कोरोना भाइरसको फैलावटको कारण अनलाइन सङ्गतिमा उल्लेखनीय वृद्धि

कोरोना भाइरस प्रभावित देशहरूको सूचीमा अमेरिका पहिलो स्थानमा पुगेको छ । यो लेख तयार पार्दासम्म अमेरिकामा ८५,७५५ जना सङ्क्रमित भएका छन् भने १,३०४ जनाको ज्यान गइसकेको छ । १,८६८ निको भएका छन् भने २,१२२ जना गम्भीर अवस्थामा छन् ।[i]

कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण मनग्गे मण्डली भवनहरू बन्द भए तापनि अनलाइन सङ्गतिहरू भने उल्लेखनीय मात्रामा फस्टाइरहेका छन् । त्रास र अज्ञात भविष्यको बिचमा पनि मानिसहरू विश्वासका लागि भोका छन् भनी यी अनलाइन सेवाकार्यहरूमा देखा परेका मानिसहरूको भिडले पुष्टि गर्छन् ।

अमेरिकाको लस एन्जलसस्थित चर्चहोमका पास्टर जुडा स्मिथले भने, “मेरो विचारमा वास्तवमा हामीलाई अझै गहनतर तहमा संलग्न हुने मौका मिलेको छ ।” तिनको मण्डलीको एप ११०% ले वृद्धि भएको छ भने सहभागिता १३९% ले बढेको छ ।

पास्टर स्मिथका अनुसार येशूको पाइला पछ्याई यो आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्ने अवसर हो ।

ग्लोबल मिडिया आउटरिच एउटा डिजिटल सेवाकार्य हो जुन अनलाइन सुसमाचार प्रचारमा केन्द्रित छ । ख्रिस्टाब्द २००४ मा यसको स्थापना भएदेखि यो संसारभरिका झन्डै २ अरब मानिसकहाँ पुग्न सफल भइसकेको छ । यस आउटरिचका प्रमुख जोन थम्पसनले भने, “हामी बाहिर गएर ‘के तपाईं येशूको बारेमा जान्न चाहनुहुन्छ ?’ भनी मानिसहरूलाई सोद्धैनौँ । मानिसहरू नै हामीकहाँ यसो भन्दै आउँछन्, ‘मलाई आशाको खाँचो छ । दु:ख, चिन्ता, कठिनाइसाथै अन्य कुनै पनि अवस्थामा हामीले कहाँ आशा पाउन सक्छौँ ?’ मानिसहरू दर्दमा हुँदा हामी तिनीहरूलाई उत्साह र आशा दिन्छौँ । जवाफको खोजी गर्दै तिनीहरू हामीकहाँ आउँछन् ।” यस अद्वितीय अनलाइन सेवाकार्यमा ३,५०० जना अनलाइन स्वयम्‌सेवक छन् जसले ५० ओटा पृथक् भाषामा जवाफहरू दिने गर्छन् । तिनीहरूले नयाँ विश्वासीहरूका लागि प्रार्थना गर्नुका अतिरिक्त तिनीहरूलाई आत्मिक यात्रामा हिँड्न मदत पुर्‍याउँछन् ।

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अनलाइन दर्शकहरूको सङ्ख्या उल्लेखनीय मात्रामा बढेका छन् भनी अमेरिकाका अन्य मण्डलीहरूले पनि बताइरहेका छन् । सङ्ख्या हजारौँबाट लाखौँ हुँदै दसौँ लाखसम्म पनि पुगेका छन् ।[ii]

 

सन्दर्भ स्रोतहरू:

[i] https://www.worldometers.info/coronavirus/#countries

[ii] https://www.foxnews.com/faith-values/coronavirus-online-ministry-jesus-questions-search?fbclid=IwAR0tKFdOYuWaNsW5qirTzyC4UOgMoUoela5iYFpL8eev5OS0KejERHoK3qs

Facebook Comments

Powered by Youth Circle