४ वर्षकी बालिकाद्वारा डाक्टरहरूका लागि उत्साहपूर्ण प्रार्थना

फिलिपिन्स दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक हो । प्रशान्त महासागरको पश्चिममा पर्ने यो मुलुक झन्डै ७,६४१ ओटा टापु मिलेर बनेको छ । ३ लाख वर्ग किलोमिटरमा फैलिएको यस मुलुकमा ख्रिस्टाब्द २०१५ को जनगणनाअनुसार १० करोड जनसङ्ख्या बसोबास गर्छन् ।[i] यहाँ कम्तीमा ९२% मानिस ख्रीष्टियान छन् ।[ii]

दुनियाँलाई प्रभावित तुल्याएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट फिलिपिन्स पनि अछुतो छैन । यो लेख तयार पार्दासम्म यहाँ ३,८७० जना मानिस सङ्क्रमित भइसकेका छन्; १८२ जनाको देहान्त भएको छ भने ९६ जनाले स्वास्थ्यलाभ पाएका छन् ।[iii]

यही मुलुकमा हिसी परेकी चार वर्षीया बालिकाले खास गरी डाक्टरहरूका निम्ति उत्साहपूर्ण प्रार्थना चढाएकी छन् ।

बालिकाको नाउँ हो, ओलिभिया रेयर्स । एन्डी म्यानजानो उनकी आमा हुन् जो परिचित रेडियो कार्यक्रम प्रस्तोता हुन् । फेसबुकमा उनका २२ लाख फ्यान छन् । उनी सङ्क्षिप्त भिडियोहरू पोस्ट गर्नमा पनि कहलिएकी स्त्री हुन् । उनी खास गरी आफ्नो जीवनसाथै आफ्ना सन्तानहरूका भिडियोहरू पोस्ट गर्छिन् । गत २ अप्रिलमा उनले फेसबुकमा आफ्नी छोरीको भिडियो पोस्ट गरिन् ।[iv]

कोरोना महाव्याधिको विरुद्धमा सङ्घर्ष गरिरहेका डाक्टरहरूका निम्ति सङ्क्षिप्त सन्देश दिन अनुरोध गरिँदा ४ वर्षकी ओलिभियाले प्रार्थना गरेकी हुन् ।

ओलिभियाले यसो भन्दै प्रार्थना सुरु गरिन्, “हे येशू, हामी सबै बिरामीका लागि प्रार्थना गर्दछौँ । तपाईं यहाँ हाम्रा लागि हुनुहुन्छ ।” उनले जारी राखिन्, “बिरामीहरूको मदत गर्ने सहयोगीहरूका साथमा हुनुहोस् ।”

हृदयदेखि प्रार्थना गर्ने क्रममा ओलिभियाले शब्दको खोजी गर्ने कोसिस गर्दै थिइन्, “हे येशू, हामी प्रार्थना गर्दछौँ कि हाम्रा वरिपरि भएका सबैलाई भाइरसको सङ्क्रमण नहोस् । भोली हामीले मनोरम दिन पाउन सकौँ भनी म प्रार्थना चढाउँछु । येशूको नाउँमा, आमेन ।”

अग्रपङ्क्तिमा बसेर यस महामारीको विरुद्धमा लडिरहेका सबैका लागि उनको प्रार्थना थियो भनी आमा एन्डीले प्रस्ट पारेकी छन्, “डाक्टरहरूका लागि मात्र नभएर नर्स, अस्पतालका कर्मचारी, ग्रोसरीका कामदारसाथै कर्मचारी, फोहोर उठाउने, चालक, बिक्रेता, सुरक्षाकर्मीसाथै स्वयम्‌सेवक … अनि घरमा बस्नुभएका तपाईंहरू” का लागि पनि यो प्रार्थना हो ।[v]

प्रतिक्रियाबाट प्रस्ट छ कि यो १ मिनेट २० सेकेन्डको सङ्क्षिप्त भिडियोले धेरैको हृदय छोएको छ । हामी बालबालिकाबाट पनि धेरै कुरा सिक्न सक्छौँ, खास गरी प्रार्थनाको विषयमा । कतिपय अवस्थामा तिनीहरू हाम्रा लागि उदाहरण हुन् ।

“छोरा-छोरीहरू उहाँका इनाम हुन्‌” (भजनसंग्रह १२७:३) ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Philippines Accessed on 8 April 2020

[ii] https://en.wikipedia.org/wiki/Religion_in_the_Philippines Accessed on 8 April 2020

[iii] https://www.worldometers.info/coronavirus/country/philippines/ Accessed on 8 April 2020

[iv] https://www.facebook.com/watch/?v=530442304333256 Accessed on 8 April 2020

[v] Ibid. Accessed on 8 April 2020

Facebook Comments

Powered by Youth Circle