कोरोना भाइरसको महामारीको कारण वर्ल्ड इभान्जलिकल अलायन्स (डब्लुईए) ले आगामी २९ मार्च (चैत्र १६) आइतबारका दिन संसारभरिका ख्रीष्टियानहरूलाई प्रार्थना र उपवासमा समय बिताउन अनुरोध गरेको छ । अलायन्सले यस दिनलाई “विश्वव्यापी प्रार्थना र उपवास दिवस” घोषणा गरेको छ । ख्रिस्टाब्द १८४६ मा स्थापित डब्लुईए ६० करोड इभान्जलिकलहरूको प्रोटेस्टेन्ट संस्था हो । १२९ ओटा इभान्जलिकल सङ्घ-संस्थाको आबद्धता रहेको यो संस्था इभान्जलिकल चर्चहरूको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय सङ्गठन हो ।
भजनसंग्रह १०७ मा आधारित रहेको दिवसको थिम रहेको छ, “हे प्रभु, मदत गर्नुहोस् ।” २९ मार्च प्रार्थना र उपवासको लक्षित दिन भए तापनि त्यही दिनमा मात्र प्रार्थना र उपवास सीमित गरिनुपर्छ भन्ने छैन । “तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो” (भजनसंग्रह १०७:१३) ।
“यो ज्यादै सानो भाइरसले … सारा दुनियाँलाई लघु विराममा ल्याउँदा … मान्छे कति कमजोर रहेछ भनी हामीलाई स्मरण दिलाइएको छ,” डब्लुईएका महासचिव बिशप एफ्राइम टेन्डेरोले भनेका छन्, “विनम्रता र प्रार्थनासहित यस संसारका सृष्टिकर्तासाथै पालनकर्ता हाम्रा स्वर्गीय पिताकहाँ आउनु अहिलेको आवश्वकता हो ।”
महासचिव एफ्राइमले जारी राखेका छन्, “प्रार्थना अझै पनि हामीले दिन सक्ने महान्तम सहायता हो । … खास गरी अग्रपङ्क्तिमा बसेर काम गर्ने सबै स्वास्थ्यकर्मीसाथै सरकारी कर्मचारीहरूका सुरक्षा, असल स्वास्थ्य र तिनीहरूले गर्ने सबै काममा बुद्धि मिलोस् भनेर प्रार्थना गरौँ । परमेश्वरको सहायतासँगै मिलेर काम गर्यौँ भने हामी कोभिड-१९ माथि विजय हासिल गर्ने छौँ ।”[i]
स्रोत:
[i] https://churchleaders.com/news/373187-save-the-date-global-day-of-prayer-and-fasting-march-29.html?fbclid=IwAR31urevA8p4wOMTMNArXEJTACfUONwP_Sy7O2lXcnth6mhyUNrOcLQRb_0