ख्रीष्टियान शिक्षाको प्रभावमा मान्छेले मान्छेको मासु खाने अभ्यासमा पूर्ण विराम

प्रशान्त महासागरको दक्षिणमा पर्ने टापुहरूले बनेको देशको नाउँ हो, फिजी । एक जना कलेजका प्राध्यापक त्यहाँ पुगे जो धार्मिक दृष्टिकोणबाट अज्ञेयवादी थिए । ती अज्ञेयवादी प्राध्यापकले त्यहाँका मुखियालाई भने, “तपाईं महान् अगुवा हुनुहुन्छ । तर मिसनरीहरूले तपाईंलाई पङ्गु बनाएकोमा मलाई दु:ख लागेको छ । तपाईंलाई प्रयोग गरेर तिनीहरू केवल धनी हुन चाहन्छन् । अब बाइबललाई कसैले विश्वास गर्दैन । ख्रीष्ट येशू मानव-जातिको पापको लागि क्रूसमा मर्नुभयो भन्ने थोत्रो कथा सुनेर मानिसहरू वाक्क भइसकेका छन् । तिनीहरूका कथालाई स्वीकार गरेर तपाईं पटमूर्ख हुनुभएकोमा मलाई दु:ख लगेको छ ।” ती पाका मुखियाले जवाफ दिए, “त्यो ठुलो चट्टानलाई तपाईं देख्नुहुन्छ ? त्यहाँ हामीले हाम्रा मानिसका शिरहरूलाई धुजाधुजा बनाउँथ्यौँ । त्यहाँ नजिकै भएको आगोको भट्टीलाई देख्नुहुन्छ ? त्यहाँ हामीले हाम्रा शत्रुका शरीरहरूलाई जलाउँथ्यौँ । यदि ती मिसनरीहरूले बताएका येशूको प्रेमद्वारा हामी मान्छेको मासु खाने जातिबाट ख्रीष्टियानमा परिवर्तन नभएको भए तपाईं यहाँबाट कहिल्यै जिउँदै फर्केर जान सक्नुहुन्नथ्यो । हाम्रा मानिसहरूले तपाईंलाई खाइदिन्थे । त्यसैले सुसमाचारको लागि प्रभुप्रति धन्यवादी हुनुहोस् । बाइबलको कारणले गर्दा हामी नबद्लिएको भए तपाईं हाम्रो खाना बन्नुहुन्थ्यो ।”[1]

मान्छेले मान्छेलाई काटेर खाने अभ्यासलाई नरभक्षण भनिन्छ भने यसलाई अभ्यास गर्ने व्यक्तिलाई नरभक्षी भनिन्छ । हजारौँ वर्ष पुरानो यस अमानवीय अभ्यास संसारको विभिन्न भूभागमा विद्यमान थियो । ग्रिनल्यान्डपछि संसारको दोस्रो ठुलो टापु न्यु गिनीसाथै अस्ट्रेलियाको उत्तर-पूर्वी क्षेत्रमा अवस्थित पश्चिमी प्रशान्त महासागरीय क्षेत्रमा पर्ने सोलोमन टापुका भागहरूमा यस्तो अभ्यास कायम थियो । फिजीलाई त एक पटक ‘नरभक्षीको टापु’ भनेर नै चिनिन्थ्यो । फिजीदेखि अम्याज्न बेसिन हुँदै कङ्गो अनि न्युजिल्यान्डको माउरी जातिको बिचमा नरभक्षणलाई व्यापक रूपाम अभ्यास गरिन्थ्यो । प्राचीन मिश्रसाथै रोममा पनि यसको अभ्यास गरिएको थियो भन्ने साक्षी पाइन्छ । संस्कृतिको नाउँमा पपुवा न्युगिनीमा ख्रिस्टाब्द २०१२ सम्म पनि यसको अभ्यास गरिएको थियो ।[2]

भारतीयहरूका बिचमा नरबलि (अर्थात् मानव बलि) को अभ्यास व्याप्त भए तापनि मानिसको मासु खाने अभ्यास भने विरलै पाइन्थ्यो । एउटा संस्कारमा मानिसलाई मारी देवी कालीलाई चढाइयो अनि फोक्सोहरू योगीले खाएका थिए भने स्थानीय राज परिवारले उक्त मानिसको रगत मिसाइएको भात खाएको थियो । यही विधिको निम्ति मानिसहरूलाई अपहरण गरेकाले एक राजाको इलाकालाई ख्रिस्टाब्द १८३२ मा ब्रिटिसले कब्जा गरेको थियो ।[3]

“तैँले मान्छेको मासु नखा” भनेर बाइबलमा प्रस्टसित नलेखिएको भए तापनि नरभक्षण एउटा डरलाग्दो दुष्ट्याइँ हो भन्ने कुरा बाइबल धर्मशास्त्रबाट प्रस्ट छ । जलप्रलयपश्चात् परमेश्वरले नोआलाई अन्य प्राणीको मासु खाने अनुमति दिनुभए (उत्पत्ति ९:३) तापनि मानव हत्याको विषयमा उहाँले कडा चेताउनी दिनुभयो, “जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्‍यसको रक्तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभएको हो” (उत्पत्ति ९:६) ।

बाइबलमा कति पटक मान्छेको मासु खाने विषयमा बताइएको छ (जस्तैः लेवी २६:२९; यर्मिया १९:९), तर यस्तो अभ्यासलाई डरलाग्दो श्रापसाथै अमानवीय गतिविधिको रूपमा चित्रण गरिएको छ । आत्मिक अधोगतिको नतिजास्वरूप देखा परेको शारीरिक त्रास थियो, नरभक्षण ।

मान्छेले मान्छेको मासु खाने सदिऔँ पुरानो अमानवीय चलनमा कसरी पूर्ण विराम लाग्यो त ? यसको श्रेय जान्छ येशूको सुसमाचारलाई । ख्रीष्टियान शिक्षाको प्रभावमा यो अभ्यास रोकिएको थियो । ख्रिस्टियमतको आगमनअगि नरभक्षणको अभ्यास व्याप्त थियो । तर सुसमाचारको प्रवेशसँगै मानिसहरूले मानवीय जीवनलाई नयाँ दृष्टिकोणले हेर्न सके । फलस्वरूप नरभक्षणको अन्त्य भयो ।[4]

मानव-जाति परमेश्वरको आफ्नै स्वरूप सृष्टि गरिएकोले (उत्पत्ति १:२६-२७) प्राणी जगत्‌मा ऊ अद्वितीय र पृथक् छ । अन्य कुनै पनि प्राणीभन्दा उसको मूल्य उच्च छ । तसर्थ मान्छेलाई मारेर खाने अभ्यास पूर्णतः गलत मात्रै छैन तर औधी निन्दनीय पनि छ ।[5]

 

सन्दर्भ स्रोतहरूः

[1]   कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. १३ ।

[2]   https://en.wikipedia.org/wiki/Human_cannibalism

[3]   Karoline Lukaschek, The History of Cannibalism, Submitted as MPhil Thesis, 2000/2001, p.8.

[4]   D. James Kennedy and Jerry Newcombe, What If Jesus Had Never Been Born? [Kindle Version]. Retrieved from Amazon.com

[5]   https://www.gotquestions.org/cannibalism-Bible.html

Facebook Comments

Powered by Youth Circle