ख्रीष्टियान संस्था एसपीद्वारा कोरोना सङ्क्रमितहरूका लागि न्युयोर्कमा अस्पताल खडा

न्युयोर्क अमेरिकाको उत्तर-पूर्वमा अवस्थित राज्यको नाउँ हो । अमेरिकाका ५० ओटा राज्यमध्ये भूगोलको हिसाबले यो २७ औँ ठुलो राज्य हो । ख्रिस्टाब्द २०१९ को तथ्याङ्कअनुसार यहाँ अनुमानित १ करोड ९५ लाख जनसङ्ख्या बसोबास गर्छन् ।[i] हाल कोरोना भाइरस (कोभिड-१९) बाट सबैभन्दा प्रभावित मुलुक अमेरिका हो र यसका ५० ओटा राज्यमध्ये न्युयोर्क अग्रस्थानमा छ । यस राज्यमा हालसम्म ५९,६४८ जना सङ्क्रमित भएका भन् भने ९६५ जना मरिसकेका छन् ।[ii]

यही राज्यमा अवस्थित एउटा सहरको नाउँ हो, न्युयोर्क सहर । यो अमेरिकामै सबैभन्दा बाक्लो आबादी भएको सहर हो । २०१८ को तथ्याङ्कअनुसार यस सहरमा ८३ लाख जनसङ्ख्या बसोबास गर्छन् भनी अनुमान गरिएको छ ।[iii] विश्वव्यापी सहरको रूपमा चिनिएको यही सहरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय खडा छ । यसलाई संसारकै सांस्कृतिक, आर्थिक र मिडिया राजधानी भनेर मात्र चिनिदैन, आर्थिक दृष्टिकोणबाट संसारकै सबैभन्दा शक्तिशाली सहर भनेर पनि चिनिन्छ ।[iv]

न्युयोर्क सहरमा सेन्ट्रल पार्कको नाउँले चिनिने एउटा पार्क छ जुन क्षेत्रफलको हिसाबले सहरकै पाँचौँ ठुलो पार्क हो ।[v] यही पार्कमा अस्थायी अस्पताल निर्माण गरी सामरिटन्स पर्सले कोरोना सङ्क्रमितहरूको उपचार गर्ने भएको छ । स्मरण रहोस्, सामरिटन्स पर्स मानव सेवामा समर्पित ख्रीष्टियान संस्था हो । मानिसहरूको भौतिक आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले ख्रिस्टाब्द १९७० मा स्थापित यस संस्थाका वर्तमान संस्था प्रमुख हुन्, फ्र्याङ्कलिन ग्राहम । तिनी सुसमाचार प्रचारका महानायक बिल्ली ग्राहमका छोरा हुन् ।[vi] यसअगि इटालीमा पनि यस संस्थाले कोरोना सङ्क्रमितहरूको उपचारको लागि आफ्नो पाल तन्काइसकेको छ ।

फक्स न्युजका अनुसार मंगलबारभित्रमा अन्तरसाम्प्रादायिक इभान्जलिकल ख्रीष्टियान संस्था सामरिटन्स पर्सले उपचारको थालनी गर्ने अपेक्षा गरिएको छ ।[vii] यस अस्थायी अस्पतालमा ६८ ओटा शैय्या हुने छन् । माउन्ट सिनै हस्पिटलसित मिलेर उसले यो काम गर्ने भएको छ । ७० जना डाक्टरको टोलीलाई डाक्टर एलिओट टेनपेनीले अगुवाइ गर्ने छन् जसले इबोला फैलावटको बेलामा सिरिया र पश्चिम अफ्रिकाजस्ता क्षेत्रहरूमा काम गरिसकेका छन् ।

संस्था प्रमुख फ्र्याङ्कलिन ग्राहमले कोभिड-१९ को विरुद्धमा लडिरहेकाहरूको पक्षमा प्रार्थना गर्न अनुरोधसमेत गरेका छन् । भिडियो हेर्नका लागि यस लिङ्कमा जानुहोस् ।[viii]

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/New_York_(state) Accessed on 30 March 2020

[ii] https://www.worldometers.info/coronavirus/country/us/ Accessed on 30 March 2020

[iii] https://en.wikipedia.org/wiki/New_York_City Accessed on 30 March 2020

[iv] Ibid.

[v] https://en.wikipedia.org/wiki/Central_Park Accessed on 30 March 2020

[vi] https://kamaladhikari.com.np/927/ Accessed on 30 March 2020

[vii] https://www.foxnews.com/health/coronavirus-new-yorks-central-park-to-house-makeshift-field-hospital?fbclid=IwAR2OglLq921AL9CH7_xMZkLKoXBi5iOAuX3u5BNqsovggxyZ3wO30JXj6yQ Accessed on 30 March 2020

[viii] https://twitter.com/Franklin_Graham/status/1244409834121936901?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed&ref_url=https%3A%2F%2Fwww.foxnews.com%2Fhealth%2Fcoronavirus-new-yorks-central-park-to-house-makeshift-field-hospital Accessed on 30 March 2020

Facebook Comments

Powered by Youth Circle