क्रूसबाट येशूले भन्नुभएका ७ ओटा वाणी

येशू क्रूसमा टाँगिनुहुँदा उहाँले आफ्नो मुखबाट ७  ओटा वाणी बोल्नुभएको थियो जुन अत्यधिक महत्त्वपूर्ण छन् । उहाँका तीनवटा वाणी (१, २ र ७) लूकाको सुसमाचारमा मात्र पाइन्छन् भने अर्का तीनवटा वाणी यूहन्नाको सुसमाचारमा मात्र पाइन्छन् (३, ५ र ६) । एउटाचाहिँ (४) मत्ती (२७:४६) र मर्कूस (१५:३४) दुवैमा पाइन्छ । परम्परागत रूपमा यी वाणीहरू यसरी क्रमैसित राखिएका छन् र तिनलाई क्षमा, उद्धार, सम्बन्ध, त्याग, दुःख, विजय र पुनर्मिलन भनिएको पाइन्छ ।

१. पहिलो— क्षमाको वाणी (लूका २३:३४) 

येशूको यो पहिलो वाणीलाई क्षमाको वाणी भनिन्छ, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) । रोमी सिपाहीहरूलगायत अन्य जति पनि येशूलाई क्रूसमा टाँग्न संलग्न थिए, तिनीहरूलाई क्षमा दिइयोस् भनी येशूले पितासँग बिन्ती गर्नुभयो । क्रूसमा उहाँलाई घृणा गरिएको थियो; इन्कार गरिएको थियो तर त्यसको बदलामा येशूले प्रेम र क्षमाजस्ता सद्गुणहरू देखाउनुभयो ।

२. दोस्रो— उद्धारको वाणी (लूका २३:४३) 

येशूको दायाँ र बायाँ क्रूसमा टाँगिएका दुई जना डाँकुमध्ये एक जनाले उहाँ निर्दोष हुनुहुन्छ भनी बतायो र त्यसले उहाँसँग बिन्ती पनि गर्‍यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस् ।” प्रत्युत्तरमा येशूले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३) । येशूको यस प्रतिज्ञालाई उद्धारको वाणीको रूपमा चिनिन्छ । त्यस अपराधीले आफूले अपेक्षा गरेभन्दा बेसी नै पायो र उद्धारमा सधैँ यस्तै हुन्छ अर्थात् हामीले पाउन सक्नेभन्दा बेसी नै पाउँछौँ ।

३. तेस्रो— सम्बन्धको वाणी (यूहन्ना १९:२६–२७) 

सम्बन्धको वाणीको रूपमा चिनिएको यस भनाइमा येशूले आफ्नी आमा मरियमलाई प्रेरित यूहन्नाको जिम्मेवारीमा सुम्पिदिनुभयो । उहाँले भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो ! … हेर, तिम्री आमा !” (यूहन्ना १९:२६–२७) । क्रूसमा येशू आफैले दर्दनाक पीडा भोगिरहनुभए तापनि उहाँ आफ्नी आमाको हेरचाहप्रति चिन्तित हुनुहुन्थ्यो । यसले आमाप्रति भएको येशूको प्रेम र वास्तालाई छर्लङ्ग पार्छ ।

४. चौथो— त्यागको वाणी (मत्ती २७:४६)  

क्रूसमा येशू चिच्च्याउनुभयो, “‘इलोई, इलोई, लामा सबखथनी ?’ अर्थात्, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ ?’” (मत्ती २७:४६) । त्यागको वाणीको रूपमा चिनिएको यो मात्र एउटा यस्तो भनाइ हो जुन दुईवटा सुसमाचार (मत्ती र मर्कूस) मा देखा पर्छ । यो भजनसंग्रह २२:१ को उद्धरण हो । संसारको पाप उठाई लैजान कहिल्यै पाप नचिन्नुहुने येशू पापसित परिचित हुनुभयो । परिणामतः पिताले केही समय आफ्नो पिठिउँ फर्काउनुभयो ।

५. पाँचौँ— दुःखको वाणी (यूहन्ना १९:२८)  

येशू क्रूसमा टाँगिनुहुँदा उहाँले भन्नुभयो, “मलाई तिर्खा लाग्यो” (यूहन्ना १९:२८) । यसलाई दुःखको वाणीको रूपमा चिनिन्छ । येशूको यस वाणीमा पुरानो करारको भविष्यवाणी पूरा भएको थियो (भजनसंग्रह ६९:२१) ।

६. छैटौँ— विजयको वाणी (यूहन्ना १९:३०)  

येशूले भन्नुभयो, “अब सिद्धियो” (यूहन्ना १९:३०) । यसलाई विजयको वाणीको रूपमा हेरिन्छ । यो येशूले पृथ्वीमा गर्नुभएको सेवाकार्यको अन्त्यको घोषणा पनि हो । मानव–जातिको निम्ति उहाँले आफैलाई बलिदानको रूपमा परमेश्वरमा अर्पण गर्नुभयो ।

७. सातौँ— पुनर्मिलनको वाणी (लूका २३:४६)  

यो क्रूसमा येशूले भन्नुभएको आखिरी वाणी हो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु” (लूका २३:४६) । पुनर्मिलनको वाणीको रूपमा परिचित येशूको यो भनाइ स्वर्गीय पितासित एक हुने घोषणा हो ।[i]

 

सन्दर्भ स्रोत:

[i] https://en.wikipedia.org/wiki/Sayings_of_Jesus_on_the_cross Accessed on 9 April 2020

Facebook Comments

Powered by Youth Circle