“कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्‍दैन” (मर्कूस २:२२) भन्नुको मतलब के हो ?

मर्कूसको सुसमाचारमा येशूले भन्नुभएको छ, “अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्‍दैन, नत्रता त्‍यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्‍छ, र दाखमद्य र मशक पनि नष्‍ट हुन्‍छन्‌ । तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँडामा हालिन्‍छ” (२:२२) । येशूले मशकको उपमाबाट के सिकाउन खोज्नुभएको हो ?

पानी वा दाखमद्य राख्नलाई बनाइएको छालाको थैलोलाई मशक भनिन्छ । प्राचीन समयमा बाख्रा वा अन्य जनावरहरूको छालाबाट मशक बनाइन्थ्यो र यसलाई दाखमद्य हाल्न प्रयोग गरिन्थ्यो । समय बित्दै गएपछि यस्तो किसिमको मशक तन्कँदै जान्थ्यो र अन्तत: यसले आफ्नो तन्कने क्षमता गुमाउँथ्यो । दाखमद्यको कारण आफ्नो तन्कने क्षमता गुमाइसकेको मशकमा पुन: नयाँ दाखमद्य हाल्दा त्यो फुट्थ्यो ।

येशूले शिक्षा दिँदै हुनुहुन्थ्यो कि येशूको समयमा फरिसीहरूले सिकाएका पुरानो करारको शिक्षा अर्थात् कर्मकाण्डवादी अवधारणा लचकदार नभएकोले पुरानो भइसकेको थियो । यहूदी धर्मको पुरानो मशकमा ख्रिस्टियमतको गतिधील नयाँ विश्वास अट्दैनथ्यो । अनुग्रहबारे ख्रीष्टको शिक्षा यहूदी धर्मको कर्मकाण्डवादी मशकभित्र टिक्न सक्दैनथ्यो ।

येशूले यहूदी धर्ममा सुधार ल्याउन खोज्नुभएको थिएन; उहाँले त पूर्णत: नयाँ विश्वास ल्याउँदै हुनुहुन्थ्यो । येशूद्वारा उपलब्ध उद्धारलाई पुरानो यहूदी धार्मिक प्रणालीसित मिश्रण गर्नुहुँदैनथ्यो । “किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए” (यूहन्ना १:१७) ।

Facebook Comments

Powered by Youth Circle