आत्मबलिदानबारे येशूको नमुना पछ्याउँदै बिरामीहरूका मसिह बने दामिन

इतिहासमा कुष्ठरोगलाई सङ्क्रामक र घातक रोग भनेर चिनिन्थ्यो । यसले मानिसको शरीरको कान, खुट्टा, नाक, औँला आदिजस्ता विभिन्न अङ्गमा आक्रमण गर्थ्यो । आज यस डरलाग्दो रोगको उपचार छ, तर त्यस बेला थिएन । तसर्थ यो रोग अन्य मानिसहरूमा नसरोस् र यसले महामारीको रूप नलियोस् भन्ने हेतुले अमेरिकी सरकारले कुष्ठरोगीहरूलाई मोलोकाई टापुको एउटा शिविरमा पठाउने गर्थ्यो । मोलोकाई अमेरिकाको हवाई प्रान्तमा पर्ने एउटा टापुको नाउँ हो  ।

ख्रिस्टाब्द १८७३ मा दामिन नाउँ गरेका एक जना निर्भीक ख्रीष्टियान अगुवा मोलोकाई टापुमा भएका कुष्ठरोगीहरूका बिचमा स्वैच्छिक रूपमा सेवा गर्न तम्सिए । त्यहाँ आउँदा मानिसहरूको अवस्था देखेर तिनी बेचैन भए । तिनीहरूले शारीरिक रूपमा मात्र नभएर सामाजिक, भावनात्मक र आत्मिक रूपमा पनि कष्ट भोगिरहेका थिए । कुष्ठरोगीहरूको शिविरमा मानिसहरू यति बिग्रिएका थिए कि मद्यपान, अनैतिकता र दुर्व्यवहार व्याप्त थिए । लाग्थ्यो, तिनीहरूमा आशाको त्यान्द्रो पनि बाँकी थिएन ।

दामिन ७०० कुष्ठरोगीका बिचमा बसे । तिनलाई खतरा थाहा थियो । तिनीहरूका बिचमा बारम्बार सम्पर्क गर्दा आइपर्ने नतिजाबारे तिनी सचेत थिए । तथापि ती आशाविहीन मानिसहरूमा आशा जगाउन लागिपरे, दामिन । तिनले अस्पतालहरूको स्थापना गरे; औषधी पसलहरू खोले र मण्डलीहरू खडा गरे । त्यस्तो दुर्दशाग्रस्त अवस्थामा परमेश्वर कहाँ हुनुहुन्छ भन्ने प्रश्नको उत्तर जुटाए तिनले ।

मण्डलीको सेवा सञ्चालन हुँदा ती कुष्ठरोगीहरूका बिचमा खडा भएर दामिनले प्रेमपूर्वक सम्बोधन गर्थे, “मेरा प्रिय दाजुभाइहरू ।” तिनीहरूका बिचमा १६ वर्षसम्म सेवा गरेपछि कुष्ठरोग लागेर नै तिनको निधन हुन भयो । ती मानिसहरूप्रति भएको प्रेमको कारणले गर्दा नै तिनी एक कुष्ठरोगी बन्नसम्म तयार रहे । तिनले ती कुष्ठरोगीहरूलाई यस्तो महान्‌तम उपहार सुम्पे जसले तिनीहरूको अनन्त गन्तव्यमा परिवर्तन ल्याउँथ्यो । तिनको सेवाको सम्मान गर्दै तिनलाई “परोपकारको सहिद” भनिएको छ । तिनी आत्मबलिदानको अनुकरणीय नमुना बने । दामिन आवाजविहीनहरूको आवाज बने र तिनले बिरामीहरूलाई उच्च आदर गरे भन्दै पूर्वअमेरिकी राष्ट्रपति बाराक आबामाले दामिनको तारिफ गरेका थिए ।

फादर दामिन कुष्ठरोगी र अछुतहरूका आत्मिक संरक्षक हुन् । तिरस्कृत मानिसहरूलाई येशू ख्रीष्टमा जित्न तिनी कुष्ठरोगीहरूका बिचमा आफै पनि कुष्ठरोगी बने ।

“आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन” (यूहन्ना १५:१३) ।

Facebook Comments

Powered by Youth Circle