८ वर्षकी ख्रीष्टियान बच्चीको सन्देश— कोरोना भाइरसको समयमा प्रेम

कम्तीमा ९२% ख्रीष्टियान रहेको फिलिपिन्स दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक हो ।[i] यो लेख तयार पार्दासम्म त्यहाँ ७०७ जनालाई कोरोना सङ्क्रमित भइसकेको छ भने ४५ जना मरिसकेका छन् । निको हुनेहरूको सङ्ख्या २८ रहेको छ भने एक जनाको अवस्था गम्भीर छ ।[ii]

दुनियाँले कोरोना भाइरसको त्रासको सामना गरिरहँदा फिलिपिन्सकी ८ वर्षकी बच्चीले शक्तिशाली सन्देश दिएकी छन् । यस घडीमा उनी हजारौँलाई उत्साह दिन चाहन्छिन् ।

‘टिम क्रेमर’ भनेर चिनिने फिलिपिन्सको परिचित ख्रीष्टियान परिवारले उनको सन्देशलाई फेसबुकबाट सार्वजनिक गरेको थियो ।[iii] ती ८ वर्षकी बच्चीको नाउँ हो, स्कारलेट लाउभेल क्रेमर । कोरोना भाइरसबारे हातैले लेखेर उनले आफ्नो भावना व्यक्त गरेकी छन् । “कोरोना भाइरसको समयमा प्रेम” उनको सन्देशको शीर्षक रहेको छ । उनले यसरी लेखेकी छन्:

“सङ्कटमय घडीको अनुभूति गर्नेहरूले आफूलाई बलिया, विश्वासयोग्य र विनम्र मानिसहरूमा रूपान्तरण गर्छन् । कहिले कहीँ यी घटनाहरू छद्मभेषी रूपमा आशिष् बनेर आउँछन् किनकि सँगसँगै काम गर्न, मैत्रीपूर्ण वातावरणको सृजना गर्न र एक-अर्कामा विश्वास गर्न मानिसहरू बाध्य हुन्छन् ।

यस कोरोना भाइरसको महामारीले धेरैभन्दा धेरै परिवारलाई एकै ठाउँमा रहने र एक-अर्काको लागि समय बिताउने बन्दोवस्त मिलाइदिएको छ । कोरोना भाइरसको कारण हामी लकडाउनमा छौँ र यसले हामीलाई हामीले गर्न चाहेका काम गर्ने समय दिएको छ । म यसलाई सकारात्मक पक्षबाट हेर्छु, अर्को दृष्टिकोणबाट हेर्न सक्दिनँ ।

हामीले सरकारले दिएका नीति-निर्देशनहरूलाई पालन गर्नुपर्छ र सरकारले भनेको कुरा सुनी त्यसलाई कार्यान्वयन गर्न हामी जिम्मेवार हुनुपर्छ । हरेकले छिट्टै स्वास्थ्यलाभ पाओस् भन्नाका लागि यो हाम्रो भूमिका हो ।

परमेश्वर नियन्त्रक हुनुहुन्छ भन्ने जानेर निर्भीक होऔँ । कहिले कहीँ म पनि भयभीत हुन्छु, तर म त्यसलाई मिल्काइदिन्छु । मेरो सुरक्षा गर्दै येशू र मेरा स्वर्गदूतहरू मेरो छेउमा नै हुनुहुन्छ भनी मलाई थाहा छ । मेरो भरोसा मेरा महान् र भययोग्य परमेश्वरमा छ! राम्ररी नियमहरू पालन गर्ने एक नागरिकको हैसियतले मैले के गर्नुपर्छ भनी मलाई थाहा छ र त्यसको पालन गर्नु मेरो जिम्मेवारी हो । संसारले सामना गरिरहेको कुनै पनि डरभन्दा मेरा परमेश्वर महान् हुनुहुन्छ भनी मलाई थाहा छ । यही कारणले गर्दा मेरा प्रार्थनाहरूको पहिले नै सुनुवाइ भइसकेको छ भन्ने कुरामा म निर्धक्क छु ।”[iv]

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Religion_in_the_Philippines Accessed on 27 March 2020

[ii] https://www.worldometers.info/coronavirus/country/philippines/ Accessed on 27 March 2020

[iii]https://www.facebook.com/TeamKramerFive/photos/pcb.3307578049276488/3307577942609832/?type=3&theater Accessed on 27 March 2020

[iv] https://godtv.com/8-year-old-piece-viral-love-in-the-time-of-coronavirus/ Accessed on 27 March 2020

Facebook Comments

Powered by Youth Circle