पुरानो करारका एक परिचित पात्रको नाउँ हो, एलीशा । तिनी अगमवक्ता मात्र नभएर आश्चर्यकर्म गर्ने जन पनि थिए । आफ्ना गुरु एलियाको स्वार्गारोहणमा गुरुले भन्दा दुई गुणा आश्चर्यकर्म गर्ने शक्ति पाएका तिनको सेवाकार्य झन्डै ६० वर्षसम्म लम्बिएको थियो । एलीशाको कथा मूलत: २ राजा २-१४ अध्यायहरूमा पढ्न पाइन्छ । धेरै जना मानिसलाई निको पारेका अगमवक्ता एलीशा एउटा बिमारको कारणले मरेका थिए, “अब एलीशा एक विमारद्वारा पीडित थिए जुनबाट तिनी पछि मरे” (२ राजा १३:१४) ।
मण्डलीलाई सताउने शाऊलबाट प्रेरित पावल बनेका तिनलाई प्रेरितीय युगकै एक सर्वाधिक पात्रको रूपमा आदर गरिन्छ । एसिया माइनरसाथै युरोपका विविध भूभागहरूमा मनग्गे मण्डली स्थापना गरेका तिनी नयाँ करारका झन्डै आधाजसो पुस्तकका लेखका हुन् । “परमेश्वरले पावलको हातबाट असाधारण आश्चर्य कामहरू गर्नुभयो, यहाँसम्म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्थे, र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्टात्मा पनि निस्कन्थे” (प्रेरित १९:११-१२) । यहाँसम्म कि पावलको हातबाट मरेक युटिकस नाम गरेका युवक पनि बाँचेका थिए (प्रेरित २०:१०-१२) । तर जीवनको पछिल्लो घडीमा पावलले त्रोफिमसलाई बिरामी अवस्थामा नै मिलेटसमा छाड्नुपरेको थियो, “इरास्तस कोरिन्थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्थामा छोडें” (२ तिमोथी ४:२०) ।
कैयौँ बिरामी निको पारेका पावलको जीवनमा भएको काँढोको निम्ति तिनले प्रभुसित तीन पटक बिन्ती गरे तापनि उहाँले सुन्नुभएन, “तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढ़ो मेरो शरीरमा दिइयो । यो मबाट हटोस् भनेर मैले तीन पल्ट प्रभुसित बिन्ती गरे । तर मलाई उहाँले भन्नुभयो, ‘मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ ।’ यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु । यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म सन्तुष्ट रहन्छु । किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु” (२ कोरिन्थी १२:७-१०) ।
तिमोथीको पेटको बिमारीको कारण पावलले तिनलाई अलि-अलि दाखमद्य पिउन सल्लाह दिए, “अघिजस्तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर” (१ तिमोथी ५:२३) ।
नासरतमा प्रभु येशूले पनि कतिपय बिरामीहरूलाई निको पार्नुबाहेक अन्य आश्चर्यकर्महरू गर्न सक्नुभएन, “उहाँले त्यहाँ कुनै-कुनै रोगीहरूमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै शक्तिशाली काम गर्नु सक्नुभएन” (मर्कूस ६:५) ।
माथिका यी सबै बाइबलीय सन्दर्भलाई उल्लेख गर्नुको मुख्य आशय यही हो कि चङ्गाइ सधैँ परमेश्वरको इच्छा होइन । यो पनि उहाँको शक्ति कम भएको कारणले गर्दा होइन तर उहाँ हामीभन्दा असीमित मात्रामा बुद्धिमान् हुनुभएकोले उहाँले हामीले भन्दा फरक दृष्टिकोणबाट हेर्नुहुने भएकोले हो ।
रोगले धनी वा गरिब, सानो वा ठुलो, राम्रो वा नराम्रो, हिन्दु वा ख्रीष्टियान केही पनि भन्दैन । ख्रीष्टियानको शरीरचाहिँ कोरोना सङ्क्रमित नहुने वस्तुले बनेको हुँदैन । सबै मानिसको जस्तै हाम्रो पनि मासु र रगतले बनेको शरीर हो । सतर्कता तपाईंको जिम्मेवारी हो । भ्रममा परी धर्मान्ध नहोऔँ । आफू पनि स्वस्थ हुनुहोस् र अरूलाई पनि स्वस्थ हुन सिकाउनुहोस् । कोरोनाले ख्रीष्टियानलाई छुँदैन भन्ने भ्रममा आफू पनि नपरौँ र अरूलाई पनि नपारौँ ।