येशूले भन्नुभयो, “प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ । किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्” (मत्ती ६:७) । के येशूको भनाइको मतलब हामीले लामो प्रार्थना गर्नुहुँदैन भन्ने हो ?
येशूले यहाँ लामो प्रार्थना गर्नुहुँदैन भनेर सिकाउनुभएको होइन । येशू पृथ्वीमा हुनुहुँदा उहाँले पूरै रात प्रार्थनामा बिताउनुभयो, “ती दिनमा उहाँ पहाडतिर प्रार्थना गर्न जानुभयो, र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो” (लूका ६:१२) । प्रार्थनामा लागिपर्नुपर्छ भन्नाका लागि उहाँले एउटा दृष्टान्त भन्नुभयो (लूका १८:१) । त्यसो हो भने मत्ती ६:७ मा येशूको भनाइको मतलब के हो ?
फरिसीहरूले लामो-लामो प्रार्थना गर्थे र तिनीहरूले व्यर्थका कुरा दोहोर्याउँथे । प्रार्थना लामो भयो भने प्रभावकारी हुन्छ भन्ने फरिसीहरूको बुझाइलाई उहाँले आक्रमण गर्दै हुनुहुन्थ्यो । घरीघरी उही कुरो दोहोर्याइरहँदा परमेश्वरले सुन्नुहुन्थ्यो र त्यसको जवाफ दिनुहुन्थ्यो भन्ने तिनीहरूको बुझाइ रहेको थियो । तर येशूले तिनीहरूलाई सुधार्न चाहनुभयो ।
येशूको भनाइको मतलब हामीले कहिल्यै लामो प्रार्थना गर्नुहुँदैन र हाम्रो प्रार्थना सदैव छोटो हुनुपर्छ भन्ने होइन । आवश्यकताअनुसार तपाईंले लामो वा छोटो दुवै किसिमको प्रार्थना गर्न सक्नुहुन्छ । येशूले भन्न खोज्नुभएको कुरोचाहिँ यही हो कि हामीले एउटै प्रार्थनामा घरीघरी उही कुरो दोहोर्याउनुहुँदैन । त्यसो गर्दा उहाँ सुन्न बाध्य पर्नुहुन्छ भन्ने मानसिकतालाई मिल्काइदिनुपर्यो । लामो समयसम्म व्यर्थमा बरबराएको कारण उहाँले सुन्ने होइन, तर उहाँको इच्छाअनुसार उहाँले सुन्ने हो । पिता परमेश्वर लामो प्रार्थना वा साहित्यिक अभिव्यक्तिमा नभई हृदयको सत्यतामा चाह राख्नुहुन्छ, “निश्चय नै हृदयको सत्यता तपाईं चाहना गर्नुहुन्छ, अन्तस्करणमा तपाईं मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ” (भजनसंग्रह ५१:६) ।