परिवर्तन सधैँ कि झन् असलको लागि हो कि भने झन् खराबको लागि । परमेश्वर सिद्ध हुनुभएकोले उहाँलाई झन् असल वा झन् खराब हुनु आवश्यक छैन । परमेश्वरका विविध गुणहरूमध्ये एउटा हो, अपरिवर्तनशीलता । उहाँ अपरिवर्तनशील हुनुहुन्छ । उहाँले भन्नुभएको छ, “म परमप्रभु कहिल्यै परिवर्तित हुँदिनँ” (मलाकी ३:६) । “उहाँले मन बद्लनुहुन्न, कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न” (गन्ती २३:१९) । उहाँले “आफ्नो मन पनि बद्लनुहुन्न । आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्न” (१ शमूएल १५:२९) । “बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन” (याकूब १:१७) । के प्रार्थनाले परमेश्वरको मन बद्लन सक्छ ? यसको जवाफ हुन्छ: सक्दैन ।
यदि प्रार्थनाले परमेश्वरको मन बद्लन सक्दैन भने किन प्रार्थना गर्ने भनेर हतारमा निष्कर्ष ननिकाल्नुहोला । के प्रार्थनाले कुनै परिवर्तन ल्याउन सक्छ ? यसको जवाफचाहिँ सकारात्मक हुन्छ । हामीले प्रार्थना गर्दा उहाँलाई बद्लन खोजेका हुँदैनौँ, तर परिवर्तन ल्याउन खोजेका हुन्छौँ । हाम्रो परिस्थितिमा परिवर्तन ल्याउन उहाँ बद्लनैपर्छ भन्ने छैन । हामीले प्रार्थना गर्दा उहाँलाई बद्लन खोजेका हुँदैनौँ, तर परिस्थित बद्लोस् भनेर उहाँलाई पुकार गरेका हुन्छौँ ।
हाम्रो प्रार्थनाको नतिजास्वरूप परिस्थितिमा परिवर्तन ल्याउनमा परमेश्वर रमाउनुहुन्छ । हामीले “सधैँ प्रार्थना गरिरहून् र निराश नहोऊन् भन्ने हेतुले” येशूले दृष्टान्तसमेत भन्नुभएको छ (लूका १८:१) । १ यूहन्ना ५:१४-१५ ले पनि हामीलाई स्मरण दिलाउँछ कि हामीले परमेश्वरको इच्छाअनुसार प्रार्थना चढाउँदा उहाँले सुनेर जवाफ दिनुहुन्छ, “परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ । हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ ।”
आज विश्व कोरोना भाइरस (कोभिड-१९) सित सङ्घर्ष गर्दै छ । डाक्टर, नर्स, वैज्ञानिक, मिडियाकर्मी, सुरक्षाकर्मी, राजनीतिज्ञजस्ता विविध क्षेत्रका विशेषज्ञहरू आआफ्नै तरिकाले यस अदृश्य शत्रुको विरुद्धमा मुकाबिला गर्दै छन् । सारा दुनियाँभरका ख्रीष्टियानहरूले पनि विविध पहलसहित आफ्नो आत्मिक हतियार अर्थात् प्रार्थनालाई प्रयोग गरिरहेका छन् ।
हाम्रो सङ्कष्टमा पुकारा गर्न उहाँले हामीलाई निमन्त्रणा दिनुहुन्छ । उहाँको योजनाभित्र परेको कुरो दिन उहाँ आनन्दित हुनुहुन्छ । हामीले सधैँ उहाँको समयलाई नबुझे तापनि उहाँमा भरोसा गरेका उहाँले चाहनुहुन्छ (याकूब १:५-६) । प्रार्थनामा हाम्रो उच्चतम लक्ष्य भनेको उहाँको हृदयसित हाम्रो हृदयलाई मिलाउनु हो ।
लेखकसाथै वकिल ई. एम. बाउन्ड्सले प्रार्थनाको शक्तिबारे शानदार ढङ्गमा व्यक्त गरेका छन्, “प्रार्थनाले परमेश्वरका सन्तहरूलाई बन्धनमा राखेका सबै बार भत्काइदिन्छ, सबै साङ्ला धुजाधुजा बनाइदिन्छ, सबै झ्यालखाना खुला गरिदिन्छ र सबै साँघुरा मार्गहरू फराकिला बनाइदिन्छ ।”