कोरोना प्रभाव: अस्पतालको सुरुआत र यसको महत्त्व

“अनि येशू … मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो” (मत्ती ४:२३) । येशूले मानव–जातिको आत्मिक अवस्थासित मात्र सरोकार राख्नुभएन, तर उसको शारीरिक अवस्थासित पनि । येशू सर्वाङ्गीण चङ्गाइकर्ता हुनुहुन्थ्यो । उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “[म] बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ” (मत्ती २५:३६) । येशूका यी वचनहरू प्रभावशाली ठहरिए । येशूले सिकाउनुका अतिरिक्त बिरामीहरूलाई दया पनि देखाउनुहुन्थ्यो र कैयौँलाई निको पनि पार्नुभयो । शारीरिक चङ्गाइ उहाँको सेवाकार्यको एउटा महत्त्वपूर्ण पक्ष थियो ।

आज दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको छ । एसियाली मुलुक चीनबाट सुरु भएको यस भाइरसले अहिले मूलत: अमेरिका र युरोपमा द्रुतगतिमा प्रभाव पारिरहेको छ । हालसम्म संसारभरि ६,७७,९३८ जना सङ्क्रमित भएका छन्; ३१,७४६ जनाको मृत्यु भइसकेको छ; १,४६,३१९ जना निको भएका छन् भने २५,३७७ जनाको अवस्था गम्भीर छ ।[i]

इतिहासलाई केलाउँदा हामी देख्छौँ कि येशूको शिक्षाको प्रभावमा नै अस्पतालहरू निर्माण गरिए । आदि ख्रीष्टियानहरूले गर्भपतन, शिशुहत्याजस्ता अमानवीय अभ्यासको विरोध मात्र गरेनन् तर जुनसुकै जाति, धर्म वा वर्गका मानिसहरूलाई हेरचाह पनि गर्थे ।

ख्रीष्टभन्दा अगिको संसार अस्पतालविनाको संसार थियो जहाँ परोपकारको मूल्य थिएन, न त मानवीय जीवनलाई नै आदर गरिन्थ्यो । रोमीहरूको दृष्टिकोणमा बिरामीलाई मदत गर्नु मानवीय कमजोरी थियो, जब कि येशूको शिक्षाको प्रकाशमा ख्रीष्टियानहरूले बिरामीको मदत गर्दा तिनीहरूले बिरामीको मात्र सेवा गरेका हुँदैनथ्ये, तर परमेश्वरको पनि । यसरी बिरामी र खाँचोमा परेकाहरूको आवश्यकता परिपूर्ति गर्नु कमजोरी नभएर ताकत थियो भनी ख्रीष्टियानहरूले स्थापित गरे ।

अस्पताल ख्रिस्टियमतको आविष्कार थियो । त्यसैले क्रुसको चङ्गाइको प्रतीकले अस्पतालको प्रतिनिधित्व गर्छ । हाउ क्रिस्चियानिटी चेन्ज्ड द वर्ल्ड नामक पुस्तकअनुसार कैसरियाका बिशप बासिल महान्‌द्वारा ख्रिस्टाब्द करिब ३६९ मा कापाडोकियामा निर्मित अस्पताल नै पहिलो अस्पताल हो ।[ii] विकिपिडियाअनुसार आज संसारभरि १,६४,५०० ओटाभन्दा बेसी अस्पताल अस्तित्वमा छन् ।[iii] नेपालमा भने ख्रिस्टाब्द १८८९ मा बीर शमशेर राणाले बीर अस्पताल स्थापना गरेका थिए जुन नेपालको सबैभन्दा पुरानो अस्पताल हो ।[iv] इतिहास र वर्तमान समयमा ख्रीष्टियानहरूप्रति नेपाल सरकारको जस्तोसुकै दृष्टिकोण रहे तापनि विभिन्न सङ्घ-संस्थामार्फत ख्रीष्टियानहरूले अस्पतालको निर्माण गरी नेपालीहरूको स्वास्थलाभको निम्ति उल्लेखनीय योगदान पुर्‍याउएका तथ्य घामझैँ छर्लङ्ग छ ।

