येशूले आज्ञा दिनुभयो, “तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ” (मत्ती २३:९) । तर दस आज्ञामा प्रस्टसित लेखिएको छ, “आफ्ना बाबु र आमालाई आदर गर” (प्रस्थान २०:१२) । पावलले अब्राहामलाई “हाम्रा पिता अब्राहाम” भनी उल्लेख गरेका छन् (रोमी ४:१२) । पावल तिमोथी र तीतसका आत्मिक पिता थिए (१ तिमोथी १:२; तीतस १:४) । त्यसो हो भने येशूको भनाइको अर्थ के हो त ?
मत्ती २३ अध्यायमा येशूले शास्त्री र फरिसीहरूको भर्त्सना गर्दै हुनुहुन्छ किनकि तिनीहरूले उहाँलाई मसीहको रूपमा इन्कार मात्र गरेनन् तर आफूलाई ‘गुरुज्यू’, ‘मालिक’ र ‘पिता’ जस्ता पदवीहरूले सिंगारी आफैलाई अरूभन्दा श्रेष्ठ ठाने । येशूले तिनीहरूलाई पाखण्डी भन्नुभयो । परमेश्वर नभई तिनीहरू नै सत्यताको स्रोत थिए भन्ने मनसायसहित तिनीहरू आफूलाई ‘पिता’ भनिन रुचाउँथे । सारा जीवन र सत्यताको स्रोत केवल परमेश्वर हुनुहुन्छ भनी येशूले सिकाउनुभयो । कसैलाई पनि परमेश्वरको तहमा राखिनुहुँदैन ।
मत्ती २३ अध्यायको सन्दर्भबाट प्रस्ट छ कि येशूले जीवशास्त्रीय पिता अर्थात् शारीरिक रूपमा जन्म दिने पिताको बारेमा उल्लेख गर्नुभएको होइन, तर आफूलाई अकाट्य आत्मिक अगुवा ठानी ‘पिता’ को पदवीको चाह गर्ने पाखण्डीहरूको बारेमा बोल्नुभएको हो ।
जसरी ‘पिता’ शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गर्नुमा कुनै भुल हुँदैन, त्यसै गरी हामीलाई जन्मदिने बुबालाई पनि ‘पिता’ भन्नुमा कुनै भुल हुँदैन । हामीले आफ्ना पितालाई ‘पिता’ भन्दा परमेश्वरको स्थानमा राखेका हुँदैनौँ, तर उचित आदर दिएका हुन्छौँ र त्यसो गर्दा हामीले बाइबलको आज्ञापालन गरेका हुन्छौँ ।