“यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु” (२ इतिहास ७:१४) ।
पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या २,१५,३४४ पुगेको छ । ८,८७८ जना निको भएका छन् भने १,११२ को मृत्यु भएको छ ।[i] यस्तो प्रतिकुल परिस्थितिमा परमेश्वरलाई प्रार्थना चढाउने मानिसहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि आएको छ भनी अध्ययनले देखाएको छ । धर्म मान्नेहरू मात्र नभई नम्मान्नेहरू पनि उहाँकहाँ फर्केका छन् ।
प्यु रिसर्च सेन्टरद्वारा गरिएको हालैको सर्वेक्षणले प्रकट गरेको छ कि कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण धेरैभन्दा धेरै अमेरिकीहरूले आफ्नो दैनिक धार्मिक आदत बद्लेका छन् र तिनीहरू प्रार्थनाको शक्तिमा भर पर्न थालेका छन् ।[ii]
कोरोना भाइरसको अन्त्य होस् भनी आधाभन्दा बेसी अमेरिकी प्रौढहरूले प्रार्थना चढाएका छन् । विरलै प्रार्थना गर्नेहरू र धर्म नमान्नेहरूले पनि प्रार्थना गर्न थालेका देखिएको छ । सर्वेक्षणले देखाएको छ कि ५५% अमेरिकीहरूले यो महामारी रोकियोस् भनी परमेश्वरलाई बिन्ती चढाउँदै छन् ।
थप रिसर्चले प्रकट गरेको छ कि प्रार्थना गर्नेहरूको सङ्ख्या अमेरिकामा मात्र नभई अन्य देशहरूमा पनि बढेको छ ।[iii] गत महिना प्रार्थनामा रुचि लिनेहरूको सङ्ख्या विश्वव्यापी रूपमै आकासिएको थियो । कोपेनहेगन विश्वविद्यालयका अनुसन्धानकर्ता जिनेट सिन्डिङ्ग बेन्टजेनका अनुसार कोरोना महामारी विश्वव्यापी भएपछि गत मार्चमा गुगलमा प्रार्थनाबारे खोज्नेहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि आएको थियो ।
फिलोस प्रोजेक्टका प्रमुख रोबर्ट निकोल्सनद्वारा वाल स्ट्रिट जर्नलमा प्रकाशित हालैको टिप्पणीमा व्यक्त गरिएको छ कि कोरोना कहरबाट नयाँ महान् जागृति आउने सम्भावना छ ।[iv]
विश्वव्यापी सङ्कटमय परिस्थित आउँदा मानिसहरू परमेश्वरमा भर पर्थे भन्ने साक्षी इतिहासमा प्रस्ट छ । उदाहरणको लागि, दोस्रो विश्वयुद्ध (ख्रिस्टाब्द १९३९-१९४५) ले निम्त्याएको भयावह परिस्थितिमाथि विजय हासिल गर्न मानिसहरू परमेश्वरपट्टि फर्केका थिए । युद्धको नतिजास्वरूप अनुमानित ८ करोड मानिसले ज्यान गुमाएपछि युद्धको त्रासलाई ताडनाको रूपमा लिई मानिसहरूले सत्यता र अर्थको खोजीमा विश्वासपट्टि आँखा लगाएका थिए ।[v]
कोरोनाको फैलावटको त्रासको कारण भौतिक रूपमा एकै ठाउँमा भेला भई गरिने सेवाहरूमा अस्थायी रूपमा पूर्ण विराम लागे तापनि प्यु रिसर्चले देखाएको छ कि ५७% मानिस अनलाइन धार्मिक सभाहरूमा लागेका छन् ।[vi]
के कोरोना भाइरसको महामारीलाई अनुमति दिई परमेश्वरले संसारमा अर्को महान् जागृति ल्याउन खोज्नुभएको हो ?
सन्दर्भ स्रोतहरू:
[i] https://www.worldometers.info/coronavirus/country/us/ Accessed on 2 April 2020
[ii] https://www.pewsocialtrends.org/2020/03/30/most-americans-say-coronavirus-outbreak-has-impacted-their-lives/?utm_source=AdaptiveMailer&utm_medium=email&utm_campaign=20-3-30%20Personal%20Impact%20of%20Covid19%20General%20Release&org=982&lvl=100&ite=5816&lea=1298222&ctr=0&par=1&trk=#fn-28159-5 Accessed on 2 April 2020
[iii] https://www.dropbox.com/s/jc8vcx8qqdb84gn/Bentzen_religiosity_covid.pdf?dl=0 Accessed on 2 April 2020
[iv] https://www.wsj.com/articles/a-coronavirus-great-awakening-11585262324 Accessed on 2 April 2020
[v] https://en.wikipedia.org/wiki/World_War_II_casualties Accessed on 2 April 2020
[vi] https://www1.cbn.com/cbnnews/us/2020/april/study-shows-even-non-religious-americans-are-turning-to-prayer-as-a-result-of-covid-19 Accessed on 2 April 2020