“विज्ञानको इतिहासमा देखा परेका सर्वाधिक नाटकीय खोजहरूमध्ये एउटा हो— यो विश्व महाविस्फोटमा सुरु भयो ।”
यो मोडर्न फिजिक्स एन्ड एन्सन्ट फेथ नामक पुस्तकबाट साभार गरिएको अंश हो । पुस्तकका लेखक हुन्, स्टिफेन एम. बार । लेखक भौतिकशास्त्रका प्राध्यापक हुन् । ३३२ पृष्ठ लामो यो पुस्तक ख्रिस्टाब्द २०१६ मा प्रकाशित भएको थियो । पाँचवटा भागमा विभाजित यो पुस्तकमा जम्माजम्मी २६ ओटा अध्याय छन् ।
पहिलो भागले धर्म र भौतिकवाद बिचको द्वन्द्वको चिरफार गर्छ भने दोस्रो भागले महाविस्फोटमा यो विश्वको आरम्भ भएको थियो भनी जोड दिन्छ । तेस्रो भाग यो विश्वको सुव्यवस्थित रचनासित सम्बन्धित छ । हामीले चारैतिर हाम्रा आँखा डुलायौँ भने यो विश्व विस्मयकारी ढङ्गमा व्यवस्थित भएको पाउँछौँ । चौथो भाग यो विश्वमा मान्छेको स्थानसित सम्बन्धित छ भने पाँचौँ भागले मानिस के हो भन्ने प्रश्नको जवाफ दिन्छ ।
मैले २०२० मा पढ्ने पुस्तकहरूको सूचिमा यसलाई चौथो स्थानमा राखेको थिएँ । मैले १४ दिन (फेब्रुअरी १६-२९) लगाएर यो किताब पढेर सिद्धयाएँ ।
यो सम्पूर्ण विश्व कहाँबाट आयो ? बिसौँ शताब्दीका नाटकीय खोजहरूअनुसार महाविस्फोटमा यसको थालनी भएको थियो । महाविस्फोटको लागि साक्षीहरू यति दरिला छन् कि वैज्ञानिक जगत्मा यसलाई गम्भीरतापूर्वक प्रश्न गरिएको छैन । महाविस्फोटको सिद्धान्तअनुसार यो विश्व अनन्त छैन, तर करिब साढे तेर्ह अरब वर्षअगि यसको थालनी भएको थियो । त्यसै बेला सम्पूर्ण पदार्थ र अन्तरिक्ष मात्र अस्तित्वमा आएनन्, तर समय आफै पनि त्यही बेला अस्तित्वमा आयो । यो विश्व (अर्थात् युनिभर्स) अनन्त नभई यसको थालनी भएको थियो भन्ने शिक्षा एउटा महत्त्वपूर्ण ख्रीष्टियान सिद्धान्त हो । बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा लेखिएको छ, “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । अर्को तरिकाले भन्नुपर्दा, आदिमा परमेश्वरले विश्वलाई अस्तित्वमा ल्याउनुभयो । विश्व अनन्त नभई यसको थालनी भएको थियो भन्ने बुँदामा आधुनिक वैज्ञानिक खोज र बाइबलीय अवधारणा सोर्है आना मेल खान्छ ।
फेरि एक पटक यस कृतिको नाउँ उल्लेख गरेँ: मोडर्न फिजिक्स एन्ड एन्सन्ट फेथ । यसको नेपाली अनुवाद आधुनिक भौतिकशास्त्र र प्राचीन विश्वास हुन्छ । नामबाटै तपाईंले अनुमान लगाउन सक्नुहुन्छ कि यो किताब मूलत: कसरी वर्तमान समयका वैज्ञानिक खोजहरू प्राचीन विश्वाससित मेल खान्छ भन्ने विषयसित सम्बन्धित छ ।
विगतमा कतिपय चिन्तकहरूले धर्म र विज्ञानलाई एक-अर्काको दुश्मन बनाउने दुष्प्रयास गरे तापनि आधुनिक वैज्ञानिक खोजहरू भने प्राचीन विश्वासको समीपतिर गएका पाइएको छ । वास्तविक द्वन्द्व धर्म र विज्ञानबिच होइन, तर धर्म र भौतिकवादबिच हो । भौतिकवाद विज्ञानसित सामीप्य रूपमा गाँसिएको एउटा दार्शनिक अवधारणा हो । यसले विज्ञानलाई सँगसँगै लिएर जाने भएकोले कतिपय मानिसहरू भौतिकवादलाई नै विज्ञान ठानी भुलमा पर्छन् । यो विज्ञान होइन, केवल दार्शनिक अवधारणा हो । वास्तवमा धेरैभन्दा धेरै वैज्ञानिकहरू भौतिकवादी नभई आस्तिकवादीहरू छन् । खोजपछिका खोजले हामीलाई देखाइरहेका छन् कि पदार्थ आखिरी सत्यता होइन ।
विज्ञानका वास्तविक खोजहरूले ख्रीष्टियान विश्वासलाई दुर्बल पार्नुको साटो सबल पारिरहेका छन् भन्ने लेखकको ठम्याइ रहेको छ । पुस्तकले यही विषयको वरिपरि फन्को मारेको छ । विश्वबारे भएको ख्रीष्टियान अवधारणालाई वैज्ञानिक दृष्टिकोणबाट हेर्न चाहने खोजकर्ताको लागि यो पुस्तक लाभदायक छ भन्ने यस पाठकको पनि ठम्याइ रहेको छ ।