ख्रीष्टकी भक्त स्त्री फ्लोरेन्स नाइटिङ्गेलजस्ता नारीहरूले नर्सिङ पेसाको स्थापना गरेका थिए । इतिहासको एउटा महान्‌तम मानवतावादी अभियानको रूपमा चिनिएको अन्तर्राष्ट्रिय रेड क्रस ख्रीष्टियानहरूद्वारा नै स्थापना गरिएका थिए । औषधीको क्षेत्रमा डा. लुई पास्चरजस्ता ख्रीष्टियानहरूले इन्धन भर्ने काम गरेका छन् जसका अवधारणाहरूले चिकित्सा क्षेत्रमा क्रान्ति नै ल्याइदिए । सम्भवत: पास्चरले आफ्ना आविष्कारहरूद्वारा अन्य कुनै एकल व्यक्तिले भन्दा बेसी मानिसहरूको ज्यान जोगाए ।

इतिहासकारसाथै उपन्यासकार पावल माइरले हाउ क्रिस्चियानिटी चेन्ज्ड द वर्ल्ड नामक पुस्तकको प्रस्तावनामा येशूका शिक्षाले सामाजिक रूपान्तरणमा खेलेको भूमिकालाई प्रस्ट पारेका छन्, “प्राचीन संसारमा उहाँका शिक्षाहरूले नैतिकताको पाशविक स्तरलाई माथि ऊठाए; शिशु हत्यालाई रोके; मानवीय जीवनको मूल्यलाई वृद्धि गरे; स्त्रीहरूलाई मुक्त गरे; दासप्रथालाई निर्मूलन गरे; परोपकार र राहतसम्बन्धी संस्थाहरू जन्माए; अस्पतालहरूको सृजना गरे; अनाथालयहरूको स्थापना गरे र स्कुलहरू खोले ।”[v]

स्वास्थ्यको क्षेत्रमा ख्रिस्टियमतले उल्लेखनीय योगदान पुर्‍याएको छ । ख्रीष्टियान शिक्षालाई जीवनमा उतारिएको खण्डमा मानिस स्वस्थ मात्र हुँदैन, तर ख्रिस्टियमतले नै अस्पतालको उत्पत्ति र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । प्रभु येशूको उदाहरण र शिक्षाले पास्टर, पुजारी, सन्त, नर्स, मिसनरीहरूसाथै मनग्गे सर्वसाधारणलाई संसारको हरेक देशमा स्वास्थलाभको माध्यम बन्न प्रेरित गरेको छ ।[vi]

कोरोना भाइरसको विरुद्धमा लडिरहेको दुनियाँको लागि ठिक अहिले अस्पताल सबैभन्दा महत्त्वपूर्ण संस्था हो भन्दा फरक नपर्ला । आफ्नो जीवनसमेत जोखिममा हालेर कोरोना सङ्क्रमितहरूको वरिपरि बसी उपचार गर्ने स्वास्थ्यकर्मीहरू महानायकहरू हुन् जसप्रति हामी सधैँ कृतज्ञ छौँ र हुनुपर्छ । स्वास्थ्य क्षेत्रमा देखा परेको अद्भुत प्रगतिको कारण आज कैयौँले पुनर्जीवन पाएका छन् र कोरोना भाइरसको कारण लाखौँभन्दा बेसी बिरामी बनेकाहरू पनि निको भएका छन् र यो क्रम जारी रहने छ ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://www.worldometers.info/coronavirus/ Accessed on 29 March 2020

[ii] Alvin J. Schmidt, How Christianity Changed the World [Kindle Version] (Grand Rapids, MI: Zondervan, 2004), Location 3312.

[iii] https://en.wikipedia.org/wiki/Lists_of_hospitals Accessed on 29 March 2020

[iv] https://en.wikipedia.org/wiki/Bir_Hospital Accessed on 29 March 2020

[v] Alvin J. Schmidt, How Christianity Changed the World [Kindle Version] location 159-167.

[vi] D. James Kennedy and Jerry Newcombe, What If Jesus Had Never Been Born? [Kindle Version] ((Nashville: Thomas Nelson Inc., 2001), location, 562.

Facebook Comments

Powered by Youth Circle