शास्त्रीहरूमध्ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने । येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्यचाहिँ कुन हो ?” येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ । तैंले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर् ।’ दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर् ।’ योभन्दा ठूलो आज्ञा अर्को छैन” (मर्कूस १२:२८-३१) । प्रभु येशूको भनाइअनुसार सबैभन्दा ठुलो आज्ञा परमेश्वरलाई प्रेम गर्नु हो भने दोस्रो ठुलो आज्ञा छिमेकीलाई प्रेम गर्नु हो ।
रोगबाट सङ्क्रमित भएकाहरूलाई क्वारेन्टाइनमा राखिनुपर्छ भन्ने अवधारणा बाइबलमा हजारौँ वर्ष पहिले नै उल्लिखित थियो, “सरुवा रोग भएको मानिसले च्यातिएका लुगा लगाउनुपर्छ, र त्यसको शिरको केश अस्तव्यस्त रहनुपर्छ । त्यसले आफ्नो मुखको पल्लो भाग ढाकेर ‘अशुद्ध, अशुद्ध’ भनेर कराओस् । जहिलेसम्म त्यो रोगग्रस्त रहन्छ, त्यो अशुद्धै रहनेछ । त्यो एकलै रहनुपर्छ । छाउनीबाहिर त्यसको डेरा होस्” (लेवी १३:४५-४६) । यस विषयमा हामीले सरकार वा चिकित्सकहरूको सल्लाह मान्नु अविश्वासको अभिव्यक्ति नभएर छिमेकीप्रतिको प्रेम हो । इतिहासलाई केलाएर हेर्दा हामी देख्छौँ कि यस्तो विपत्तिको घडीमा ख्रीष्टियानहरूले उल्लेखनीय प्रेम देखाएका उदाहरणहरू मनग्गे छन् ।
ख्रिस्टाब्द १६५ मा आएको विपत्तिले शक्तिशाली रोमी साम्राज्यलाई यसरी हल्लायो कि झन्डै एक-तिहाइ जनसङ्ख्या स्वाहा पारिदिएको थियो । २५१ मा अर्को विपत्ति आउँदा रोम सहरमा मात्र हरेक दिन ५,००० मानिसको मृत्यु भएको थियो । सङ्क्रमितहरू सडकमा मरुन् भनेर परिवारका सदस्यहरूद्वारा त्यागिन्थे । सरकार आफै सहाराविहीन थियो; सम्राट् आफै यसको सिकार बनेको थियो र मन्दिरका पुजारीहरूको भागाभाग थियो । मानिसहरू आफ्नै मदत गर्ने अवस्थामा थिएनन् । विफरले मानिसलाई मार्दैनथ्यो भने भने पनि भोक, तिर्खा र एकलोपनले मान्छेको ज्यान लिन्थ्यो । महामारीले विकराल रूप लिएको थियो ।
तर विपत्तिपश्चात् ख्रीष्टियानहरूको असल प्रसिद्धीको पुष्टि हुनुका अतिरिक्त यो ख्याति ह्वात्तै बढेको थियो । किन ? किनकि खराबीको समस्याबारे ख्रीष्टियानहरू बौद्धिक र बाइबलीय जवाफ लिएर मात्र आएका थिएनन् । तिनीहरूले आफ्नो साथमा खाना र पानी जुटाएका थिए । मण्डलीले प्रेमिले वातावरणको सृजना गरेको थियो । गैरख्रिस्टियान रोमी साम्राज्यलाई ख्रीष्टियान रोमी साम्राज्यमा बद्लने कुरो चलाख जवाफ थिएन, न राजनीतिक संस्था थियो, न त सदादतको साक्षी । सामान्य स्त्री र पुरुषहरूले ख्रीष्टको खातिर छिमेकीहरूप्रति देखाएको प्रेम सर्वोत्तम औषधी साबित भएको थियो । प्रभावशाली रक्षाशास्त्री रबी जकरियाले सटिक ढङ्गमा भनेका छन्, “प्रेम महान्तम रक्षाशास्त्र हो । यो क्षतविक्षत संसारमा पूरै व्यक्तित्वकहाँ पुग्ने अपरिहार्य तत्त्व हो । खाँचो व्याप्त भए तापनि येशूको उदाहरणलाई पछ्याई ती खाँचाको परिपूर्ति गर्न इच्छुक हुनु आज्ञार्थक छ ।”
चौथो शताब्दीमा जन्मेका प्रभावशाली दार्शनिकसाथै रक्षाशास्त्री अगस्टिनले प्रेमको बारेमा भनेका छन्, “प्रेम कस्तो हुन्छ ? अरूलाई सहयोग गर्ने यसका हातहरू छन् । गरिब र खाँचोमा परेकाहरूका निम्ति हतार गर्ने यसका पाउ छन् । दुर्दशा र आवश्यकताहरूलाई देख्ने यसका आँखा छन् । मानिसहरूका सुस्केरा र शोकलाई सुन्ने यसका कानहरू छन् । प्रेम यस्तै हुन्छ ।” मछुवाबाट येशूका प्रेरित बनेका पत्रुसले पहिलो शताब्दीमा नै भनेका थिए, “सबैभन्दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस् । किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ” (१ पत्रुस ४:८) । अमेरिकाको छैटौँ ठुलो मण्डलीका पास्टरसाथै ३ करोड प्रति बिक्रि हुन सफल पुस्तक (उद्देश्य-प्रेरित जीवन) नामक पुस्तकका लेखक रिक वारेन भन्छन्, “जीवनको सर्वोत्तम प्रयोग प्रेम हो । प्रेमको सर्वोत्तम अभिव्यक्ति समय हो । प्रेम गर्ने सर्वोत्तम समय अहिले हो ।” प्रेम गर्ने समय कहिले हो ? अहिले हो ।
कोरोना भाइरसले विश्वलाई त्रसित पारिरहेको अवस्थामा यसको न्यूनिकरणको लागि विभिन्न देशहरूले विविध रणनीतिहरू सार्वजनिक गरिसकेका छन् । हाम्रो देश नेपालले पनि केही प्रशंसनीय कदमहरू चालिसककेको अवस्था छ जसलाई मण्डलीले हातमा हात मिलाउनुपर्छ र मिलाइरहेको छ । आवश्यक परे स्कुल तथा कलेजका भवनहरूसाथै होटलहरू क्वारेन्टाइनको लागि दिन सकिने खबरहरू बाहिर आइरहँदा ख्रीष्टियानहरूले “हाम्रा मण्डली भवनहरू पनि हामी क्वारेन्टाइनको लागि दिन तयार छौँ” भन्न सक्नु अहिलेको आवश्यकता मात्रै होइन तर छिमेकीप्रति ईश्वरीय प्रेम प्रदर्शन गर्ने सुअवसर पनि हो ।