६ वर्षे बालकद्वारा कोरोनामाथि जित, आमाले भनिन्, “परमेश्वरलाई धन्यवाद”

टेनेस्सी अमेरिकाको दक्षिण-पूर्वमा अवस्थित राज्यको नाउँ हो । ख्रिस्टाब्द २०१९ को अनुमानअनुसार यहाँ ६८ लाख जनसङ्ख्या बसोबास गर्छन् ।[i] भूगोलको हिसाबले छत्तिसौँ ठुलो यस राज्यमा ८१% ख्रीष्टियान छन् ।[ii]

कोरोना सङ्क्रमितहरूको हिसाबले टेनेस्सी अठारौँ स्थानमा रहेको छ । हालसम्म यहाँ ३,८०२ जना सङ्क्रमित भएका छन् भने ६५ जनाको निधन भइसकेको छ ।[iii]

तर फक्स न्युजअनुसार यही राज्यमा एक जना ६ वर्षका बालकले कोरोना भाइरस (कोभिड-१९) माथि विजय प्राप्त गरेका छन् ।[iv]

बालकको नाउँ हो, जोसेफ बोस्टेन । तिनलाई पहिले नै सिस्टेक फाइब्रोसिस नामक रोग लागेको थियो । यो श्वासप्रश्वास प्रणालीमा असर पुर्‍याउने एक वंशाणुगत रोग हो । आफ्नो विद्यमान रोगसित सङ्घर्ष गरिरहँदा तिनमा खोकी र ज्वरो देखा परे । १९ मार्चमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि तिनलाई अस्पताल भर्ना गरियो ।

सब्रिना बोस्टेन बालककी आमा हुन् । फेसबुक प्रोफाइलअनुसार सब्रिना र उनका पति तिमोथीका पाँच सन्तान छन् । आमाले फेसबुकबाट नै आफ्नो छोरो कोरोना भाइरसबाट सङ्क्रमण भएको जानकारी गराएकी थिइन् । १९ मार्चमा आमाले लेखेकी थिइन्, “जोसेफलाई कोभिड-१९ को पोजेटिभ देखिएको छ ।” उक्त पोस्टमा उनले प्रार्थनाको लागि पनि अनुरोध गरिन्, “प्रार्थना गरिदिनुहोला ।”[v]

पछिल्ला दुई हप्तासम्म आमाले छोरो जोसेफको अवस्थाबारे फेसबुकबाट लगातार जानकारी गराइरहिन् । २८ मार्चमा आइपुग्दा ज्वरो हटेर गएको थियो । “हरेक दिन श्रेष्ठतर दिन हो,” आइतबार उनले लेखिन्, “जोसेफलाई मस्त निद्रा लागेको थियो र तिनी ज्वरोबाट मुक्त भएका छन् । परमेश्वरलाई धन्यवाद होस् ।”[vi]

झन्डै दुई हप्ताको अस्पताल बसाइपछि जोसेफले कोरोनामाथि जित हासिल गरे । १ अप्रिलमा आमाले आफ्नो फेसबुकमा भिडियो राखिन् । भाइरल बनेको यस भिडियोको सुरुमा जोसेफले भनेका छन्, “सबै कार्ड, प्रार्थना र उपहारको लागि तपाईंहरू सबैलाई धन्यवाद छ । म सिस्टेक फाइब्रोसिसको योद्धा हुँ, तापनि मैले कोभिड-१९ लाई पराजित गरेको छु ।”[vii]

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Tennessee Accessed on 7 April 2020

[ii] https://en.wikipedia.org/wiki/Tennessee#Religion Accessed on 7 April 2020

[iii] https://www.worldometers.info/coronavirus/country/us/ Accessed on 7 April 2020

[iv] https://www.foxnews.com/us/tennessee-6-year-old-with-cystic-fibrosis-beats-coronavirus-thank-you-god-mom-says?fbclid=IwAR31gerEgCSZ2DCBefgrRKQ-2okofZQP4H28wtjr35sFioQ8EJLcAWVLTIQ Accessed on 7 April 2020

[v] https://www.facebook.com/sabrina.bostain/posts/859781597802415 Accessed on 7 April 2020

[vi] https://www.foxnews.com/us/tennessee-6-year-old-with-cystic-fibrosis-beats-coronavirus-thank-you-god-mom-says?fbclid=IwAR31gerEgCSZ2DCBefgrRKQ-2okofZQP4H28wtjr35sFioQ8EJLcAWVLTIQ Accessed on 7 April 2020

[vii] https://www.facebook.com/sabrina.bostain/videos/869188433528398/?__tn__=%2CdC-R-R&eid=ARD5u_0xsRNZNhLu7M7DHdwAA09bxHtI7OlgKJQadscljYF9kIpSRdU6ohl35bA5l3webKaCVS0bugAF&hc_ref=ARS29UUP6PAA3H85SOWusQAohl9iUCaHc3JK-lA99rRi_T9MDe05Ea_KTVlvzHpZSho&fref=nf Accessed on 7 April 2020

Facebook Comments

Powered by Youth Circle