प्रभु येशू पुनरुत्थान हुनुभएपछि पहिलो पटक मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । यी तिनै स्त्री थिइन् जसबाट येशूले सातवटा भूत निकाल्नुभएको थियो (लूका ८:२) । मरियमले येशूलाई पुनरुत्थान हुनुभएका प्रभुको रूपमा पहिचान गरेपछि येशूले उनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ । तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ गइरहेछु’” (यूहन्ना २०:१७) । तर आठ दिनपश्चात् येशू थोमा उपस्थित चेलाहरूको माझमा देखा पर्नुहुँदा उहाँले थोमालाई भन्नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर । तिम्रो हात बढाएर मेरो कोखामा हाल । शङ्का नगर, तर विश्वासी होऊ” (यूहन्ना २०:२७) । कुनै अर्को क्षणमा पुनरुत्थान हुनुभएका प्रभुलाई देखेपछि स्त्रीहरूले “उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत् गरे” (मत्ती २८:९) । येशूले यसको अनुमोदन गर्नुभएन भनी उल्लेख गरिएको छैन । तर मरियमलाई चाहिँ उहाँले किन “मलाई नछोऊ” भन्नुभयो ?
यूहन्ना २०:१७ मा क्रियापद ‘नछोऊ’ को लागि जुन ग्रिक शब्दको प्रयोग गरिएको छ त्यसलाई ‘नटाँसिऊ वा नअँठ्याऊ’ भनेर पनि अनुवाद गर्न सकिन्छ । पुनरुत्थान हुनुभएका येशूलाई छुनै नमिल्ने थिएन किनकि पछि अरूहरूले छोएका छन् । येशूले मरियमलाई केवल “नछोऊ” मात्र भन्नुभएन, तर सम्भवतः उहाँको भनाइको अर्थ थियो, “मलाई समातेर नराख ।” मरियमले येशूलाई समात्न खोज्दा सायद येशूले यसो भन्नुभयो, “मलाई थाहा छ कि तिमी मलाई यहाँ राख्न चाहन्छ्यौ । म सधैँ तिमीसँगै भएको तिमी चाहन्छ्यौ । म मर्नुभन्दा अगिका परिस्थितिहरू सबै राम्रा थिए र तिमी त्यही परिवेश चाहन्छ्यौ । तर हाम्रो सम्बन्ध परिवर्तन हुनै लागेको छ । मैले स्वर्ग प्रस्थान गर्ने बेला आएको छ र मेरो सट्टामा सल्लाहकार अर्थात् पवित्र आत्मा आउँदै हुनुहुन्छ ।”
क्रुसारोहणको समयमा मरियमले प्रभु येशूलाई गुमाएकी थिइन् । अब फेरि उनी प्रभुलाई गुमाउन चाहन्न थिइन् । त्यसैले प्रभु सधैँ उनको साथमा होस् भन्ने उनको इच्छा थियो । तर प्रभु येशूको मिसन उनले सोचेजस्तो थिएन । पुनरुत्थानको शुभ खबर चेलाहरूलाई सुनाउनु जरुरी थियो । त्यसैले येशूले मरियमलाई चेलाहरूकहाँ गएर त्यसबारे बताउन आज्ञा दिनुभयो र उनी गइन् ।