तरिक्ष र समय निश्चित बिन्दुमा आरम्भ भएका थिए भनी विज्ञानले देखाएको छ । विश्वको आरम्भभन्दा अगि केवल शून्यता भएकोले र शून्यता आफैले कुनै वस्तुलाई अस्तित्वमा ल्याउन नसक्ने भएकोले चेतनाको अस्तित्व नै सर्वाधिक तर्कसङ्गत व्याख्या हो भन्ने लेखिकाको तर्क रहेको छ ।

आज विज्ञानका विविध शाखा छन्: विश्व-उत्पत्तिशास्त्र, भौतिकशास्त्र, जीव रसायनशास्त्र, खगोल विज्ञान, जीव विज्ञान, स्नायु विज्ञान, मनोविज्ञान आदि । यी सबैको समष्टिगत अध्ययनले तपाईं र मलाई उही निष्कर्षमा पुर्‍याएको देखिन्छ— सृष्टिकर्ता अस्तित्वमा हुनुहुन्छ जसले हामीलाई उहाँकै स्वरूपमा सृष्टि गर्नुभयो ।

Facebook Comments

Powered by Youth Circle