यशैया ९:६ मा अभिलिखित येशूका चारवटा नाउँमध्ये एउटा ‘अनन्तका पिता’ हो, “किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । हाम्रा निम्ति एउटा छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ ।” त्रिएकताको सिद्धान्त कट्टरवादी ख्रीष्टियान सिद्धान्त हो जसअनुसार परमेश्वर सारमा एक हनुहुन्छ तर व्यक्तित्वमा तीन । एक परमेश्वर पिता, पुत्र र पवित्र आत्मा तीन व्यक्तित्वमा अस्तित्वमा हुनुहुन्छ अनि त्रिएकताभित्र उहाँहरू भिन्नाभिन्नै व्यक्तित्व हुनुहुन्छ । त्यसो हो भने यस पदमा मसीह अर्थात् पुत्रलाई किन ‘अनन्तका पिता’ भनिएको हो त ?
यस पदले इस्राएलको छुटकारासाथै मसीहका गतिविधि, उपाधि र आशिष्हरूको चर्चा गर्छ । उहाँ यस धरतीमा शासन गर्नुहुने शासक हुनुहुन्छ जसले आशिष् र शान्तिले भरिपूर्ण राज्यको थालनी गर्नुहुन्छ र उहाँको राज्यको अन्त्य हुने छैन । उहाँलाई दिइएका उपाधिमध्ये एउटा हो, ‘अनन्तका पिता ।’
त्रिएकतामा पिता परमेश्वर पुत्र परमेश्वरभन्दा भिन्नै व्यक्तित्व हुनुहुन्छ भन्ने तथ्य पवित्रशास्त्रमा छर्लङ्ग छ । उदाहरणार्थ, नयाँ करारमा येशूलाई २०० पटकभन्दा बेसी ‘पुत्र’ भनिएको छ । यसका अतिरिक्त नयाँ करारको २०० भन्दा बढी ठाउँमा उही पदमा येशूले पितालाई भिन्नै व्यक्तिको रूपमा हेर्नुभएको छ । नयाँ करारमा ५० पटकभन्दा बेसी उही पदमा पिता र पुत्र भिन्नाभिन्नै व्यक्तिको रूपमा देखिनुभएको छ (उदाहरणको लागि, रोमी १५:६; २ कोरिन्थी १:४) ।
पुत्र पिताभन्दा भिन्नै व्यक्तित्व हुनुहुन्छ भने कुन अर्थमा पुत्रलाई ‘अनन्तका पिता’ भनिएको हो त ? यशैया ९:६ मा परमेश्वरका पुत्र मसीहलाई ‘अनन्तका पिता’ भन्ने उपाधि दिइएकोले धेरै मानिस अन्योलमा परेका छन् ।
पुत्र त्रिएकताका दोस्रो व्यक्तित्व हुनुभएकोले सारमा उहाँ परमेश्वर हुनुहुन्छ । परमेश्वरका विविध गुणहरूमध्ये एउटा हो, अनन्तता । यशैया ९:६ मा उल्लिखित पदावली ‘अनन्तका पिता’ त्रिएकताभित्रका सदस्यहरूबिचको सम्बन्धलाई उल्लेख गर्नलाई नभई समयसित उहाँको सम्बन्धलाई बयान गर्नलाई प्रयोग गरिएको हो । यस सन्दर्भमा शब्द ‘पिता’ को अर्थ हुन्छ— अनन्तताका अधिकारी । अर्थात् उहाँ यस्तो व्यक्तित्व हुनुहुन्छ जोसँग अनन्तताको गुण पनि छ ।
यहाँ उल्लिखित पदावली ‘अनन्तका पिता’ लाई हिब्रू चलनअनुसार बुझिनुपर्छ । कुनै कुरो कसैको अधीनमा छ भने त्यो व्यक्तिलाई त्यस वस्तुको पिता भन्न मिल्थ्यो । यस चलनअनुसार शक्तिका पिता भन्नाले शक्तिशाली र ज्ञानका पिता भन्नाले विज्ञ भन्ने अर्थ लाग्छ । त्यसै गरी ‘अनन्तका पिता’ भन्नाले ‘अनन्त’ भन्ने अर्थ लाग्छ अर्थात् मसीह अनन्त हुनुहुन्छ ।